१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफका गोपीचन्द्र पार्कीलाई ५ हजार मिटर दौडमा स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स ५ हजार मिटर दौड पुरुषमा विभागीय टोली एपिएफका गोपीचन्द्र पार्कीले बिहीबार स्वर्ण पदक जितेका छन्।

पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा पार्कीले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए। ५ हजार मिटरमा कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा पूरा गर्दै रजत पदक आफ्नो पोल्टामा पार्दा त्रिभुवन आर्मी क्लवका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाए।

एथ्लेटिक्स २०० मिटर दौडमा पुरुषतर्फ एपीएफका शिवराज पार्की र महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा बिहीवार पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जिते। त्रिभूवन आर्मी क्लवका युवराज बिकले २२.५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते। महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन्। एपीएफकी रमिताकुमारी थारुले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन्।

एथलेटिक्सको ४ गुणा ४ सय मिटर रिले दौडमा त्रिभूवन आर्मी क्लवले दुवै महिला र पुरुष विधामा स्वर्ण जितेको छ। पुरुष अन्तर्गत आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको समूहले निर्धारित दूरी ३ मिनेट १८.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। ४ गुणा ४ सय मिटर रिलेमा अर्को विभागीय टोली एपीएफले रजत पदक जितेको छ। एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपालीको टोलीले निर्धारित दूरी ३ मिनेट, २५.८२ सेकेन्डमा पार गरेर रजत  पदका निकालेका हुन। यसैगरी पुलिसको टोलीले कास्य पदक जित्यो। पुलिसका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको समूहले निर्धारित दूरी ३ मिनेट २९.३५ सेकेण्डमा पूरा गर्दै कास्य जितेको हो।

महिलातर्फको आर्मीका सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कुलेसी चौधरीको समूहले निर्धारित दूरी ४ मिनेट २.७८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेको हो। एपिएफले स्वर्ण जिते पनि अयोग्य हुँदा आर्मीले स्वर्ण पदक पाएको हो। एपीएफका खेलाडीले ५०० मिटर भन्दा अगाडी नै लेन परिवर्तन गरेपछि एपीएफ अयोग्य भएको हो। यस विधामा निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै रजत जितेको छ। अञ्जु खड्का, राजीना दुलाल, स्वगता खाइजु, सन्तोषी श्रेष्ठ सम्मिलित वागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कास्य जितेको छ।

यससँगै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सका सबै खेल सकिएका छन्। विभागीय टोलि त्रिभूवन आर्मी क्लव टिम च्याम्पियन बन्यो। सर्वाधिक ३९ स्वर्ण पदक रहेको एथ्लेटिक्समा १९ स्वर्ण जित्दै आर्मी  टिम च्याम्पियन बनेको हो। आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्यसहित कुल ४५ पदक जितेको छ। दोस्रो स्थानमा रहेको एपीएफले १० स्वर्ण, १० रजत र १० कास्यसहित कुल ३० पदक जितेको छ। पुलिसले २ स्वर्ण, ८ रजत, ६ कास्यसहित कुल १६ पदक जितेर तेस्रो स्थानमा रह्यो। वागमती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य पदक जितेको छ। लुम्बिनीले २ स्वर्ण,३ रजत र १ कास्य जित्यो। गण्डकीले १ स्वर्ण, १ रजत र २ कास्य जित्दा कर्णालीले १ स्वर्ण र १ रजत तथा सुदूरपश्चिमले १ कास्य पदक निकाल्न सफल भयो।

प्रकाशित: ३ कार्तिक २०७९ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App