७ वैशाख २०८१ शुक्रबार
खेल

उत्कृष्ट प्रशिक्षकको बहस

लाम्पार्ड की जेरार्ड ?

स्टेभिन जरार्ड र फ्रयान्क लाम्पार्ड सक्रिय खेलजीवनमा रहँदा नै यी दुई खेलाडीमध्ये को उत्कृष्ट मिडफिल्डर हुन् भन्ने बहस नचलेको होइन।  

अहिले भने जेरार्ड र लाम्पार्डबीच को उत्कृष्ट प्रशिक्षक हुन् भन्ने बहस पनि सुरु भएको छ। शनिबार इङ्लिस प्रिमियर लिगमा जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लाम्पार्डको एभर्टनलाई आतिथ्यता गर्नेछ। जेरार्ड र लाम्पार्ड दुवैले पहिलोपटक प्रि–सिजनबाटै प्रिमियर लिग टोलीको प्रशिक्षण सम्हालेका हुन्। स्कटल्यान्डमा रेन्जर्सको प्रशिक्षण सम्हाल्दा आफूलाई सफल प्रशिक्षकका रूपमा उभ्याएका जेरार्ड गत नोभेम्बरमा डिन स्मिथ बर्खास्तमा परेपछि भिल्लाको प्रशिक्षकका रूपमा भित्रिएका थिए।

भिल्लाको प्रशिक्षणको सुरुआती खेल पनि उनका लागि निकै सुखद रह्यो। उनको प्रशिक्षणमा भिल्लाले प्रिमियर लिगको सुरुआती ६ मध्ये चार खेल जितेको थियो। तर, सिजनको अन्त्यमा भने भिल्लाले लय गुमाउँदै गयो। प्रिमियर लिगको अन्तिम १० खेलमा भिल्लाले मात्र दुई खेल जित्दा पाँच खेल गुमाउन पुग्यो। तीन खेलमा भने भिल्लाले अंक बाँड्यो। भिल्लाले १४औं स्थानमा बस्दै सिजनको अन्त्य गर्‍यो र सहजै रेलिगेसनको संघार टार्‍यो पनि।

तर, भिल्लाले शीर्ष १० मा अटाउने लक्ष्य भने पूरा गर्न सकेन। भिल्लाका लागि गत सिजनको अन्त्य भने खराब रह्यो। चेल्सीका पूर्व स्ट्राइकर क्रिस सुटोनले भने ‘जेरार्डले प्रशिक्षण सम्हालेपछि जनवरी सरुवा बजारमा भिल्लाले राम्रो रकम खर्चिएको थियो। तर लगानीअनुसारको प्रतिफल भने आएन। त्यसैले यस सिजन जेरार्डमाथि दबाब छ।’ यता लाम्पार्ड भने जनवरीको अन्त्यमा एभर्टनको प्रशिक्षकमा नियुक्त भएका हुन्।

उनको टोली रेलिगेसन जोगाउनमा संघर्षरत देखिएको थियो। एभर्टनले सिजनको अन्तिम ९ खेलमा मात्र चार खेल जित्यो। एभर्टनले म्यानचेस्टर युनाइटेड, चेल्सी र क्रिस्टल प्यालेसलाई हराउँदै रेलिगेसनको संकट टारेको थियो। चेल्सीको प्रशिक्षक रहँदा लाम्पार्ड टोलीको योजनाअनुसारको नतिजा दिन भने असफल रहे। चेल्सी आउनुअघि उनले च्याम्पियनसिप टोली डर्बी काउन्टीको प्रशिक्षण सम्हालेका थिए।

२०१८–१९ सिजन छैटौं स्थानमा रहेको काउन्टी प्लेअफमा भिल्लासँग निराश भएको थियो। ‘लाम्पार्ड र जेरार्डका लागि प्रशिक्षण जीवन निर्धारण गर्नका लागि यो निर्णायक सिजन हुनसक्छ,’एभर्टनका पूर्वविंगर प्याट नेभिनले भने, ‘एभर्टनको प्रशिक्षण सम्हाल्न सधै कठिन हुने गरेको छ। जतिसुकै राम्रो प्रशिक्षक भए पनि उसको भविष्य टोलीले ल्याउने नतिजाले निर्धारण गर्ने हो।’ जेरार्डले भिल्लाको प्रशिक्षण सम्हालेलगत्तै लिभरपुलका पूर्वटोली सहयात्री फिलिपे कौटिन्होलाई बार्सिलोनाबाट लोनमा ल्याएका थिए।

यस सिजनका लागि भने भिल्लाले सो सम्झौता स्थायी बनाइसकेको छ। गत सिजन भिल्लाका लागि चार गोल र तीन असिस्ट गरेका कौटिन्हो यस सिजन पनि टोलीका लागि महत्वपूर्ण खेलाडी हुनेमा दुबिधा छैन। त्यस्तै भिल्लाले फ्रान्सका मिडफिल्डर बोवाकर कामारालाई मार्सेलीबाट र डिएगो कार्लोसलाई सेभियाबाट अनुबन्ध गरेको थियो। गत सिजन रेलिगेसन संकट टारेका लाम्पार्डले रक्षापंक्ति सुधार गर्ने रणनीती लिएका छन्।

एभर्टनले बर्नलीका रक्षक जेम्स तार्कोवस्की र उल्भरहमटनका कोनर कोडेलाई भित्राएको छ भने स्पोर्टिङ लिस्बनबाट रुबेनलाई पनि लोनमा अनुबन्ध गरेको छ। त्यस्तै स्ट्राइकर डिवेट म्याकनिल र मिडफिल्डर अमाडोउ ओनानालाई पनि एभर्टनले अनुबन्ध गरिसकेको छ। दुवै टोलीका लागि नयाँ सिजन (२०२२–२२) को सुरुआत सुुखद हुन सकेन। एभर्टनले चेल्सीलाई नतिजा सुम्पिँदा भिल्लाले नवप्रवेशी टोली बर्नामाउथलाई नतिजा सुम्पिएको थियो।

प्रकाशित: २८ श्रावण २०७९ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App