१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद: चार वर्षमा पनि बनेन सुटिङ रेन्ज र पौडी पोखरी

चार वर्ष अघि नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै समापन समारोहमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारीसहित गण्डकी प्रदेशले झण्डा बोकेर ल्यायो।

झण्डा बोकेसँगै पूर्वाधार बनाउनुपर्ने दायित्व र जिम्मेवारी पनि उत्तिकै थियो। सुटिङ रेन्ज र पौडी पोखरी निर्माण गर्नुपर्ने आवश्यकता चार वर्ष अघिदेखि औल्याउँदै आएपनि बन्छ भन्ने ‘प्रतिबद्धता’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आइपुग्दा दोहोरिरह्यो।

‘हिजोका मन्त्री र अहिलेको खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले पोखरामा पौडी पोखरी र सुटिङ रेन्ज बनाउने प्रतिबद्धता जनाइराखे,’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने, ‘संरचना नहुदाँ बनाउँछौ भन्ने प्रतिबद्धता गरे। हामीले विश्वास गर्‍याैँ। अझैपनि बन्छ भनेर प्रतिबद्धता गरेका छन्।’

कहिले बन्छ भन्ने प्रश्नमा उनको ठ्याक्कै जवाफ भने थिएन्। गुरुङ आफैं पनि सरोकार निकायमा रहँदा समेत सुटिङ रेन्ज र पौडी पोखरी बनाउने तर्फ ध्यान नदिएको आरोप उनीमाथि खेलकुदकर्मीले लगाउँदै आएका छन्। गुरुङले यसअघि दुई पटक खेलकुद परिषदका सदस्य कार्यभार सम्हालिसकेका थिए।

पोखरा रंगशालामा सबै खेलकुदका संरचना छन् भन्नु नै गलत भएको उनको बुझाइ थियो। ‘मैले परिषदमा भन्नुपर्ने मेरो तर्फबाट भनेको थिए ।पौडी पोखरी र सुटिङ रेन्ज छैन् भनेर भने, तर यहाँका राजनीतिक दलले पनि दबाव दिनुपर्ने थियो,’ उनको भनाइ थियो।

बोर्ड सदस्य गुरुङले रंगशालाभित्र केही खेल बाहेक अन्य खेललाई रंगशालाभन्दा बाहिर खेलाउनुपर्ने बाध्यता रहेको सुनाए। पौडी र सुटिङ काठमाडौंमा जाने सम्भावना रहेको उनले औंल्याए। रंगशाला बाहिर बनेका इण्डोर हलहरुमा इण्डोर खेल खेलाउनुपर्ने बाध्यता परिषदसँग छ।

केही खेललाई राष्ट्रिय प्रतियोगिता भन्दा पनि प्रशिक्षणको चिन्ता छ। हक्की, रग्बी, सुटिङ, पौडी, साईक्लिङ, बक्सिङ लगायतका खेललाई प्रशिक्षणकै पिरलो छ। हक्कीलाई प्रशिक्षण गर्ने ठाँउ छैन। सुटिङको पोखरामा पूर्वाधार नै छैन। साइक्लिङको डाउनहिल प्रतिस्पर्धा कहाँ गर्ने हो भन्ने एकीन छैन।

 बक्सिङको व्यवस्थित रिङ छैन। कतै खेल सामाग्रीको अभाव कतै प्रशिक्षण स्थलकै अभावमा नवौं राष्ट्रिय प्रतियोगितामा खेलाडी उत्रिनुपर्ने बाध्यता रहेको पोखरा महानगर खेलकुद विकास परिषदका सदस्य सचिव सुवास खड्काले बताए। ‘रग्बी कहाँ प्रशिक्षण गराउने यकिन छैन। फाइनल भेन्यु फिक्स भइसकेको छैन,’ उनको भना थियो, ‘रग्बीको लाग भण्डारढीक खेल मैदान प्रस्ताव गरिएको छ। मैदान मर्मत सम्भार गरिएको छ।’ उनी आफैं पनि रग्बी संघमा आवद्ध छन्।

हक्कीको पीडा पनि उस्तै छ। तयारी राष्ट्रिय प्रतियोगिताको गर्नुपर्ने छ। तर मैदान भने ठ्याक्कै यही ठाँउ हो भन्ने छैन अरुले खेलेर छाडेपनिको छेउकुना खोज्दै हक्की खेल्नुपने बाध्यता रहेको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्का बताउँछन्।

‘हक्कीको लागि प्रशिक्षण गर्ने ठाँउ नै छैन, ’उनले भने, ‘अरुको छेउकुना खाली ठाउँ खोजेर प्रशिक्षण गर्नुपर्छ।’ उनका अनुसार राष्ट्रिय प्रतियोगिताको हेमजास्थित गौरीशंकर खेल मैदान र गण्डकी आवासिय बोर्डिङ स्कुलको मैदानलाई प्रस्ताव गरिएको छ। यद्यपि ठोस निर्णय भने भइसकेको छैन।  

पोखरा रंगशालाभित्र एथलेटिक्स (ट्रयाक एण्ड फिल्ड), महिला क्रिकेट, फुटबल, स्क्वास, लनटेनिस, आर्चरी, व्याडमिन्टन, भलिबल, ह्याण्डबल र बहुउद्देश्यीय कभर्ड हलमा केही इण्डोर खेल खेलाउने सम्भावना छ। बाँकी खेललाई रंगशालाभन्दा बाहिर नै खेलाउनुपर्ने अवस्था छ। गण्डकी प्रदेशका ६ जिल्लामा ८ खेल खेलाइने तय भएको बोर्ड सदस्य गुरुङको भनाइ थियो।

नवलपुरमा २, गोरखामा १, पर्वतमा १, स्याङजामा १, बाग्लुङमा १ र म्याग्दीमा २ खेल खेलाउने योजना राष्ट्रिय खेलकुद परिषदले बनाएको छ। हिमालपारीको जिल्ला मनाङ, मुस्ताङ र लमजुङमा कुनै पनि खेल खेलाउने सम्भावना न्यून रहेको उनको भनाइ थियो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता सुरु भइसकेको छ।

गण्डकी प्रदेशले पुरुष क्रिकेट बाहेक अन्य खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको छ। तीनदिने प्रदेश छनोट प्रतिस्पर्धाबाट ७४८ खेलाडीले राष्ट्रिय प्रतियोगिताको लागि आफनो नाम सूचीकृत गरेका छन्। महिला तर्फ ३६ खेलबाट ३५६ जना रहेका छ। पुरुष ३९२ जना रहेको गण्डकी खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए।

प्रकाशित: २७ भाद्र २०७९ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App