१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्याराग्लाइडिङः बिस्थापितको त्रासमा पदकधारी खेल

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान। फाइल तस्बिरः नागरिक

आगामि असोज अन्तिम साता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताका धेरैजसो खेल पोखरामै हुँदैछन् राष्ट्रिय खेलकुद प्रतियोगिताका तिनै खेलमध्येको एउटा विधा हो–प्याराग्लाइडिङ, जुन, पोखराबाटै सधैंका लागि बिस्थापितको त्रासमा छ।  

यहाँ बनेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको आकाशमा झन्डै अढाईदशकदेखि भईरहेको प्याराग्लाइडिङको व्यवसायिक उडान अनिश्चित भईरहँदा खेलकुदको क्षेत्रमा भने यही प्याराग्लाइडिङले दिलाएको पहिचान भिन्दै छ। त्यसैले केहीगरि पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान बिस्थापित भएमा त्यसले पर्यटनमा मात्र नभई खेल क्षेत्रमा कमाएको ख्यातीमा पनि प्रभाव पार्ने चिन्ता खेलकर्मीको छ।  

साहसिक पर्यटनमा अब्बल प्रडक्ट मानिएको प्याराग्लाइडिङले पर्यटनमा मात्र लाभ नदिइ खेलकुदमा पनि उत्तिकै पहिचान दिलाएको छ। त्यसको बलियो उदाहरण हो–सन् २०१८ मा इन्डोनेशियामा भएको १८ आंंै एशियन गेममा नेपालले प्याराग्लाइडिङमा पहिलो सहभागितामै क्रसकन्ट्रि (टीम इभेन्ट)मा रजत पदक जितेर नाम उँचो बनाउन सफल भएको थियो। अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा नाम कमाएको त्यही प्याराग्लाइडिङ अब के हुने भनेर अन्योलमा भईरहँदा आन्तरिक प्रतिश्पर्धाको रुपमा रहेको नवौं राष्ट्रिय खेलुकदको तयारीमा जुटेको छ।

राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङका विभिन्न चारवटा बिधामा महिला र पुरुष टिम प्रतिश्पर्धामा उत्रनेछन्। एक्यूरेसी व्यक्तिगत (महिला र पुरुष), एक्यूरेसी टिम (महिला २ र पुरुष ५ जना), क्रसकन्ट्री व्यक्तिगत (महिला र पुरुष) तथा क्रसकन्ट्री टिम (महिला ३ र पुरुष ५ जना) का विधा रहने रावतले बताए। जम्मा चारवटा विधामा महिला र पुरुष गरेर ८ स्वर्ण, ८ रजत र ८ काँश्य पदका लागि प्रतिश्पर्धा हुने उनले बताए।  

‘प्याराग्लाइडिङ पोखराकै आकाशमा रहिरहनुपर्छ भन्ने हामी सबैको माग छ। तर, केही गरि पोखराबाट बिस्थापित हुनुपरेमा त्यसले पर्यटनमा मात्र नभई खेलक्षेत्रमा पनि असर गर्नेछ,’ रावतले भने, ‘खेलकुदको क्षेत्रमा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उकास्न प्याराग्ग्लाइडिङको भूमिका रहेको छ। खेलकुदका फरक विधामा ठुलो रकम राज्यले खर्चदा प्याराग्लाइडिङका खेलाडीले राज्यको कम लगानीमा नाम कमाउन सफल भएका थिए। खेलाडीको व्यक्तिगत अभ्यासले पदक दिलाउन सघाएको थियो। अब बिस्थापित भएमा त्यो अवस्था नआउन सक्छ।’

केहीगरि पोखराको आकाशबाट बाहिरिनुपरेमा त्यसले पर्यटनमा नोक्सान गर्ने बाहेक खेलक्षेत्रमा पनि उत्तिकै असर पार्ने उनले बताए। ‘खेलकुदका ठुला प्रतियोगिता गर्दा हालको प्याराग्लाइडिङ उडान क्षेत्र (सराङकोट) मा ‘नोटाम’ जारि गरेरै प्रतिश्पर्धा गराउन त मिल्छ। तर, सधैं र नियमित रुपमा पोखराको आकाशमा अभ्यास गर्न नपाउँदाको असर भने पदकमा पर्छ,’ उनले भने, ‘पोखराबाट प्याराग्लाइडिङ बाहिरिँदाको असर खेलक्षेत्रमा पर्नेमा कुनै द्विविधा रहन्न।’ केहीगरि पोखराको आकाशबाट प्याराग्लाइडिङ बिस्थापित भएमा त्यसले खेलक्षेत्रको पहिचान पनि गुमाउने सम्भावना रहने उनले बताए।  

‘नेपालको प्याराग्लाइडिङ खेलमा क्रसकन्ट्रीमा विषेश दख्खल राख्छ क्रसकन्ट्रीका लागि पोखराको आकाश अब्बल मानिन्छ,’ उनले भने, ‘अन्यत्रको आकाशमा उड्नु खेलकुदका लागि मात्र नहुन पनि सक्छ। पोखराबाट बाहिरिएर उड्नु सधैं खेल क्षेत्रका लागि अभ्यास नहुन सक्छ। अहिले घरपायकको उपयुक्त आकाशमा उडिरहँदा पोखरा बाहिरको उडान खेलक्षेत्रका लागि बाध्यकारी नहुने उनले बताए ‘फुर्सदमा पाइलटले खेलको अभ्यास गर्दथे। आफ्नै आकाशमा उड्न पाउँदा उनीहरुलाई पहुँचको समस्या थिएन। तर, पोखरा छाड्नु पर्दा नियमित अभ्यास नहुनसक्छ,’ उनले भने, ‘नियमित अभ्यास गर्न नपाए पदकमै असर पर्न सक्छ । उड्नु मात्र ठुलो कुरा होईन।’  

