विश्व फुटबलका सबैभन्दा ऐतिहासिक प्रतिद्वन्द्वी मानिने इङ्ल्यान्ड र अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा बुधबार राति एटलान्टा स्टेडियममा आमनेसामने हुँदै छन्।
यो खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउने मात्र होइन फुटबल इतिहासमा अर्को नयाँ अध्याय थप्ने अवसर पनि पाउनेछ। सन् १९८२ को फकल्यान्ड युद्धले दुई देशबिचको राजनीतिक सम्बन्धलाई लामो समयसम्म तनावपूर्ण बनाएको थियो। त्यसको प्रभाव फुटबल मैदानमा समेत देखिँदै आएको छ। इङ्ल्यान्ड र अर्जेन्टिनाबिचको प्रतिस्पर्धा खेलमा सीमित छैन। देशको राष्ट्रिय गौरव र इतिहाससँग जोडिएको भावनात्मक संघर्षका रूपमा पनि हेरिँदै आएको छ। यस प्रतिद्वन्द्विताको सबैभन्दा चर्चित अध्याय सन् १९८६ को मेक्सिको विश्वकप क्वार्टरफाइनल हो। एस्टेका रंगशालामा डिएगो म्याराडोनाले गरेको विवादास्पद ‘ह्यान्ड अफ गड’ गोल र त्यसको केही मिनेटपछि गरेको अद्भुत व्यक्तिगत गोललाई आज पनि विश्व फुटबल इतिहासका सबैभन्दा स्मरणीय क्षणमध्ये एक मानिन्छ।
अर्जेन्टिनाले त्यो खेल २–१ ले जित्दै सेमिफाइनल यात्रा तय गरेको थियो। त्यसको १२ वर्षपछि १९९८ को फ्रान्स विश्वकपमा पनि अर्जेन्टिनाले इङ्ल्यान्डलाई निराश बनायो। अन्तिम १६ को खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ इङ्लिस कप्तान बन्ने तयारीमा रहेका डेभिड बेकह्याम डिएगो सिमेओनेलाई लात हानेपछि रातो कार्ड खाँदै बाहिरिए। त्यस घटनापछि बेकह्यामले महिनौंसम्म इङ्लिस फुटबल समर्थकबाट तीव्र आलोचना र दुव्र्यवहार सहनुपरेको थियो तर बेकह्यामले सन् २००२ को विश्वकपमा त्यसको बदला लिए। समूहचरणमा अर्जेन्टिनाविरुद्ध प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले इङ्ल्यान्डलाई १–० को जित दिलाए। हालसम्म विश्वकपमा यी दुई टोलीबीच भएको पाँचौं तथा पछिल्लो भेट त्यही हो।
मियामीमा यसै विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाको खेल हेर्न बेकह्याम पुगेका थिए। त्यही सिमेओने पनि एउटै स्ट्यान्डमा हाँस्दै बसेको तस्वीरले दुई देशबीचको सम्बन्ध पहिलेभन्दा धेरै सहज भएको सन्देश दियो। तर मैदानभित्र भने कट्टर प्रतिद्वन्द्विता अझै पनि उस्तै छ।
इङ्ल्यान्डले सेमिफाइनल पुग्न कठिन संघर्ष गर्नुपरेको थियो। मियामीको चर्को गर्मीमा नर्वेविरुद्ध अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकाल्दा जुड बेलिङ्मले दुवै गोल गर्दै टोलीलाई जित दिलाएका थिए। रियाल मड्रिडका यी युवा स्टारले लगातार दोस्रो विश्वकप खेलमा दुई गोल गरेका छन्। यस संस्करणमा बेलिङ्घम र कप्तान ह्यारी केनले समान ६/६ गोल गरेका छन्।
