१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उद्घाटन खेलमा दमक विजयी

झापा दमकको दमक–लखनपुर भेट्रान क्बल ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।  

विराटनगरमा आइतबार भएको खेलमा दमकले मोरङको एभरेष्ट भेट्रान क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो। निर्धारित समयमा गोलरहित बराबरी भएकोले खेलको निर्णय टाइब्रेकरबाट भएको हो।

दमकका देउमान लिम्बू, पुष्कर धिमाल, प्रेम हेवाङ तामाङ र सुवास आङथुप सुब्बाले गोल गरे भने शिव चौधरीको प्रहार गोल हुन सकेन। त्यस्तै, एभरेष्टका लागि विमल लिम्बू र दीपक खड्काले गोल गरे भने इन्द्रमणि पोखरेल र अशोक सुनवारको प्रहारलाई गोलरक्षकले बचाउ गरे।  

म्यान अफ द म्याच दमकका गोलरक्षक टंक धिमाल भए। प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले गरिन्। उनले महानगर खेल र खेलाडीको स्तर वृद्धिका लागि सधैँ तत्पर रहेको बताइन्। साथै विराटनगरमा हुने प्रतियोगितामा महानगरले खेलाडीहरुलाई सहयोग गर्न तयार रहेको बताइन्। सो अवसरमा एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँ लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिए।  

असोज १५ गतेसम्म सहिद रंगशालामा हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता रहेको छ। टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजक टिमको सहभागिता रहेको छ।

सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल विराटनगरको युनाइटेड भेट्रान क्लब र इटहरीको जनता भेट्रान क्बल तथा दोस्रो खेल झापाको विर्तामोड भेट्रान क्लब र विराटनगरको विन्दवासिनी भेट्रान क्लबबीच हुनेछ। 

प्रकाशित: ९ आश्विन २०७९ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App