१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रभाकरको प्राथमिकता ब्याटिङ सुधार

नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले क्रिकेट खेलाडीले अपनाउँदै गरेको ब्याटिङ शैली गलत भएको भन्दै आफ्नो प्रशिक्षणमा पहिलो प्राथमिकता ब्याटिङ सुधार रहेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरले पहिलो दिन आइतबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरूमा कमजोरी भेटाएको भन्दै सुधार गर्ने बताएका हुन्। उनले अधिकांश खेलाडीले ब्याटिङ गर्ने क्रममा प्रयोग गर्ने गरेको टेक्निक गलत भएको र सुधारका लागि पहिलो प्राथमिकता दिने बताए।

‘पहिलो दिन मैले खेलाडीसँग अनुभव साटेँ। सबै खेलाडीलाई ब्याटिङ गर्न लगाएँ। नेपाली खेलाडीले आइपिएलको सिको गरिरहेको छन्। उनीहरू हार्ड हिटिङ गर्न खोज्छन्। खेलाडीमा टेक्निक छैन,’ प्रशिक्षक प्रभाकरले भने, ‘एकदिवसीय र टेस्ट खेल टेक्निक खेल हो। यस्ता खेलमा टेक्निक निकै आवश्यक हुन्छ। विश्व क्रिकेट लिगमा नेपाली टोलीले २० खेल खेलिसकेको छ। जसमा ११ खेल गुमाएको नेपाली टोलीका लागि अब १६ खेल बाँकी छन्। अब धेरैभन्दा धेरै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा हामी हुनेछौं।’

नेपाली टोली धेरैजसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरण छन्। तर पछिल्लो समय टोलीभित्र नै विवाद भइरकेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई टोली एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने चुनौती छ। खेलाडीबीच गुटउपगुट पनि टोलीको अर्को समस्या रहेको छ। यस्तो अवस्थामा टोलीलाई कसरी अगाडि बढाउनुहुन्छ भन्ने प्रश्नमा प्रशिक्षक प्रभाकारले कुनै पनि परिवारभित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने र परिवारभित्रको पीडा सबैको पीडा हुने बताए।

‘अब हामी एक परिवार भएका छौं। परिवारमा समूह भएको अवस्थामा परिवारलाई सफलता मिल्दैन। कुनै पनि एक खेलाडीको पीडा सबैको साझा पीडा हो। यस्तै समस्या सबै जसो देशमा हुने गर्दछ। यसलाई कसरी समाधान गर्ने विषय बढी प्राथमिकतामा हुन्छ,’ प्रशिक्षक प्रभाकरले थपे, ‘कुनै पनि व्यक्तिमा समस्या देखियो भने उसलाई जिम्मेवारी दिनुपर्छ। खेल जिताउन उसैलाई जिम्मेवारी दिएर दबाब दिए समस्या आफैं समाधान हुन्छ।’

अहिलेको अवस्थामा नेपाली टोलीभित्र युवा खेलाडीको बाहुल्य छ। खेलाडीको औसत आयु २२ वर्ष भएको भन्दै उनीहरूका लागि सिकाइ महत्त्वपूर्ण हुने प्रशिक्षको बुझाइ छ। यस्तै उमेर समूहले छिटो सिक्ने र प्रदर्शन पनि छिट्टै देखाउने विश्वास प्रशिक्षक प्रभाकर व्यक्त गरे। प्रशिक्षक प्रभाकर पुबुदु दासानायकेको राजीनामापछि नेपाल आएका हुन्। नेपाली टोली सम्हाल्न आएका प्रभाकरले केन्यामा हुन लागेको पाँच ट्वान्टी-२० र तीन एकदिवसीय शृंखलाका लागि नेपाली टोली त्यसतर्फ लैजाँदै छन्।

प्रकाशित: ३० श्रावण २०७९ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App