१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एकसातापछि महिला क्रिकेट, पीच मर्मत गरिदैं

साईडस्क्रिन निर्माण गर्न समय लाग्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप पोखरा रंगशाला क्रिकेट मैदानमा साईडस्क्रिन निर्माण गरिदैं। तस्बिर नागरिक

दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ। गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ।  

एकहप्तापछि शुरु हुने प्रतियोगिताको लागि आवश्यक पूर्णतयारी भने भईसकेको छैन्। मैदान पूर्णरुपमा तयार गरिएको छैन्। पीच अझै तयारी अवस्थामा छैन्। दुई तर्फको साईडस्क्रिन तयारी अवस्थामा देखिदैन्। तयारी पुरा नहुदैं राष्ट्रिय प्रतियोगिता शुरु गर्नुपर्ने बाध्यता छ। एकजना क्युरेटर र दुईजना सहयोगीको भरमा पीच तयार गर्नुपर्ने छ। दशैंले छोईसकेको छ। दशैंपछि कामदारको अभावले प्रतियोगिता नै प्रभावित हुने आंशका उत्तिकै छ।  

असोज १ गतेदेखि मात्रै पोखरा रंगशाला क्रिकेट मैदानको काम शुरु गरिएको हो। त्यसअघि क्रिकेट मैदानमा नियमित रुपमा विभिन्न प्रतियोगिता हुदैं आएको थियो। जिल्ला छनोट, प्रदेशस्तरीय छनोटको लागि क्याम्प। त्यसपछि महिलाको लागि क्याम्प अनि छनोट प्रतियोगिताले मैदान मर्मत सम्भारमा ढिलाई भएको थियो। आउट फिल्ड अझै गतिलो छैन्। खेलाडीले जोखिम लिएर खेल्नुपर्ने बाध्यता छ।  

‘असोज १ गतेदेखि नै ग्राउण्ड्सको काम शुरु गरिएको हो। पीच तयार गर्नुपर्ने । पीच तयार अझै भईसकेको छैन्। समय छोटो छ। छोटै समयमा काम सक्नुपर्ने बाध्यता छ।’ पीच क्युरेटर प्रदीप राउतले भने, ‘दशैंको मुखमा कामदार नपाउँदा समस्या भयो।’ उनले दुईजना सहयोगको भरमा काम गर्नुपरेकोले ढिलाई भएको गुनासो गरे।  

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ सहित प्राविधिक एवं कर्मचारीले शनिबार पोखरा रंगशाला क्रिकेट मैदान निरिक्षण समेत गरेका थिए। हाईड्रोलिक रोलर विग्रिएर थन्किएको छ। हाते रोलरले पीच रोलिङ गरेर तयारी गर्नुपर्ने अवस्था छ। त्यसमा पनि अहिले आगामी कार्तिक दोस्रो साता हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको लागि प्रदेशको टोली छनोटको तयारीमा छ। पीच नै उपलब्ध गराई प्रशिक्षण गराएर टिम तयार गर्नुपर्ने बाध्यताले कामलाई प्रभावित बनाएको छ।  

‘एउटा साईडस्क्रिन तयार हुदैं छ। अर्को तयार गर्न समय लाग्छ,’ क्युरेटर राउतले भने, ‘दशैंमा कामदार घर जाने भएकोले रातदिन काम गरेर टुग्याउने प्रयास छ। नभए पुरानो साईडस्क्रिनलाई उठाएर काम प्रतियोगिता खेलाउनुपर्ने अवस्था छ।’ अहिले परिषदले क्रिकेटलाई झण्डै १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। घोषणा अनुरुप पीच निर्माण र साईडस्क्रिन बनाउन खर्चिने छ। साईडस्क्रिन चारवटा पीचमा खेलाउन मिल्ने गरी तयारी गरिएको भनाई छ।  

गण्डकी प्रदेशले उदघाटन खेल मधेश प्रदेशसँग खेल्दै शुरुवात गर्ने छ। गण्डकी प्रदेशको जिम्मेवारी पूर्व राष्ट्रिय खेलाडी दिपेश खत्रीले प्रशिक्षण दिएका छन्। उनकै प्रशिक्षकत्वमा खेलाडीहरु नियमित प्रशिक्षणमा छन्। ‘पीच मर्मत नहुदाँ पीचमा प्राक्टिस गर्न पाईइएन्। केवल एक दिन मात्रै पीचमा प्राक्टिस गर्न पाईयो। अन्य दिनमा नेट्स र आउटफिल्डमा प्राक्टिस गरेर तयारी गरेका छौं,’ प्रशिक्षक खत्रीले भने, ‘पीचमै खेल्न नपाएपनि खेलाडीले होम ग्राउण्डमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ।’ खेलाडीहरु दशैं मनाउन घर गईसकेका छन्। कास्कीकै खेलाडीहरु भने प्रशिक्षणमा रहने उनले सुनाए।  

प्रकाशित: १५ आश्विन २०७९ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App