१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

पूजाको टोलीको सुखद सुरुआत

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी सदस्य पूजा महतोको अलराउन्ड प्रदर्शनमा साउथर्न जागुअर्सले मलेसियन सुपर वुमन लिगमा सुखद सुरुआत गरेको छ।

नेपाली राष्ट्रिय टोलीका कुल १४ खेलाडीले बुधबारदेखि सुरु भएको मलेसियन सुपर वुमन लिगमा विभिन्न पाँच क्लबबाट खेलेका छन्। युवा अलराउन्डर पूजा सम्मिलित जागुअर्सले लिगमा सुखद सुरुआत गरेको हो। जागुअर्सले आफ्नो पहिलो खेलमा बुधबार इस्टर्न लायनेसलाई तीन विकेटले पराजित गर्‍यो। २० ओभरको खेलमा लायनेसले ७४ रनको सामान्य लक्ष्य दिएको थियो। तर, जागुअर्सले १८ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। जागुअर्सको जितमा पूजाले अलराउन्ड प्रदर्शन गरिन्। उनले ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाइन्। पूजाले टोलीका लागि सर्वाधिक १४ रन बनाइन्।

उनको टोलीबाट नेपालका अन्य दुई सदस्य रुबिना क्षेत्री र सोमु विष्टले खेलेका थिए । यी दुईले ब्याटिङमा भने राम्रा गर्न सकेनन्। जागुअर्सकी कप्तान नुर दानियाले १३ रन जोड्दा रुबिनाले सात र सोमु विष्टले अविजित दुई रन जोडे। लायनेसको बलिङमा कविता जोशीले तीन तथा कोरानित सुवान्चोनराथीले दुई विकेट लिए। त्यसअघि टस हारेर  ब्याटिङको  निम्तो पाएको लायनेसले ९ विकेटको क्षतिमा ७३ रनको योगफल  बनाएको थियो। लायनेसका लागि मास एलिसाले १९ तथा कविता जोशीले १७ रन बनाए। जागुअर्सको बलिङमा नेपाली खेलाडीको प्रदर्शन राम्रो रह्यो । पूजाले सर्वाधिक तीन विकेट लिइन्। रुबिना, सोमु र नुर दानियाले समान विकेट लिए।

नेपालकी सिनियर खेलाडी सीता रानामगरको कप्तानीमा रहेको सेन्ट्रल सुपर गल्र्सले पनि जित निकाल्यो । सीताको टोलीले नेपालकै कप्तान इन्दु बर्माले नेतृत्व गरेको वेस्टर्न वन्डर वुमन टोलीलाई २४ रनले हराएको हो। सेन्ट्रलले ६७ रनको लक्ष्य दिएको थियो। तर, वेस्टर्न ४२ रनमा नै समेटियो । वेस्टर्नका लागि अइना नजवाले सर्वाधिक ११ रन बनाइन्। नेपालका नेपाली खेलाडी सावित्री धामीले पाँच र रचनाकुमारी चौधरीले एक रन बनाए। कप्तान इन्दुले खाता नै खेल्न सकिनन् । सेन्ट्रलको बलिङमा सोनाम र अमलिन सोर्फिनाले समान तीन, सीताले दुई तथा राजमती ऐरी र रिया शर्माले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट्रल १७.३ ओभरमा ६६ रन नै अलआउट भएको थियो। सेन्ट्रलका लागि वान जुलियालेले सर्वाधिक २७ रनको योगदान गरिन्। रिया शर्माले ६ र कप्तान सीता रानामगरले ४ रन बनाए। राजमती ऐरीले खाता पनि खोल्न सकिनन्। रचनाकुमारी चौधरी, कन्याकोर्न बुन्थानसेन र माहिरा इज्जतीले समान दुई विकेट लिए।

प्रकाशित: ९ आश्विन २०८२ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App