१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पुरुष भलिबलमा बलियो आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको पुरुष भलिबल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले स्वर्ण पदक जितेको छ। पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा विहीबार भएको खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो।

प्रतिष्पर्धात्मक रुपमा भएको पहिलो सेटमा एपीएफले आर्मीलाई २५–२१ ले पछि पार्‍यो। थप आक्रामक भएको दोस्रो सेटमा पनि एपीएफले आर्मीलाई २७–२५ ले  पछि पार्दै खेल आफ्नो पक्षमा पार्‍यो। निकै प्रतिष्पर्धात्मक भएको तेस्रो सेटमा पनि एपीएफले आर्मीलाई २६–२४ ले पछि पार्दै स्वर्ण पदक जितेको हो।

विजयी टिम एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभमा भएको कमजोरीको फाईदा उठाएर आफूहरुले जितेको बताए। ‘हाम्रो ब्लक र डिफेन्स बलियो भयो। आर्मीको सर्भिसपनि कमजोर हुँदा त्यसको फाईदा हामीले जित निकाल्यौं’, उनले भने। उनले भलिबलमा आर्मीको दबदबा तोडेर स्वर्ण पदक जित्न सफल भएको भन्दै खुशी व्यक्त गरे।

एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराउँदै फाईनलको यात्रा तय गरेको थियो भने आर्मीले अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल यात्र सुनिश्चित गरेको थियो। एपीएफले दोस्रोपटक पुरुष भलिबलमा स्वर्ण जितेको हो। यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो। नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपीएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो।

बिहीबार नै कास्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई सोझो सेटमा हराएर पदक जित्यो। पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेट पुलिसलाई सुम्पिएपछि गण्डकी भलिबलमा पदक विहीन बन्यो। पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले जित्यो।

भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ वटै टिम सहभागी थिए।

प्रकाशित: ३ कार्तिक २०७९ १०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App