२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः भदौ २० भित्र प्रदेश छनोट गरिसक्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी खेलकुद परिषदले ७ गतेदेखि १२ गतेभित्रमा जिल्ला छनोट गरिसक्न निर्देशन गरेको छ। जिल्ला छनोट भएका खेलाडीलाई परिषद्ले १५ गतेदेखि १९ गतेभित्रमा छनोट गर्नेछ। केही खेललाई परिषद्ले विशेष प्रशिक्षणमा राखेपछि प्रदेश छनोट गर्ने टुंग्याउने छ।  

जिल्ला छनोटको लागि जिल्ला खेलकुद मार्फत विभिन्न संघहरुलाई खेलाडी फर्म दर्ताको लागि पठाईसकिएको छ। दर्ता भएको फर्मकै आधारमा खेलाडीहरु जिल्ला छनोटमा सहभागिता जनाउन पाउने छन्। परिषद्ले सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्वीमिङ, ट्रायथोलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ जस्ता खेलको प्रदेशले विशेष प्रशिक्षणपछि छनोट गरेर टुग्याउने छ।  

‘१६ खेलका खेलाडीहरु संघमार्फत जिल्लाले प्रदेशमा नामावली पठाउने छ,’ परिषद्का सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले भने, ‘नामावली आईसकेपछि ती खेलका खेलाडीलाई २० दिने विशेष प्रशिक्षणको व्यवस्था परिषद्ले गर्नेछ। विशेष प्रशिक्षणपछि प्रदेश छनोट गरिनेछ। प्रदेश छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिनेछ।’ परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन हुनेछन्।  

जिल्लाबाट छनोट भएका आएका खेलाडीहरुलाई प्रदेश छनोट प्रतिस्पर्धा मार्फत छनोट गरिने छ। क्षत्रीका अनुसार १५ गतेदेखि १९ गतेसम्म प्रदेश छनोट गरिने छ। यद्यपी केही खेलहरुको २० दिनको विशेष प्रशिक्षणपछि छनोट गरेर अन्तिम नामावलीसहित राष्ट्रिय खेलकुद परिषद्मा पठाईने छ। भदौ १५ गते भव्य कार्यक्रमकाबीच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रुपमा ‘व्राण्डिङ’ गरी अघि बढाइने परिषद्ले तयारी थालेको छ।

परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पश्चात कार्यतालिका सार्वजनिक गरेको हो। गण्डकी प्रदेशबाट ३८ खेलमा ७ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गतेसम्म आवाशिय सुविधासहित बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको परिषद्ले जनाएको छ। आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद पोखरामा ३९ वर्षपछि हुँदैछ। प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिव ८ हजार खेलाडी गण्डकी प्रदेशमा आउने छन्।

प्रकाशित: १ भाद्र २०७९ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App