coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लिभरपुलले युनाइटेडलाई कम नआँक्ने

लगातार दुई हारपछि म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा पछिल्लो ३० वर्षमा पहिलो पटक अंकतालिकाको पुछारमा पुगेको छ। सोमबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा लिभरपुलको सामना गर्दा युनाइटेडको अवस्था थप खराब बन्न सक्छ।

त्यसो त लिभरपुलले पनि जारी सिजन लिगमा जितको स्वाद चाख्न बाँकी छ। पहिलो खेलमा फुलहमसँग अंक बाँडेको लिभरपुल दोस्रो खेलमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको थियो। त्यसैले लिभरपुल र युनाइटेड सिजनकै पहिलो जितको खोजीमा रहेकाले पनि यी परम्परागत चिर प्रतिद्वन्द्वीबीच खेलको नतिजाले विशेष अर्थ राख्नेमा दुबिधा छैन।

योर्गान क्लोपको टोलीले गत सिजन दोस्रो स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। म्यानचेस्टर सिटीले उपाधि रक्षा गर्दा लिभरपुल निराश बनेको थियो। साबिकको विजेता सिटीले दुई खेलमा शतप्रतिशत जित निकाल्दा लिभरपुलले भने दुई खेलमा चार अंक गुमाइसकेको छ।

प्यालेसविरुद्धको खेलमा रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका कारण डार्विन नुनेज युनाइटेडविरुद्धको खेलमा मैदानमा हुने छैनन्।

युनाइटेडले भने पहिलो खेलमा ब्राइटन र दोस्रो खेलमा ब्रेन्टफोर्डलाई नतिजा सुम्पिएको थियो। जसका कारण प्रशिक्षक इरिक टेन हागमाथि दबाब बढेको छ। समर्थकले पनि लगातारको खराब प्रदर्शनका कारण प्रशिक्षक र क्लब व्यवस्थापनको चर्को आलोचना गरिरहेका छन्।

गत सिजनको दुई भेटमा लिभरपुलले युनाइटेडमाथि ५-० र ४-० को जित निकालेको थियो। युनाइटेड सो हारको बदला लिदै सिजनको पहिलो जित दर्ता गर्ने लक्ष्यमा रहेको छ। लिभरपुलका प्रशिक्षक क्लोपले भने युनाइटेड खराब लयबाट गुज्रिरहे पनि आफूहरूले उनीहरूलाई कमजोर रूपमा नलिने बताए।

‘गत सिजन हामीले दुवै भेटमा युनाइटेडमाथि फराकिलो जित निकालेका थियौं। तर अहिले त्यो नतिजाको कुनै अर्थ रहन्न,’ क्लोपले भने, ‘युनाइटेड कमजोर प्रतिद्वन्द्वी पक्कै होइन। युनाइटेड सिजनको पहिलो जितको लक्ष्यमा रहेकाले पनि हामीविरुद्ध उत्कृष्ट प्रदर्शनको तयारीमा छ।

त्यसैले उनीहरूविरुद्धको खेल हाम्रा लागि महत्त्वपूर्ण छ। हामीले पनि यस सिजन जित निकाल्न सकेका छैनौं। हामीलाई पनि युनाइटेडविरुद्धको तीन अंक विशेष रहन्छ।’

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा प्रिमियर लिगको पछिल्लो १२ खेलमा मात्र एक जित निकालेको छ। लिभरपुल भने ओल्ड ट्राफोर्डमा लगातार चौथो जितको लक्ष्यमा हुनेछ।

प्रकाशित: ४ भाद्र २०७९ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App