विश्वकप इतिहासमै एउटै संस्करणमा एउटै टोलीका दुई खेलाडीले कम्तीमा ६ गोल गरेको यो पहिलो पटक हो। फिट रहे भने केनले अर्जेन्टिनाविरुद्ध इङ्ल्यान्डका लागि आफ्नो १२१औं अन्तर्राष्ट्रिय खेल खेल्नेछन्। त्यससँगै उनी ‘थ्री लायन्स’ उपनाम पाएको इङ्ल्यान्डका लागि सबैभन्दा धेरै खेल खेल्ने फिल्ड खेलाडी बन्नेछन्। गोलकिपर पिटर शिल्टन (१२५ खेल) मात्र उनीभन्दा अघि छन्। नर्वेमाथिको जितसँगै इङ्ल्यान्डले सन् २०१८ यता विश्वकप र युरोपियन च्याम्पियनसिप गरी चार प्रमुख प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। त्यो संख्या २०१८ अघिको सम्पूर्ण इतिहासमा पुगेको सेमिफाइनल बराबर हो। प्रशिक्षक थोमस टुचेलको मुख्य लक्ष्य इङ्ल्यान्डको ६० वर्ष लामो प्रमुख उपाधिको प्रतीक्षा अन्त्य गर्नु पनि हुनेछ।
टोलीलाई फाइनल पुर्याउन सफल भए उनी आफ्नै देशभन्दा फरक राष्ट्रलाई विश्वकप फाइनलमा पुर्याउने इतिहासका चौथो प्रशिक्षक बन्नेछन्। सन् १९७८ मा अस्ट्रियाका एन्स्र्ट हाप्पेलले नेदरल्यान्ड्ससँग यो उपलब्धि हासिल गरेका थिए। नर्वेविरुद्ध एन्थोनी गोर्डन निकै प्रभावशाली देखिए। उनले १० पटक ड्रिब्लिङको प्रयास गर्दै चारपटक सफल भए।
सन् २००२ मा ड्यारियस भासेलपछि विश्वकपमा एक खेलमा १० वा सोभन्दा बढी ड्रिब्लिङ प्रयास गर्ने उनी पहिलो इङ्लिस खेलाडी बने। स्वास्थ्य समस्याका कारण बुकायो साकाको खेल्ने समय व्यवस्थापन गरिए पनि उनले विश्वकपमा उत्कृष्ट सिर्जनात्मक प्रदर्शन गरेका छन्। कम्तीमा २०० मिनेट खेलेका खेलाडीमध्ये प्रति ९० मिनेट सबैभन्दा धेरै असिस्ट गर्नेमा नर्वेका एन्ड्रियास स्केल्डेरुपपछि साका दोस्रो स्थानमा छन्।
सन् १९६६ यताको तथ्यांकमा यो विश्वकपमा २०० मिनेटभन्दा बढी खेल्ने कुनै पनि इङ्लिस खेलाडीको उत्कृष्ट असिस्ट दर हो। अर्जेन्टिना विश्वकप इतिहासकै सबैभन्दा सफल राष्ट्रहरूमध्ये एक हो। ब्राजिल (५), जर्मनी र इटाली (४–४) पछि तीन पटक विश्वकप जित्ने टोलीका रूपमा अर्जेन्टिना चौथो स्थानमा छ। कतारमा चार वर्षअघि फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै उसले तेस्रो उपाधि जितेको थियो।
प्रशिक्षक लियोनेल स्कालोनी लगातार दोस्रो विश्वकप फाइनल पुग्ने लक्ष्यमा छन्। सफल भए उनी विश्वकप इतिहासमा दुई फाइनल खेलाउने सातौं प्रशिक्षक र अर्जेन्टिनाका कार्लोस बिलार्डोपछि दोस्रो प्रशिक्षक बन्नेछन्। विश्वकप इतिहासमा अर्जेन्टिनाको यो छैटौँ सेमिफाइनल हो। यसअघिका पाँचै सेमिफाइनल जित्दै फाइनल पुगेको अर्जेन्टिनासँग अन्तिम चारमा शतप्रतिशत सफलता कायम राख्ने अद्वितीय कीर्तिमान छ।
