१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

उद्घाटन समारोह विगतभन्दा खल्लो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह । तस्बिर: उमेश पुन/नागरिक

३९ वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव राष्ट्रिय खेलकुदको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भयो। वि.सं.२०४० सालमा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो। त्यसपछि नवौं संस्करणका रूपमा पोखरेली जनताले ४१ वर्षको इतिहास बोकेको खेल महोत्सव आयोजना गर्ने अवसर पाए।

पोखरा रंगशालामा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको विभिन्न कार्यक्रमका बीच उद्घाटन समारोह भयो। नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले विधिवत् रूपमा नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका थिए। उनले उद्घाटनको विधिवत् घोषणा गरेसँगै आतिसबाजी भएको थियो।

उपराष्ट्रपति पुनले नेपालको ऐतिहासिक खेलकुद महोत्सव आयोजना गर्न पाएकोमा गण्डकी प्रदेशका जनतालाई बधाई दिए। खेलकुदमा लगानी बढाउन राज्यको ध्यान बढ्नुपर्ने आवश्यकता पनि औंल्याए। त्यसअघि एथलेटिक्सका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गरेका थिए।

१८औं एसियाडमा रजत पदक विजेता प्याराग्लाइडिङका सुशील गुरुङले खेलाडीको तर्फबाट र भलिबलका अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापाले निर्णायकको प्रतिनिधित्व गर्दै शपथ लिएका थिए। यद्यपि, त्यसअघि आयोजनाको आकर्षण रहेको उद्घाटन समारोह विगतभन्दा खल्लो रह्यो। राष्ट्रिय खेलकुदको आकर्षक पक्षमध्ये एक हो, उद्घाटन समारोह। सहभागी टोलीको मार्च पास्ट, गीत संगीत, कला संस्कृति लगायत प्रस्तुतिले उद्घाटन समारोहलाई आकर्षक बनाउने गर्छ।

उद्घाटन समारोहको जिम्मेवारी पाएका नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समारोह उपसमितिको व्यवस्थापकीय कमजोरी औंल्याउने ठाउँ धेरै देखिए। त्यसैले पनि नवौं संस्करणको समारोह सम्झनलायक रहने छैन। उद्घाटन सत्रको सबैभन्दा पहिलो चरण हो, मार्च पास्ट। यसमा प्रतियोगितामा प्रतिस्पर्धी ११ टोली, राष्ट्रिय पूर्व खेलाडी र गण्डकी प्रदेशका विभिन्न जातजातिका समूह सहभागी थिए। तर, सो क्रममा विभागीयबाहेक खेलाडी अस्तव्यस्त तरिकाले मार्चपास्टमा सहभागी भए। यसबीच साउन्ड सिस्ट राम्रो हुन सकेन। जसले प्रस्तुति नै खल्लो भयो।

उद्घाटन समारोहमा भएका सांगीतिक प्रस्तुति र अतिथिका भाषण पनि स्पष्टसँग बुझ्न कठिन भयो। साथै उद्घाटन समारोहमा पोखरेली समर्थकको उपस्थिति पनि न्यून रहँदा करिब १६ हजार ५ सय क्षमता रहेको रंगशालाको प्यारापिट खालीजस्तै देखियो। यसबीच सातै प्रदेशका कला संस्कृति झल्कने नृत्य प्रस्तुतिले भने उपस्थिति दर्शकलाई केही उत्साहित बनायो। शिव परियार र रचना रिमालले प्रस्तुति दिइरहँदा समय अभाव भएको भन्दै कार्यक्रम प्रस्तोताले पनि बीचमा नै रोके। जसले समारोहको थप व्यवस्थापकीय कमजोरीसँगै उद्घाटन समारोह नै खल्लो बन्यो।

उद्घाटन समारोहमा उपराष्ट्रपति पुनसँगै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङलगायत विभिन्न उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो।

गण्डकीका मुख्यमन्त्री पोखरेलले गण्डकी खेल पर्यटनको सम्भावनाले भरिपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकता राखेको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदले आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि स्तरीय खेलाडी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद विश्वका केही देशमा खेल उद्योगका रूपमा विकास भइसकेको र नेपाल सरकारले पनि खेलकुद विकासमा प्राथमिकतामा राखेको उल्लेख गरे। राखेप सदस्यसचिव घिसिङले स्वागत मन्तव्य राखेका थिए। आगामी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा ३६ मध्ये ३५ खेलको प्रतिस्पर्धा हुँदै छ। पुरुष क्रिकेटको भने गत महिना नै सम्पन्न भइसकेको छ।

तीन विभाग, सात प्रदेश एक एनआरएनएका गरी ६ हजार एक सय ५७ खेलाडी, तीन सय ५३ प्रशिक्षक, दुई सय १९ व्यवस्थापक र १७ सय निर्णायक गरी कुल आठ हजार चार सय २९ जना प्रत्यक्ष नवौं खेलकुदमा सहभागी छन्। कुल चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ। जसमध्ये १३ स्वर्ण पदकको टुङ्गो लागेको छ। यसमध्ये आर्मीले पाँच स्वर्ण, बाग्मतीले चार, एपिएफले दुई, पुलिस र सुदूरपश्चिम प्रदेशले १/१ स्वर्ण जितेका छन्। शुक्रबार फेन्सिङको प्रतिस्पर्धा पनि समाप्त हुँदा आर्मी टिम च्याम्पियन बन्यो। 

प्रकाशित: २९ आश्विन २०७९ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App