१८ माघ २०८२ आइतबार
image/svg+xml
खेल

मलेसियाको एफएमाथि कारबाही

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको मलेसिया फुटबल संघमाथि कारबाही गरेको छ।

मलेसियन एफएमाथि कारबाही भएसँगै एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सोही टोलीसँगको खेलका कारण नेपालले तीन अंक पाउने सम्भावना बढेको छ। फिफा अनुशासन समितिले फिफाको अनुशासन संहिता (एफडिसी) को धारा २२ को उल्लंघन गर्दै फर्जी कागज पेश गराएर अयोग्य खेलाडीलाई भियतनामविरुद्ध मैदानमा उतारेको भन्दै शनिबार मलेसिया फुटबल संघलाई कारबाही गरेको हो। समूह ‘एफ’ अन्तर्गत गत जुन १० मा मलेसियाले क्वालालम्पुरस्थित बुकित जलिल नेसनल रंगशालामा भएको दोस्रो खेलमा भियतनामविरुद्ध ४–० को जित निकालेको थियो।

उक्त खेलमा मलेसियाका जाओ भिटर ब्रान्डाओ फिगुएरेडो, रोड्रिगो हुलियन होलगाडो, लरेन्स कोर्विन ओङ र डियोन कुल्सले गोल गरेका थिए। फिफाले होलगाडो र फिगुएरेडोसहित सात खेलाडीलाई पनि कारबाही गरेको छ। उनीहरूमाथि १२ महिनासम्म फुटबलका गतिविधिबाट प्रतिबन्ध लागेको हो। साथै फिफाले दुई हजार स्विस फ्रान्क (तीन लाख ५४ हजार ५३७ नेपाली रुपैयाँ) जरीवाना तोकेको छ।

मलेसिया फुटबल संघमाथि ३५ हजार स्विस फ्रान्क (६ करोड २० लाख ४४ हजार १४८ नेपाली रुपैयाँ) जरीवाना लगाइएको छ। संघ र खेलाडीले १० दिनभित्र आफ्नो कारबाहीविरुद्ध अपील समीतिमा निवेदन दिन सक्नेछन्।

कारबाहीमा परेका एक जना खेलाडीले समूहको पहिलो खेलमा नेपालविरुद्ध पनि गोल समेत गरेका थिए। गत मार्चमा मलेसियाले नेपालमाथि २–० को जित निकालेको थियो। त्यसमा दोस्रो गोल गरेका लरेन्स कोर्विन ओङ अहिले कारबाहीमा परेका छन्। त्यसकारण नेपालले गुमाएको तीन अंक प्राप्त गर्ने सम्भावना बढेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) महसचिव किरण राईले फिफाको निर्णय कुरिरहेको बताउँछन्। ‘यसबारे एन्फा सचेत छ। तीन अंकको छिनोफानो फिफाले गर्ने हो। हामी निर्णय कुरेर बसिरहेका छौं,’ उनले भने।

नेपालले समूहको दोस्रो खेलमा लाओसविरुद्ध २–१ को हार बेहोरेको थियो। नेपाल अंकतालिकाको पुछारमा छ। नेपालले आगामी अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ।

समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्ने सेट–अप छ। हाल ३३ सदस्यीय नेपाली टोली सेप्टेम्बर २३ यता बन्द प्रशिक्षणमा छ।

प्रकाशित: १३ आश्विन २०८२ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App