यस संस्करणमा अर्जेन्टिनाले लगातार ६ खेल जितेको छ, जुन विश्वकप इतिहासमा उसको सबैभन्दा लामो जितको शृंखला हो। पछिल्ला चार खेलमा लगातार ३/३ गोल गरेको अर्जेन्टिना विश्वकप इतिहासमा लगातार पाँच खेलमा तीन वा सोभन्दा बढी गोल गर्ने दोस्रो टोली बन्ने अवसरमा छ। यसअघि फ्रान्सले २०२२ र २०२६ संस्करण जोडेर यो उपलब्धि पाएको थियो। अर्जेन्टिनाले यस विश्वकपमा सर्वाधिक १७ गोल गरिसकेको छ। सन् १९३० को विश्वकपमा बनाएको १८ गोलको कीर्तिमान बराबरी गर्न उसलाई अब एक गोल आवश्यक छ। ती १७ गोलमध्ये आठ गोल ३९ वर्षीय लियोनेल मेसीले गरेका हुन्। स्विट्जरल्यान्डविरुद्ध क्वार्टरफाइनलमा अतिरिक्त समयमा ३–१ को जित निकाल्दा मेसीले गोल गर्न नसके पनि एलेक्सिस म्याक एलिस्टरको पहिलो गोलका लागि निर्णायक पास दिएका थिए।
त्यससँगै मेसी विश्वकप इतिहासमा दुई अलग संस्करण (२०२२ र २०२६) मा १० वा सोभन्दा बढी गोलमा प्रत्यक्ष योगदान दिने दोस्रो खेलाडी बनेका छन्। यसअघि एम्बाप्पेले पनि २०२२ र २०२६ मा यही उपलब्धि हासिल गरेका थिए।
तथ्यांक के भन्छ?
इङ्ल्यान्डले अर्जेन्टिनाविरुद्ध १४ अन्तर्राष्ट्रिय खेलमध्ये दुईमा हार बेहोरेको छ। उसले ६ खेल जितेको छ भने ६ बराबरी गरेको छ। ती बराबरीमध्ये फ्रान्स १९९८ को पेनाल्टी सुटआउट हार पनि समावेश छ। निर्धारित ९० मिनेटमा इङ्ल्यान्डको अर्जेन्टिनासँगको पछिल्लो हार सन् १९८६ को विश्वकप क्वार्टरफाइनल नै हो। त्यसयता पाँच भेटमा इङ्ल्यान्ड ९० मिनेटभित्र पराजित भएको छैन।
इङ्ल्यान्डले अर्जेन्टिनाविरुद्ध पछिल्ला दुई खेल पनि जितेको छ। पछिल्लो भेट सन् २००५ को मैत्रीपूर्ण खेल थियो, जहाँ माइकल ओवेनले दुई गोल र वायन रुनीले एक गोल गर्दै इङ्ल्यान्डलाई ३–२ को जित दिलाएका थिए। विश्वकपमा अर्जेन्टिनाले इङ्ल्यान्डसँग खेल्न लागेको यो छैटौं पटक हो। विश्वकपमा जर्मनीसँग मात्र अर्जेन्टिनाले योभन्दा बढी पटक खेलेको छ।
जब कि नेदरल्यान्ड्ससँग पनि उसले समान ६ पटक प्रतिस्पर्धा गरिसकेको छ। कम्तीमा तीन पटक खेलेका टोलीहरूमध्ये अर्जेन्टिनाको जित प्रतिशत इटाली, जर्मनी र नेदरल्यान्ड्सपछि सबैभन्दा कम इङ्ल्यान्डविरुद्ध नै छ। अत्यन्तै प्रतिस्पर्धात्मक मानिएको यो सेमिफाइनलमा अप्टा सुपरकम्प्युटरले पनि स्पष्ट विजेता छुट्याउन सकेको छैन। ९० मिनेटभित्र इङ्ल्यान्डले जित्ने सम्भावना ३८.२ प्रतिशत देखाइएको छ।
अर्जेन्टिनाको सम्भावना ३२ प्रतिशत छ। खेल बराबरी हुने सम्भावना २९.७ प्रतिशत आकलन गरिएको छ। जसले अतिरिक्त समय वा पेनाल्टी सुटआउटको संकेत गर्छ। यसले यो विश्वकपको सबैभन्दा सन्तुलित र रोमाञ्चक सेमिफाइनल हुन सक्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ३१ असार २०८३ ०७:५४ बुधबार





