१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइडल गौरिकासँग खेल्दा सात वर्षीया रितिका खुसी

सुदूरपश्चिम प्रदेशकी सात वर्षिया रितिका भुमीका लागि नवौं राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो उपलब्धि के हो भनेर कसैले सोध्यो भने उनको सहज जबाफ हुन्छ, ‘दक्षिण एसियाली खेलकुद (साग) र राष्ट्रिय खेलकुदमा पौडीतर्फ १२ स्वर्ण पदक विजेता गौरिका सिंहसँगको प्रत्यक्ष भेट र उनकै विधाको हिट चरणमा प्रतिस्पर्धा।’

रितिकाले शनिबार नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला एक सय मिटर फ्रि स्टाइनलमा प्रतिस्पर्धा गरेकी थिइन्। यद्यपि रितिकाले हिट चरण पार गर्न सकिनन्। तर पनि पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागी हुँदै उनले सिनियर खेलाडीबाट धेरै अनुभव भने लिने अवसर पाइन्।

रितिकालाई गौरिकाले सन् २०१६ को रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दै सो प्रतियोगितामा सहभागी हुने सबैभन्दा कान्छी खेलाडीको कीर्तिमान रचेको पनि थाहा छ। गौरिकालाई आफ्नो आइडल मान्ने रितिकाको सपना छ, ‘गौरिकाकै कीर्तिमान तोड्ने।’  

‘मैले राष्ट्रिय खेलकुद खेलेको यो पहिलो पटक हो, त्यसैले केही आत्तिएको थिएँ,’ रितिकाले भनिन्, ‘यसभन्दा अघि पनि मैले केही प्रतियोगितामा आर्मी र एपिएफका सिनियर खेलाडीसँग प्रतिस्पर्धा गरिसकेको थिएँ। तर राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्न पाउनु आफैँमा उपलब्धि हो। त्यसमाथि गौरिका दिदीलाई भेट्न र उहाँसँग प्रतिस्पर्धा गर्न पाउनु पनि मेरा लागि अर्को उपलब्धि हो।’

केही महिनाअघि सातदोबाटोमा नेपाल स्विमिङ संघले आयोजना गरेको प्रतियोगिता नै उनले प्रतिस्पर्धा गरेको आधिकारिक प्रतियोगिता थियो। त्यहाँ गरेको प्रदर्शनले हौसिएकी रितिका नवौं राष्ट्रिय खेलकुदमा प्राप्त गरेको अनुभव पक्कै पनि फलदायी हुनेमा विश्वस्त छिन्।  

‘मैले गौरिका दिदीलाई देखे तर बोल्ने अवसर पाइनँ,’ शनिबार पहिलो दिनको प्रतिस्पर्धापछि रितिकाले भनेकी थिइन्, ‘म अन्य खेल पनि खेल्छु। विद्यालयमा तेक्वान्दो र एथलेटिक्सको पनि प्रशिक्षण लिन्छु। तर मलाई पौडीप्रति धेरै रुचि छ।’  

उनका बुबा कर्ण भुमी भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयमा कार्यरत छन्। कर्णले नै रितिकालाई दुई वर्षको उमेरदेखि नै पौडी खेल्न लैजाने गर्दथे। शनिबार र अन्य सार्वजनिक बिदाको दिन कर्ण रितिकालाई पौडी खेल्न लैजान्थे। त्यसो त रितिकाले तीन वर्षको उमेरबाटै तेक्वान्दो पनि सिक्न थालेकी थिइन्। तर अन्य खेलकुदभन्दा उनको लगाव पौडीमा धेरै नै बस्यो। उनलाई पौडी प्रशिक्षण दिने प्रथम प्रशिक्षक उनका बुबा नै हुन्।

‘रितिकाको बुबा आर्मीमा हुनुहुन्छ। उहाँ भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयमा कार्यरत हुनुहुन्छ। उहाँले नै रितिकालाई पौडी खेल्न लैजानुभएको हो,’ रितिकाकी आमा विमला भुमीले भनिन्, ‘उनी तेक्वान्दो पनि खेल्छिन् तर पौडीप्रति उनको रुचि छ। त्यसैले हामीले पनि उनको रुचिअनुसार उनलाई प्रशिक्षणको व्यवस्था मिलाएका छौ। उनी दैनिक दुई घण्टा पौडीको प्रशिक्षणमा जान्छिन्।’  

‘मैले पहिलो पटक आफ्नो प्रदेशको प्रतिनिधित्व गर्र्दै नवौं राष्ट्रिय खेलकुदमा अवसर पाएँ। छिट्टै नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सपना छ। त्यसका लागि अझ धेरै मिहिनेत गर्छु,’ रितिकाले भनिन्।

प्रकाशित: १ कार्तिक २०७९ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App