१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपाललाई ट्वान्टी–२० शृंखला

 पूर्वकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले मंगलबार ३१ रनको जितसहित केन्याविरुद्धको पाँच ट्वान्टी–२० खेलको शृंखला ३–२ ले जितेको छ। 

यसअघि केन्याविरुद्धको दुई ट्वान्टी–२० भेटमा जित निकालेको नेपालले पहिलो पटक शृंखला खेलेको थियो। नेपालले यो भ्रमणलाई वरीयता सुधारको अवसरका रूपमा लिएको थियो।  

यस शृंखलाको पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल केन्याले जितेको थियो। तेस्रो खेलमा जित निकालेको नेपाल चौथो खेलमा पराजित भएपछि शृंखला २–२ को स्थितिमा पुगेको थियो। त्यसैले विजेताको टुङ्गो लगाउन पाँचौं खेल निर्णायक बनेको थियो।

नौरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन मात्र जोड्यो।

केन्याका लागि नेहमह ओडियाम्बोले सर्वाधिक ३७ रन जोड्दा कप्तान सिम एनगोचेले अविजित ३३, इरफान करिमले २८ र ओपनर कोलिन्स ओबुयाले २३ रन जोडे।

८ रन जोड्दा ओपनर सुखदीप सिंहलाई गुमाएको केन्याको इनिङ दोस्रो विकेटका लागि ओबुया र करिमले ४५ रनको साझेदारीका साथ अघि बढाएका थिए। करिमले २९ बलमा ३ चौका प्रहार गर्दा ओबुयाले ३० बलमा १ चौका प्रहार गरे। चौथो खेलमा अविजित ७६ रन जोडेका राकिब पटेल निर्णायक खेलमा भने चल्न सकेनन्।

त्यस्तै सचिनले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ओडिआम्बोले २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अन्तिम दुई ओभरमा कप्तान एनगोेचे र नेल्सन ओडिआम्बालेले ३१ रन जोडे पनि त्यो घरेलु टोली केन्यालाई शृंखला जित्नका लागि पर्याप्त भएन। एनगोचेले १८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा नेल्सनले ५ बलमा १ चौका र १ छक्काको मद्दतमा अविजित १८ रन जोडे।

नेपालका कप्तान सन्दीप लामिछाने र वासिर अहमदले समान २ तथा मोहम्मद आदिल, करण केसी र दीपेन्द्रसिह ऐरीले समान १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रनको सम्मानजनक योगफल खडा गरेको थियो।  

ओपनर ज्ञानेन्द मल्ल र अर्जुन साउदले पहिलो विकेटका लागि ८ ओभरमा ६५ रनको साझेदारी गरेसँगै नेपाललाई सुखद सुरुआत गराएका थिए। अर्जुनले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडेका थिए। ज्ञानेन्द्रले दोस्रो विकेटका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँग ४० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजक योगफलतर्फ डोेर्‍याएका थिए। दीपेन्द्रले १८ बलमा ३ चौकाको मद्दतमा २२ रनको योगदान गरेका थिए भने ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाएका थिए।

लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका ज्ञानेन्द्रले पहिलो खेलमा २३ र तेस्रो खेलमा ४६ रन जोडेका थिए। दोस्रो र चौथो खेलमा भने उनले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्। त्यस्तै रोहित पौडेलले २५ बलमा ७ चौका हान्दै ४७ रन जोडे।

केन्याका नेहमिया ओडिह्याम्बो, सिम एनगोचे र विराज पटेलले समान २ विकेट लिँदा लुकास ओलुचले १ विकेट लिए। नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ दी सिरिज भए। उनले शृंखलामा १२ विकेट लिएका थिए।

नेपालले केन्या भ्रमणमा तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका रहेको छ।

प्रकाशित: १५ भाद्र २०७९ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App