२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘उत्कृष्ट प्रदर्शनमा पनि खुसी भइनँ’

हरेक खेलाडीका लक्ष्य हुन्छ, जीवनकै सबैभन्दा ठूलो सफलता प्राप्त गर्ने। ती सफलता प्राप्त गर्दा कुनचाहिँ खेलाडीले गर्विलो महसुस नगर्ला र? अझ भनौं खुसीको त सीमा नै हुँदैन। तर, कसैका लागि भने यो अपवाद भइदिन्छ। स्पष्ट भन्नुपर्दा खेलाडीलाई खेल करियरकै ठूलो सफलता त मिल्छ। यद्यपि, मनमा खुसी भने रत्तिभर पनि हुँदैन।

यस्तै अवस्था गत जुन २४ मा नेपाली महिला क्रिकेट टोलीकी सदस्य अस्मिना कर्माचार्यले भोगिन्। ‘राष्ट्रिय टोलीमा मेरो यात्रा भर्खरै सुरु भएको हो। यसबीच मेरा अनुभव मिश्रित छन्। मैले राम्रो प्रदर्शन त गरें। तर, टोलीका लागि जे सपना देखेको थिएँ, त्यो पूरा हुन सकेन। त्यसैले आफ्नो व्यक्तिगत प्रदर्शनमा खुसी हुन सकिनँ,’ अस्मिना भन्छिन्। उनको भनाइलाई प्रस्ट्याउन अलि पछाडि फर्कनुपर्दछ। नेपाली महिला क्रिकेटर त्यो दिन अविस्मरणीय बनाउने संघारमा थिए।

नेपाल एसिया कप खेल्ने आशासहित एसिसी महिला ट्वान्टी–२० च्याम्पियनसिपको सेमिफाइनल खेल्दै थियो। जहाँ नेपालको चुनौती थियो, संयुक्त अरब इमिरेट्स (युएई)। एक जितले नेपाललाई पहिलोपटक हुन गइरहेको महिला एसिया कप क्रिकेटको यात्रा तय गराउँदथ्यो। हारले एक पटक फेरि असफल महिला क्रिकेटको दाग सहनुपथ्र्यो। किनकि नेपालको महिला टोलीले एउटा पनि मुख्य प्रतियोगिता खेलेको थिएन। न त नेपालले कुनै प्रतियोगिताको उपाधि नै जितेको थियो। त्यस कारण पनि त्यो दिन नेपाली महिला क्रिकेट टोली ऐतिहासिक नतिजाको पर्खाइमा थियो।  

स्वाभाविक रूपमा अस्मिना पनि त्यस दिनको साक्षी बन्न चाहन्थिन्। केही महिनाअगाडि मात्र घरेलु भूमिमा सम्पन्न शृंखलामार्फत डेब्यु गरेकी थिइन्, उनले। त्यसैले नेपाली टोलीका प्रशिक्षक जगत टमाटाको नजरमा उनी नियमित खेलाउने सदस्य थिइनन्। नेपाली टोलीमा तीव्र गतिका दुई अनुभवी बलर कविता कुँवर र सबनम राई थिए। कविताले नियमित खेल्दै आइरहेकी थिइन्। तर, त्यो दिन प्रशिक्षक टमाटाले सबनमको स्थानमा अस्मिनालाई अवसर दिए। अन्तर्राष्ट्रिय अनुभवविहीन अस्मिनाले पनि एसिसी महिला ट्वान्टी–२० (एसिया कप छनोट) मा आफ्नो प्रभाव राख्दै आइरहेकी थिइन्।

त्यस च्याम्पियनसिपमा आफूले खेलेका सबै खेलमा उनले विकेट लिइरहेकी थिइन्। साथै उनको बलिङ पनि किफायती थियो। त्यसैले स्वाभाविक रूपमा युएईविरुद्ध उनले अवसर पाइन्। महिला क्रिकेटमा युएईको इतिहास खासै राम्रो थिएन। तर, पछिल्लो समय युएईसँग भने नेपाल हारेको थियो। नेपाललाई भने यस पटक जसरी पनि जित्नु थियो। किनकि महिला क्रिकेटमा नेपालको इतिहास सुखद थिएन। लामो समयदेखि उपाधिविहीन नेपाल दबाबमा थियो। युएईविरुद्धको जितले नेपाली महिला क्रिकेटको सपना पूरा हुने थियो। उक्त खेलमा नेपालले टस जित्यो र युएईलाई ब्याटिङका लागि बोलायो। सुरुदेखि नै नेपाली बलरले धैर्यपूर्वक बलिङ पनि गरे। त्यसमा पनि अस्मिनाको प्रदर्शन फरक रह्यो। उनले चौथो र छैटौं ओभरमा युएईका शीर्ष दुई ब्याटर तीर्था सतीश र ईशा ओजालाई बोल्ड गरिदिइन्। यी दुवै ब्याटर उत्कृष्ट लयमा थिए। ईशाले अघिल्लो खेलमा कतारविरुद्ध १ सय १५ रनको शतक नै हिर्काएकी थिइन्। यता सतीशको नाममा पनि अघिल्ला दुई खेलमा लगातार दुई अर्धशतक थिए। त्यसैले यी दुईको विकेट नेपालका लागि महत्वपूर्ण थियो। नेपाली बलर पनि खेलमा हाबी हुँदै गए र युएईलाई ठूलो योगफल बनाउन रोके।