रावतका अनुसार नवौं राष्ट्रिय खेलकुदमा कम्तिमा सातवटा टीमबीच प्रतिश्पर्धा हुनेछ। यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि प्याराग्लाइडिङको सहभागिता थियो। आठौं प्रतियोगितामा प्रदेश १, बागमति, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका छन्। त्यस्तै विभागीय टिम आर्मीले पनि प्रतियोगितामा सहभागिता जनाएको थियो। तर, यो पटक नवौंमा प्रदेश–१, बागमति, गण्डकी, कर्णाली, सुदूरपश्चिम सहित नेपाली सेना र एनआरएनले पनि सहभागिता जनाउने रावतले जानकारी दिए।  

‘अहिलेसम्म सातवटा टिम सहभागि हुने निश्चितजस्तै छ। तर, महिलामा सबै टिम सहभागि नहुन पनि सक्छन। तर, पुरुषतर्फ भने सातवटै टिम पक्का भईसकेको छ,’ उनले भने, ‘सकेसम्म सहभागिता बढाउने प्रयास भईरहेको छ।’ उनले प्रतियोगिताको तयारी स्वरुप खेलाडीका लागि चाहिने आवश्यक सामाग्री खेलकुद परिषद्सँग माग गरेको बताए । ‘गण्डकी खेलकुद परिषद्ले खेलाडी छनोट गर्नेछ,’ उनले भने।  

प्याराग्लाइडिङ पाइलट संघका अध्यक्ष बिमल पहारीका अनुसार प्याराग्लाइडिङले सुरुवात खेलकुदकै रुपमा भएको थियो। तर, पछि यसलाई व्यवसायिक रुप दिइएको हो। ‘प्याराग्लाइडिङ नेपालको सान जोगाउने खेल क्षेत्र हो भनेर कसैले बुुझन सकेनन। प्यराग्लाइडिङलाई सरकारले लगानी गरेन, बरु समस्या मात्र थपिदियो,’ पहारीले भने, ‘खेलकुदका अरु क्षेत्रमा राज्यको ठुलो लगानी गर्दागर्दा पदकविहीन भएको अवस्थामा सरकारी न्यून सहयोगमा प्याराग्लाइडिङले पदक हात पारेर सान जोगाएको हो। तर, यो कुरा राज्यले अहिले बिर्सेको छ।’  

पहारीले प्यपाराग्लाइडिङ व्यवसायिक मात्र नभइ खेल क्षेत्र पनि भएको बताए। उनले यसको महत्व राज्यले नबुुझेको गुनासो सुनाए। ‘पोखराको आकाशबाट बिस्थापित हुनु भनेको राष्ट्रलाई खेलमा पनि असर पर्नु हो। किनकी खेलको महत्व कसैले बुुझेका छैनन। पोखराबाट बाहिरिनु परेमा कोहि पनि खेलाडी अभ्यासका लागि डेरा लिएर बस्ने छैनन,’ उनले भने, ‘आफै उडानको क्रममा सिकेकै भरमा पदक œित्रयाएको यो खेल सधैंका लागि बिस्थापित हुनेछ।’ आकाशमा उड्ने क्रममा सिक्दै गरेको अभ्यासले मुलुकका लागि प्याराग्लाइडिङ खेलले पदक दिलाएको उनले बताए।  

‘विदेशीसँग उडानको क्रममा सिकेका कुराले हामीलाई खेलक्षेत्रमा अब्बल बनाएको हो। तर, पोखराबाट बाहिरिनुपरे सम्भव नहुन सक्छ। प्याराग्लाइडिङका विज्ञ, खेलाडी र पाइलट हामी आफै उड्ने क्रममा बनेका हौ,’ उनले भने, ‘मुलुकका लागि नाम राखेर पहिचान फराकिलो बनाएको खेल हो। तर, यसलाई व्यवस्थित नगरि बिस्थापित गर्न खोजिएको  ।’  

अभ्यास गर्ने ठाउँ नै नपाएमा प्रतियोगिताका भरमा पोखरा वा सिंगो मुलुकको सहभागिता बलियो हुन नसक्ने उनले बताए। ‘प्रतिश्पर्धा गर्न मात्र ठाउँ दिएर हुँदैन, नियमित अभ्यासका लागि पनि आकाश दिनुपर्छ,’ उनले भने। पोखराको सराङकोटको आकाशमा अहिलेसम्म सन् २०१६ मा प्याराग्लाइडिङकै प्रि वल्र्डकप, २०१८ मा एक्यूरेसी वल्र्डकप भईसकेको छ। त्यस्तै सन् २०२० मा पनि प्रि वल्र्डकप भएको थियो।  

प्रकाशित: २२ श्रावण २०७९ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App