२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल सेमिफाइनलमा

नेपालका स्ट्राइकर निरज कार्की (नीलो) भुटानका युगेन दोर्जेविरुद्ध बल अगाडि बढाउँदै। तस्बिर: नागरिक

भुटानमाथि २-१ को सहज जितसहित नेपाल श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालको जितमा युनिस बुढाथोकी र सीमान्त थापाले समान एक गोल गरे। भुटानका जितसुन दोर्जेले एक गोल गरे।

समूह ‘बी’ मा नेपाल र साबिकको विजेता भारतको समान ३ अंक छ। दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन्। शुक्रबार भारतविरुद्धको खेल समूहविजेताका लागि मात्र हुनेछ। समूह ‘ए’ बाट भने बंगलादेश लगातार दोस्रो जितसँगै समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ। यसअघि पहिलो खेलमा आयोजक श्रीलंकालाई ५-१ ले हराएको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई ४-० ले हरायो।

शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलले सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुङ्गो लगाउनेछ। भुटान भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा भुटान भारतसँग ३-० ले पराजित भएको थियो।

खेलको सुरुआतबाटै आक्रामक देखिएको नेपालले १२औं मिनेटमा युनिसको गोलमा खाता खोलेको थियो। ५७औं मिनेटमा सीमान्तले नेपालको अग्रता अग्रता दोब्बर पारे। ६८औं मिनेटमा दोर्जेले भुटानका लागि गोल गरे पनि त्यो गोल खेलमा फर्कन पर्याप्त भएन। नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले स्वाभाविक खेल खेल्दा भुटानविरुद्ध सहज जित निस्किएको बताए।

‘भारतविरुद्धको हारले भुटान हामीसँग जित्नै पर्ने दबाबमा थियो, उनीहरूको दबाबको फाइदा हामीले उठाउन सफल भयौं,’ श्रेष्ठले भने ‘टोलीले आफ्नो रणनीतिअनुसारकै प्रदर्शन गर्‍यो। यद्यपि टोलीमा केही कमजोरी छ, जुन हामी आगामी खेलमा सुधार गर्दै थप उत्कृष्ट प्रदर्शन गर्छौं।

श्रेष्ठले आफूहरूको लक्ष्य समूहविजेता बन्ने रहेकाले भारतविरुद्ध जितका लागि खेल्ने बताए।

‘आजको जितले टोलीको मनोबल बढेको छ। साथै यो जितले हामीमाथि भारतविरुद्धको खेलमा दबाब हुनेछैन,’ उनले भने, ‘हामी च्याम्पियन बन्ने लक्ष्यसहित यहाँ आएका हौं। त्यसैले हामी समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्न चाहन्छौं।’ यता भुटानका प्रशिक्षक हिदिहिरू ताकासीले नेपालले निकै लोभलाग्दो प्रदर्शन गरेको बताए।

‘हामी जित्नैपर्ने दबाबमा थियौं,’ ताकासीले भने, ‘जसको फाइदा खेलको सुरुआतबाटै नेपालले लियो। पहिलो खेलमा भारतविरुद्ध मौसमका कारण स्वाभाविक खेल खेल्न सकेनौ र नतिजा सुम्पियौं। जसका कारण टोली आज जितको दबाबमा थियो। यद्यपि टोलीको प्रदर्शनबाट म सन्तुष्ट छु। युवा टोलीले आगामी दिनमा सुखद नतिजा दिनेमा विश्वस्त छु।’

प्रकाशित: २३ भाद्र २०७९ ००:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App