१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

चौथो पटक फाइनल पुग्ने लक्ष्य

फाइल तस्बिर

श्रीलंकाको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिप २०२२ को चौथो पटक फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेको नेपालले सोमबार घरेलु टोलीको सामना गर्दै छ।

समूह ‘बी’ मा भुटान र भारतमाथिको जितसँगै समूहविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको नेपालले समूह ‘ए’ को उपविजेता श्रीलंकाको सामना गर्न लागेको हो। दक्षिण एसियाली फुटबलको उमेरसमूहको प्रतियोगितामा पनि सिनियर टोलीझैं युवा टोलीले सधै श्रीलंकालाई दबाबमा राख्दै आएको छ। सोमबार नेपाली समयअनुसार राति ८ः१५ बजे रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा श्रीलंकामाथि सहज जितसहित नेपाल चौथो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउन चाहन्छ।

सन् २०११ बाट सुरु साफ यु–१६ च्याम्पियनसिपको यो सातौं संस्करण हो। पहिलो संस्करणमा समूहचरणमा नेपालले श्रीलंकालाई ६–० ले हराएको थियो। दोस्रो संस्करणमा भने नेपालले फाइनलसम्म यात्रा तय गरे पनि भारतसँग निराश भएको थियो। सन् २०१५ मा सेमिफाइनलमा भारतसँग निराश भएको नेपाल सन् २०१७ र २०१९ मा पनि साफ यु १५ च्याम्पियनसिपको फाइनलमा पुगे पनि दुवै पटक भारतसँग निराश भएको थियो।

नेपालले पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो। जुन खेल नेपालले २–० ले जितेको थियो। समूह ‘बी’ को पहिलो खेलमा भुटानमाथि २–१ को जित निकाले पनि नेपाली युवा टोलीले सम्हालिएको प्रदर्शन गर्न सकेको थिएन। तर, साबिक विजेता भारतविरुद्धको दोस्रो खेलमा १–० ले पछि परेको स्थितिमा उत्कृष्ट पुनरागमन गर्दै नेपाल अन्ततः ३–१ को जितसहित समूहविजेता बन्यो। यस उमेरसमूहमा नेपालले भारतमाथि निकालेको यो नै पहिलो जित थियो। जसले नेपाली युवा टोलीको मनोबल अझै बढाइदिएको छ।

‘हामी सधैं भारतसँग पराजित हुँदै आएका थियौं। तर यस पटक हामीले उनीहरूलाई समूह चरणमा पराजित गर्दै इतिहास रचिसकेका छौं,’ नेपाली युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भने, ‘अब हामीसँग साफ यु १७ च्याम्पियनसिपको उपाधि जित्दै अर्को इतिहास रच्ने अवसर छ। हामीले भोलि आयोजक श्रीलंकाविरुद्ध खेल्दै छौं। हामी समूह चरणमा निकालेको जितयात्रालाई निरन्तरता दिँदै फाइनलमा स्थान बनाउन चाहन्छौं। हामी उच्च मनोबलका साथ मैदान उत्रँदै स्वाभाविक खेल खेल्छाैं। प्रतियोगितामा सबै टोलीको स्तर समान छ। त्यसैले हामी कुनै पनि टोलीलाई कमजोर रूपमा लिने भुल गर्न चाहँदैनौं।’

श्रेष्ठले कुर्कुच्चाको चोटका कारण भारतविरुद्धको खेलमा अनुपस्थित रहेका कप्तान प्रशान्त लक्ष्यम श्रीलंकाविरुद्ध मैदान उत्रन तयार रहेको र त्यसले टोलीको हौसला थप बढेको बताए। यता पहिलो खेलमा बंगलादेशलाई ५–१ को नतिजा सुम्पिएको श्रीलंका दोस्रो खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो। समूह ‘ए’ बाट बंगलादेश दुई खेलमा शतप्रतिशत नतिजासहित समूह विजेता बन्दा श्रीलंका एक जित र एक हारको नतिजापछि समूह उपविजेता बन्यो।

आर्थिक मन्दी र राजनीतिक अस्थिरताबीच श्रीलंकाले आयोजना गरेको यो नै ठूलो प्रतियोगिता हो। आर्थिक मन्दी र राजनितिक अस्थितरताका बीच श्रीलंकाले एसिया कप ट्वान्टी २० क्रिकेटको आयोजना अधिकार भने गुमाएको थियो। त्यसैले श्रीलंका पनि घरेलु मैदानमा सफलता निकाल्दै आफ्ना नागरिकलाई खुसी दिन चाहन्छ।  

प्रकाशित: २७ भाद्र २०७९ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App