१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एउटा टिसर्ट पनि पत्याएन प्रदेशले

सुदूर पश्चिमको फेन्सिङ टोलीका साथ पदक देखाउँदै जलेन्द्रबहादुर शाही (बीच) । तस्बिर: नागरिक

म सुदूरपश्चिमको प्रतिनिधित्व गर्छु भन्दा उनलाई गर्व लाग्थ्यो, अझ आफ्नो प्रदेशका लागि राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्नु उनको सपना थियो। तर आफ्नै प्रदेशका लागि नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका जलेन्द्रबहादुर शाहीलाई अहिले भने प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद संघले गरेको व्यवहारले मन कुँडिएको छ।

कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष तथा त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडी समेत रहेका शाहीले व्यक्तिगत विधातर्फ पुरुष फोइलमा स्वर्ण पदक जितेका थिए। यस क्रममा उनले आर्मीका खेलाडीलाई हराएका थिए। उनले राष्ट्रिय खेलकुदमा जितेको यो पहिलो स्वर्ण भने होइन। उनले यसअघि त्रिभुवन आर्मी क्लबबाट राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए।

लगातार सात वर्ष उनले आर्मीबाट फेन्सिङ खेले र निरन्तर सफलता हात पारिरहे। एक वर्षअघि मात्र आर्मीको जागिरबाट अवकाश पाएका शाहीले आफ्नै प्रदेशमा फेन्सिङ खेललाई सक्रिय बनाउने र राम्राराम्रा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ धनगढी रंगशालाको कभर्डहलमा फेन्सिङ सिकाउन थाले।

उनको अठोट थियो, आफ्नो अनुभव त्यहाँका युवा खेलाडीमा साट्न पाए,सधैं कमजोर टोलीको रूपमा लिइँदै आएको सुदूरपश्चिमले पनि राष्ट्रिय खेलकुदमा दरिलो उपस्थिति जनाउनेछ। तर उनको योजनालाई निरन्तर असफल पार्न चिम्टाको खेल भन्दै उनीहरूको खिल्ली उडाउने कामसमेत भए। तर उनले हार मानेनन् र निरन्तर आफ्नो लक्ष्य प्राप्तिका लागि मिहिनेत जारी राखे। नवौं राष्ट्रिय खेलकुदमा सुदूर पश्चिमले पनि पदक तालिकामा एक स्वर्ण जित्दै आफ्नो उपस्थिति जनाइसकेको छ र त्यो स्वर्ण फेन्सिङले दिलाएको हो।

‘मैले आर्मीबाट लगातार सात पदक जित्दै आएको थिएँ,’ उनले भने, आर्मी राष्ट्रिय खेलकुदमा फेन्सिङतर्फ निरन्तर टिम च्याम्पियन बन्दा म टोलीको प्रमुख सदस्य थिएँ। वैशाखबाट मैले आर्मीबाट अवकाश पाएँ। त्यसपछि म कैलाली आएँ र यहाँ कैलाली जिल्ला फेन्सिङ संघको अध्यक्ष भएँ। म राष्ट्रिय टोलीको प्रशिक्षक पनि भएँ। सुदूरपश्चिम जाँदा त्यहाँका बच्चाहरूले फेन्सिङ खेल्ने इच्छा देखाए। म आफैं बसेर उनीहरूलाई सिकाएँ। फेन्सिङ भन्ने खेलको बारेमा केही थाहा नै थिएन। 

हामीसँग खेलका लागि आवश्यक प्रविधि र सामान पनि थिएन। एउटा लड्ठीको भरमा मैले यहाँका बच्चाहरूलाई फेन्सिङ सिकाएँ। हामीले धेरै कठिनाइ झेल्नुपर्‍यो। मैले त यस पटकको प्रतियोगितालाई सहभागिताको रूपमा मात्र लिने र अनुभव बटुल्ने अवसरको रूपमा लिएको थिएँ। तर हामीले यस पटक नसोचेको सफलता निक्ल्यो। जसले समग्र सुदूरपश्चिमको शिर उचो भएको छ। स्रोतसाधन र खेलपूर्वाधार नहुनुका साथै सम्बन्धित निकायको समेत बेवास्ताका कारण हाम्रो तयारी गतिलो हुन सकेन। तर पनि गर्न सक्छौं भन्ने आत्मबलले नै आज हामीले अनपेक्षित सफलता निकाल्यौं। यो विशेष क्षण हो।’

शाहीलाई स्वर्ण जित्दा उनलाई जति गर्व लागेको छ त्यो भन्दा दुख प्रदेश सरकार र प्रदेश खेलकुद परिषद्ले आफ्नो खेल र खेलाडीप्रति गरेको व्यवहारले लागेको छ।

‘मैले धेरै पटक प्रदेश सरकार र प्रदेश खेलकुद परिषद्लाई अन्य खेलसामग्री दिन नसके पनि मनोबल बढाउनकै लागि भए पनि जनही एउटा टिसर्ट उपलब्ध गराइदिन निरन्तर आग्रह गरिरहेँ,’ शाहीले अगाडि भने, ‘सम्बन्धित निकाय कानमा तेल हालेर बस्यो तर पनि हामी आफ्नो मिहिनेतले आज सफल भएका छौं। ६ टोली सहभागी प्रतियोगितामा हामी एक स्वर्ण र दुई कांस्य पदकसहित चौथो स्थानमा रह्यौं। यो सुरुआत मात्र हो। हामी यो प्रशिक्षणलाई निरन्तरता दिन्छौं र अझ सफलताका लागि मिहिनेत जारी राख्छौं। यो अभियान रोकिनेवाला छैन। म सुदूरपश्चिमलाई फेन्सिङ खेलको अब्बल टोली नबनाउने बेलासम्म सक्रिय खेलजीवनबाट टाढा हुने योजनामा छैन।’

फेन्सिङमा आर्मी टिम च्याम्पियन

फेन्सिङको पुरुष इपी टिम विधामा सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको छ। शुक्रबार ब्याडमिन्टन कोर्टमा भएको इपी फाइनलको विभागीय प्रतिस्पर्धामा आर्मीले एपिएफलाई ४५-२८ स्कोरमा पराजित गर्दै स्वर्ण जितेको हो।

बाग्मती र गण्डकीले कांस्य पदकमा चित्त बुझाएका छन्। एपिएफले दुई स्वर्णसहित तेस्रो र एक स्वर्ण जितेको सुदूरपश्चिम चौथो स्थानमा छन् ।

प्रकाशित: २९ आश्विन २०७९ ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App