विराटनगरमा भएको ९ औं विराट गोल्डकप फुटबल प्रतियोगितामा तीन लाख रुपैयाँ नाफा भएको छ। विराट गोल्डकप ट्रस्टले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै गतवर्ष फागुन १९ देखि २८ गतेसम्म भएको गोल्डकपको आयव्यय सार्वजनिक गरेको हो।
७ र ८ औं संस्करणमा घाटा भएको गोल्डकपको ९ औं संस्करणमा नाफा कमाउन सफल भएको छ। गोल्डकप ट्रस्टले आयोजना गरेको आठौं संस्करणमा २२ लाख ६२ हजार रुपैयाँ नोक्सानी विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयोजक भएर गरिएको ७ औं संस्करणमा ८७ लाख रुपैयाँ बराबरको नोक्सानी र ८ औं संस्करण ट्रष्ट आफैंले आयोजना गर्दा २२ लाख ६२ हजार रुपैयाँ नोक्सानी भएको प्रतिवेदन ट्रस्टले सार्वजनिक गरेको थियो।
विराट गोल्डकप फुटबलको ९ औं संस्करणमा २ लाख ९४ हजार ३ सय ७४ रुपैयाँ ३४ पैसा नाफा भएको गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिए। उनले विगत वर्षमा भएको घाटालाई ध्यानमा राख्दै यस वर्ष खर्च एकदमै कटौती गरेका कारण नाफा गर्न सफल भएको बताए।
प्रतियोगिता आयोजना गर्नका लागि प्रायोजकबाट ५ लाख ४८ हजार ७ सय ४० रुपैयाँ, कोशी प्रदेश खेलकुद विकास बोर्डबाट ५ लाख ९२ हजार ४५ रुपैयाँ, कोशी प्रदेश सरकारबाट ४ लाख ९२ हजार ५ सय रुपैयाँ, कोशी प्रदेशको प्रदेशसभा सदस्य उद्धव थापाबाट ४ लाख ९३ हजार ३ सय १० रुपैयाँ, विराटनगर महानगरपालिकाबाट १४ लाख ८२ हजार ९ सय ९२ रुपैयाँ, राष्ट्रिय खेलकुद परिषद्बाट २ लाख ९५ हजार ५ सय रुपैयाँ, टिकट बिक्रीबाट २३ लाख ९ हजार ५ सय रुपैयाँ र विविध आम्दानी ६ हजार ६ सय रुपैयाँ भएको संयोजक रिजालले बताए।
त्यसैगरी, विभिन्न शीर्षकमा १ करोड ४ लाख २६ हजार ८ सय १२ रुपैयाँ ६६ पैसा खर्च भएको बताइएको छ। यस बाहेक केही रकम बजारमा संकलन हुन बाँकी रहेको उनले बताए। गोल्डकप समितिका संयोजक रिजालले आयव्ययको जानकारी दिँदै प्रदेश सरकार र खेलकुद बोर्डबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गरे। घाटामा गइरहेको गोल्डकपलाई नाफामा लैजान सफल भएको बताउँदै, संयोजक रिजालले भने, ‘बजारमा अझै पनि केही रकम संकलन हुन बाँकी छ। प्रदेश सरकार र खेलकुद विकास बोर्डबाट अपेक्षाकृत सहयोग पाउन सकिएन। गोल्डकपलाई असफल बनाउन विभिन्न प्रपञ्च गरियो। विषम परिस्थितिमा प्रतियोगिता सफल गर्यौँ। यही अवस्था रहिरहने हो भने आगामी दिनमा फुटबल आयोजना गर्न गाह्रो हुन्छ।’
गोल्डकपका नाममा राजनीति नगर्न सबै वर्गलाई आग्रह गर्दै, संयोजक रिजालले भने, ‘गोल्डकप राम्रोसँग गर्ने हो भने आयोजकका पदाधिकारीले समेत टिकट काट्ने व्यवस्था गर्न जरुरी छ। प्रतियोगिताको समयमा धेरै संख्यामा निःशुल्क पास बाँड्नु पर्दा हैरान भयो। फाइनल खेलमा मात्रै १ हजार ८ सयभन्दा बढी पास निःशुल्क बाँड्नुपर्ने अवस्था आयो। प्रायोजक र संघ संस्थाहरुको चित्त बुझाउनै गाह्रो छ। घाटा भइरहेको विगतलाई सुधार गर्दै गोल्डकपलाई नाफामा लैजान सफल भयौं। असफल बनाउने अनेक प्रयास भए पनि हामी सफल भयौं।’
फागुन २८ गते भएको गोल्डकपको उपाधि भिडन्तमा थ्री स्टार क्लबले उपाधि चुमेको थियो। फाइनलमा थ्री स्टारले डार्बी क्लब ललितपुरको चर्च ब्वाईज युनाइटेडलाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै दोस्रो पटक गोल्डकपको उपाधि चुमेको थियो।
थ्री स्टारले उपाधिसँगै ११ लाख रुपैयाँ र उपविजेतामा सीमित बनेको चर्च ब्वाईजले ५ लाख रुपैयाँ हात पारेको थियो।
प्रकाशित: २८ कार्तिक २०८२ ०९:४६ शुक्रबार

