२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मार्की खेलाडी सार्वजनिक

नेपाल ट्वान्टी-२० लिगका लागि शनिबार पहिलो चरणमा ६ फ्रेन्चाइज टोलीका मार्की खेलाडी सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल ट्वान्टी–२० लिगका लागि शनिबार ६ जना मार्की खेलाडी सार्वजनिक गरिएको हो। नेपाल ट्वान्टी–२० क्रिकेट लिग आगामी असोज ८ देखि कात्तिक पाँचसम्म हुँदै छ। ड्राफ्टबाट ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्धित गरेको क्यानले जनाएको छ।

पहिलो संस्करणमा लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं कान्तिपुर र फारवेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्दै छन्। काठमाडौं कान्तिपुरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, लुम्बिनीले अलराउन्डर दीपेन्द्रसिंह ऐरी र विराटनगरले ब्याट्सम्यान रोहित पौडेललाई मार्की खेलाडीका रूपमा अनुबन्धित गरेको छ।

यस्तै जनकपुरले तीव्र गतिका बलर सोमपाल कामी, पोखराले पछिल्लो समय राम्रो लयमा रहेका युवा ब्याट्सम्यान आसिफ शेख र फारवेस्टले तीव्र गतिका बलर करण केसीलाई मार्की खेलाडीका रूपमा छनोट गरेको छ।

ड्राफ्टबाट ६ टोलीले ‘ए’ श्रेणीका सात खेलाडीलाई १५ लाख रूपैयाँमा अनुबन्धित गरेका छन्। मार्की खेलाडीबाहेक पोखराले ‘ए’ श्रेणीका खेलाडी शरद् भेषवाकरलाई १५ लाखमा अनुबन्धित गरेको छ। ‘ए’ श्रेणीमा जम्मा १२ खेलाडी सूचीकृत भए पनि मार्की र शरदबाहेकका खेलाडी ‘बी’ श्रेणीमा झरेका छन्।

‘ए’ श्रेणीमा १५ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। क्यानले सेन्ट्रल कन्ट्य्राक्टमा रहेका चार क्रिकेटर, नेपालको कार्यवाहक कप्तान रोहितकुमार पौडेल र पछिल्लो समय राम्रो लयमा रहेका आसिफ शेखलाई मार्की खेलाडीका रूपमा जिम्मेवारी दिएको हो। नेपाल राष्ट्रिय टोलीका विकेटकिपर विनोद भण्डारी, केन्यासँगको पछिल्लो शृंखलामा रहेका आरिफ शेख, अविनाश बोहरा, ओपनर कुशल भुर्तेल र सुवास खकुरेल भने ‘ए’ श्रेणीमा बिकेनन् र त्यसैले उनीहरू ‘बी’ श्रेणीमा झरेका हुन्। ड्राफ्टबाट ‘बी’ श्रेणीमा झरेका पाँच र सूचीकृत ३२ गरेर कुल ३७ खेलाडी छन्।

यस्तै ‘सी’ श्रेणीमा ४८ खेलाडी समावेश भएका छन्। लिगमा ‘ए’ श्रेणीका क्रिकेटरले १५ लाख, ‘बी’ श्रेणीका क्रिकेटरले १० लाख र सी श्रेणीका क्रिकेटरले पाँच लाख रूपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन्। एक टोलीमा ११ नेपाली खेलाडी र पाँच विदेशी खेलाडी रहनेछन्।

कुल ८ सय ५७ क्रिकेटरले आवेदन दिएका थिए। जसमा यसमध्येबाट क्यानले कुल ९३ जना (निलम्बित कप्तान सन्दीप लामिछानेसहित) ड्राफ्टमा सर्टलिस्ट गरेको छ। यसमध्येबाट ६६ क्रिकेटरले नेपाल ट्वान्टी–२० क्रिकेट खेल्नेछ।

प्रकाशित: २६ भाद्र २०७९ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App