चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३–० ले पन्छ्याउँदै साविक विजेता भारतले नेपालमा मंगलबारबाट शुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ए को पहिलो खेलमा साविक विजेता भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो। शुरुवातबाट नै पाकिस्तानमाथि दबाब दिएर खेलेको भारतले पाकिस्तानविरुद्ध शुरुवाती अग्रता भने उपहार गोलबाट अग्रता लिएको थियो। खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १–० को अग्रता बनाएको थियो। पाकिस्तानका लागि डेब्यु खेलाडी कप्तान मारिया खानले रक्षापंक्तिमा रोक्ने क्रममा आफ्नै पोस्टमा गोल भएको थियो। त्यसको दुई मिनेटपछि ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० ले अगाडि बढाउन सफल भएकी थिइन्। त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गरेपछि भारतले ३–० को अग्रता लिनसक्यो। सोही नतिजा अन्तिमसम्म रहँदा भारतले जारी प्रतियोगितामा विजयी शुरुवात गरेको हो।
यस जितसँगै समूह ए को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ। पाकिस्तानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ। विजयी भारतले अब दोस्रो खेल शनिवार माल्दिभ्सबिरुद्ध खेल्ने छ भने सोही दिन पाकिस्तानले बंगलादेशको सामना गर्नेछ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन्। यस्तै समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ। समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल असोज ३ गते हुनेछ।
प्रकाशित: २२ भाद्र २०७९ ११:३३ बुधबार