२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

एएफसी यु–१७ एसिया कप छनोट: सुखद नतिजा ल्याउने नेपालको लक्ष्य

नेपाली यु-१७ टोली मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको तयारी राम्रो भएकाले भियतनाममा बुधबारबाट सुरु हुने एएफसी यु-१७ एसिया कपको छनोट चरण पार गर्नेमा विश्वस्त रहेको बताएका छन्।

अखिल नेपाल फुटबल संघ(एन्फा) मा आयोजित बिदाइ कार्यक्रममा शनिबार श्रेष्ठले टोलीको तयारी राम्रो भएकाले सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका हुन्। नेपाली टोली आइतबार भियतनाम प्रस्थान गर्दै छ। उनीहरूलाई एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनिर्वाचित सदस्य रूपेश अधिकारीले बिदाइ गरेका थिए। ‘दुई साताअघि श्रीलंकाको कोलम्बोमा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपमा बटुलेको अनुभव भियतनामा फलदायी हुनेमा हामी आशावादी छौं,’श्रेष्ठले भने, ‘साफमा यो टोली अनुवभविहीन थियो। खुला छनोटबाट छानिएका खेलाडीले पनि राम्रो नतिजा ल्याए। अहिले टोली अनुभवी छ र त्यसको फाइदा भियतनाममा हुनेछ।’

श्रीलंकाबाट फर्किएपछि नै युवा टोलीको प्रशिक्षणलाई निरन्तरता दिएकाले सुखद नतिजा ल्याउन मद्दत पुग्ने प्रशिक्षक श्रेष्ठ विश्वस्त छन्। यसअघि साफ यु-१७ को खुला छनोटको अन्तिम ३० सम्म अटाए पनि २३ सदस्यीय टोलीमा पर्न नसकेका खेलाडीलाई पुनः प्रशिक्षणमा बोलाएको र तीमध्येबाट दुई नयाँ खेलाडीलाई प्रशिक्षकले यस पटक टोलीमा समावेश गरेका छन्।

चोटका कारण दुई खेलाडी भने टोलीबाट बाहिरिएको प्रशिक्षको भनाइ छ। ‘मिडफिल्डर मिराक लिङ्देन र रक्षक प्रितम कार्की खुट्टामा चोटका कारण टोलीबाट बाहिरिएका छन्,’ श्रेष्ठले भने, ‘लेफ्टब्याक राम थापा मगर र मिडफिल्डर श्रेयान्स मानन्धरले स्थान बनाएका छन्। उनीहरूको उपस्थितिले टोली थप बलियो भएको छ।’

समूह ‘एफ’ मा घरेलु टोली भियतनाम, थाइल्यान्ड र चाइनिज ताइपेइ रहे पनि समूह विजेताको हैसियतमा एसिया कपमा छनोट हुने लक्ष्य रहेको प्रशिक्षक श्रेष्ठले बताए। ‘हामी समूहविजेता बन्दै एसिया कप छनोटको लक्ष्यका साथ भियतनाम यात्रामा निस्कदै छौं,’श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य समूह विजेता बन्ने हो। यद्यपि, समूह विजेता बन्न नसके पनि हामी राम्रो अंकसहित कम्तीमा ६ उत्कृष्ट उपविजेताभित्र पर्दै अघिल्लो चरणमा स्थान बनाउने लक्ष्यमा छौं।’ कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित भएको थियो।

फाइनलमा नेपालले भारतलाई नतिजा सुम्पिएको हो। एएफसी यु-१७ एसिया कप छनोटमा नेपालले पहिलो खेल असोज १९ गते थाइल्यान्डविरुद्ध खेल्नेछ भने दोस्रो खेल असोज २१ मा घरेलु टोली भियतनाम र अन्तिम खेल असोज २३ मा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ।

प्रतियोगितामा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। जसमध्ये समूह ए, बी, सी र डीमा समान पाँच टोली रहेका छन्। समूह इ, एफ, जी, एच, आइ र जेमा भने समान चार टोली छन्। प्रत्येक समूहका विजेताका साथै उत्कृष्ट ६ उपविजेता गरी १६ टोली एफसी यु-१७ एसिया कप २०२३ का लागि छनोट हुनेछन्।

प्रकाशित: १६ आश्विन २०७९ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App