१६ चैत्र २०८० शुक्रबार
खेल

नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय टिमका खेलाडीहरु चम्किँदा बागमती र एनआरएनए विजयी

गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा शुक्रबार गैरआवासीय नेपाली संघ (एनआरएनए) र वागमती प्रदेशले विजयी शुरुवात गरेका छन्।  पोखराको याम्दीस्थित गोष्तेघाट खेल मैदानमा बिहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश १ लाई २–० अन्तरले पराजित गर्दा दिनको दोस्रो खेलमा वागमती प्रदेशले पनि मधेस प्रदेशमाथि समान २–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेका हुन्।

 एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले समान एक/एक गोल गरे। एनआरएनमा राष्ट्रिय खेलाडी समावेश गरिएको भन्दै प्रदेश १ ले बिरोध जनाएपछि केही ढिला गरी शुरु भएको खेलमा सञ्जोगले नवाैं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए। ३५ मिनेटमा खेलाइएको खेलको ४५ औं मिनेटमा विमलले एनआरएनएका लागि दोस्रो गोल गरेका थिए। शुरुवातमा गोल खान पुगेको प्रदेश १ त्यसपछि दबाबमा परेको थियो। पहिलो हाफमा लिएको अग्रतासँगै उच्च मनोबलका साथ खेलेको एनआरएनएबिरुद्ध दोस्रो हाफमा प्रदेश १ खेलमा फर्किन प्रयास गरेपनि सफल हुन सकेन र नतिजा सुम्पिन बाध्य बन्यो। यससँगै एनआरएनएले पुरुष फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ। 

उता पराजित प्रदेश १ ले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ। वागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्ने क्रममा सुनिल बल र अन्जन बिष्टले समान एक/एक गोल गरे। ७० मिनेटमा छोट्याइएको खेलमा सुनिल बलले ३९ औं मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै अञ्जन विष्टले ४५ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीबाट टोलीका लागि दोस्रो गोल गरेका थिए। प्रतियोगितामा शुक्रवार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल लुम्बिनी प्रदेश र विभागीय टोली त्रिभूवन आर्मी तथा दोस्रो खेल कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।

प्रकाशित: २७ आश्विन २०७९ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App