१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुरु भयो विश्वकै सर्वाधिक महँगो लिग

लन्डन डर्बीमा आर्सनलले क्रिस्टल प्यालेसको भ्रमण गरेसँगै विश्वकै सर्वाधिक महँगो लिगको रूपमा रहेको इङ्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारबाट सुरु भइसकेको छ।

खेलाडीले प्राप्त गर्ने सुविधा र सरुवा बजारमा इङ्लिस क्लबको रबाफका अघि युरोपकै अन्य शीर्ष लिगले समेत प्रतिस्पर्धा गर्ने स्थिति छैन। साबिक विजेता म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि एर्लिङ हाल्यान्डलाई जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट भित्र्याइसकेको छ। हाल्यान्डका लागि सिटीले एक सय ११ मिलियन डलर खर्चिएको थियो।

हाल्यान्डका बुबाले सिटीबाट खेल्दा उनी यस क्लबका समर्थक थिए। अब भने उनी सिटीको प्रमुख खेलाडी हुने तयारीमा छन्।

पछिल्लो १० सिजनमा पाँच भिन्न क्लबले प्रिमियर लिगको उपाधि जितेका छन्। सन् २०१६ मा लेस्टर सिटीले अप्रत्याशित रूपमा प्रिमियर लिगको उपाधि जितेको थियो। पछिल्लो पाँच सिजनमा सिटीले चार पटक प्रिमियर लिगको उपाधि जितेको छ। दुई पटक भने सिटीले लिभरपुलको मुखबाट उपाधि खोसेको थियो।

च्याम्पियन्स लिगको पछिल्ला चार सिजनमा चारै पटक प्रिमियर लिगको क्बल प्रवेश गर्नुले पनि प्रिमियर लिगको रौनक दर्साउँछ। लिभरपुल मात्र पछिल्लो पाँच सिजनमा तीन पटक फाइनल प्रवेश गरेको छ। लिभरपुलले एक पटक भने प्रिमियर लिगको उपाधि जितेको थियो। गत सिजनझै यस सिजनका लागि पनि प्रिमियर लिगको शीर्ष चारमा बस्दै सिटी, लिभरपुल, चेल्सी र टोटनह्यामले च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

शीर्ष चारमा स्थान बनाउन नसकेका कारण आर्सनल र म्यानचेस्टर युनाइटेड भने युरोपा लिग खेल्न बाध्य भएका छन्। प्रिमियर लिगले प्रसारण अधिकारबाट मात्र गत सिजन ३.७ बिलियन डलर आम्दानी भएको थियो भने स्पेनिस ला लिगाले प्रसारण अधिकारबाट २.४ बिलियन डलर आम्दानी गरेको थियो।

गत सिजन प्रिमियर लिगको हैसियत गुमाएको नर्विच सिटीले १ सय १९ मिलियन डलर आम्दानी गरेको थियो। जुन युरोपका धेरै क्लबहरूको वार्षिक बजेटभन्दा बढी हो।

स्पेनिस ला लिगा

स्पेनिस ला लिगाले पनि पछिल्लो सिजनयता निरन्तर पुरस्कार रकम बढाइरहेको छ। ला लिगाको उपाधिमा रियाल मड्रिड, बार्सिलोना र एट्लेटिकोले राज गर्दै आएका छन्। सन् २००४ मा भ्यालेन्सियाले ला लिगाको उपाधि जितेको थियो। बाँकी संस्करणमा भने यी तीन क्लबको दबदबा रहँदै आएको छ।

बार्सिलोना आर्थिक संकटबाट माथि उठ्ने प्रयासमा छ। बार्सिलोनाले फ्य्रांकी डी जोङलाई क्याम्प नोउमै बस्नका लागि पाउँदै आएको तलबसुविधामा कटौतीको प्रस्तावमा सहमत हुन आग्रह गरेको थियो। यद्यपि बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई क्याम्प नोउ भित्र्याएसँगै बार्सिलोनाले आफू आर्थिक संकटबाट माथि उठिसकेको प्रमाणित गर्ने प्रयास गरेको छ।

जर्मन बुन्डेसलिगा

जर्मन बुन्डेसलिगामा यस पटक पनि महारथी बायर्न म्युनिखको दबदबा कायम रहनेमा दुबिधा छैन। पछिल्लो केही सिजन लगातार बायर्नका लागि उच्च गोलकर्ता रहेका पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की स्पेनिस ला लिगाको क्लब बार्सिलोना गएका छन् भने बोरुसिया डर्टमन्डका एर्लिङ हाल्यान्ड इङ्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटी गएका छन्। बायर्नले भने युभेन्ट्सका रक्षक माटियास डी लिज्ट र सेनेगलका स्ट्राइकर साडियो मानेलाई लिभरपुलबाट भित्र्याएको थियो।

इटालियन सिरी ‘ए’

इटालीले सन् १९९० को विश्वकप आयोजनापछि इटालियन सिरी ‘ए’ विश्वकै सर्वाधिक महँगो लिगका रूपमा अघि आएको थियो। सन् १९९२ मा इङ्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग सुरु भएपछि मात्र सिरी ‘ए’ को रौनक घट्दै गएको थियो। इटालीका स्टार खेलाडी चेल्सी र मिडल्सब्रोमा अनुबन्धित हुन थाले। युभेन्ट्सले सन् २०११ मा आफ्नो रंगशाला सञ्चालनमा ल्यायो। त्यसयता युभेन्ट्सले लगातार नौ पटक सिरी ‘ए’ को उपाधि जित्यो। पछिल्लो दुई सिजन भने इन्टर मिलान र एसी मिलानले उपाधि जित्दा युभेन्ट्स भने शीर्ष चारका लागि संघर्षरत देखिएको थियो।

फ्रेन्च लिग वान

फ्रेन्च लिग वानमा भने लगातार कतारी मालिकको स्वामित्वमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) को एकछत्र राज रहँँदै आएको छ। लियोनल मेसी, नेइमार, किलियन एम्बाप्पे र सर्जियो रामोसजस्ता खेलाडीको उपस्थितिले पिएसजीले यस सिजन पनि लिग उपाधिको रक्षा गर्ने प्रबल सम्भावना छ। साथै पिएसजी आफ्नो महत्त्वाकांक्षी योजनामा रहेको च्याम्पियन्स लिग विजेताको ताज पहिरिन चाहन्छ। सन् २००८ र २०१० पछि लिग वानको उपाधि जित्न नसकेका लियोन र मार्सेलीमा भने अमेरिकी लगानी रहँदै आएको छ।

प्रकाशित: २१ श्रावण २०७९ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App