अस्मिनाले पुछारका तीन विकेट नै लिँदा युएई एक बलअगावै ८१ रनमा समेटियो। ३.५ ओभर बलिङ गरेकी अस्मिनाले पाँच विकेट लिँदा १० रन मात्र खर्चिइन् र यो उनको करियरकै सबैभन्दा ठूलो सफलता थियो। तथापि, उनी ऐतिहासिक नतिजाको पर्खाइमा थिइन्। त्यो हो, नेपाललाई एसिया कपमा सहभागी गराउने। इनिङ सकिएपछि सबै पवेलियनतिर फर्किए। अब लक्ष्य भेटाउने योजनासहित आफ्नो इनिङको पर्खाइमा थिए, नेपाली खेलाडी। तर, त्यो पर्खाइ पर्खाइमा नै सीमित रह्यो।  

‘त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ। सुखद दिनको खोजीमा धेरै वर्ष बिताइसकेका थियौं। पहिलो इनिङ सकिएपछि आजचाहिँ लामो समयदेखिको प्रतीक्षा र सपना पूरा हुन्छ है भनेर हामी भित्र गएका थियौं। हामी तयार भएर बाहिर निक्लिँदा पानी परिरहेको देख्यौं। कुन समय पानी पर्‍यो हामीले थाहा नै पाएनौं,’ अस्मिनाले भनिन्, ‘त्यो पानीले हाम्रा सपनाहरू बगाइदियो।’ वर्षाका कारण खेल हुन सकेन। रिजर्भ डे पनि नभएकाले आयोजकले समूहचरणको विजेताको हैसियतमा युएई फाइनलमा पुगेको निर्णय दियो।  

‘त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ। सुखद दिनको खोजीमा धेरै वर्ष बिताइसकेका थियौं। पहिलो इनिङ सकिएपछि आजचाहिँ लामो समयदेखिको प्रतीक्षा र सपना पूरा हुन्छ है भनेर हामी भित्र गएका थियौं। हामी तयार भएर बाहिर निक्लिँदा पानी परिरहेको देख्यौं। कुन समय पानी पर्‍यो हामीले थाहा नै पाएनौं । त्यो पानीले हाम्रा सपनाहरू बगाइदियो।’

मलेसियामा सम्पन्न त्यो प्रतियोगितामा एक पटक फेरि नेपाल असफल रह्यो। तथापि, व्यक्तिगत प्रदर्शनमा अस्मिनाका लागि यादगार नै बन्यो। उनी सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन्। नेपालले कुल पाँच खेल खेल्दा एक खेलमा उनी मैदानबाहिर रहिन्। बाँकी चारै खेलमा उनले विकेट लिइन्। कुल ११.५ ओभर बलिङ गरेकी उनले एक मेडनसहित सर्वाधिक आठ विकेट लिँदै ३१ रन मात्र खर्चिन्। उनको बलिङ २.६१ रनरेटमा रह्यो। कीर्तिपुरमा गत मेमा युगान्डासँगको ट्वान्टी–२० शृंखलाबाट अस्मिनाले डेब्यु गरेकी थिइन्। विकेटविहीन रहँदा उनको डेब्यु सुखद रहेन।

त्यसपछि भने उनले सुधार गरिन् र लगातार ६ खेलसम्म विकेट लिइन्। राष्ट्रिय टोलीबाट कुल सात खेलमा उनले १० विकेट पूरा गरिसकेकी छन्। तथापि, आफ्नो प्रदर्शनबाट अहिले नै खुसी भैहाल्नुपर्ने अवस्था नरहेको अस्मिनाको बुझाइ छ। ‘म आफ्नो प्रदर्शनबाट अहिले नै सन्तुष्ट हुने अवस्था छैन। किनकि मैले भर्खर राष्ट्रिय टोलीबाट खेल्ने थालेको हो। मैले अझै लामो यात्रा पार गर्नु छ। यस क्रममा मैले अझै राम्रो गर्न सक्छु भन्ने लाग्छ,’ उनी भन्छिन्।  

योजनाअनुरूप नै बलिङ गर्दा सफलता मिलेको उनी बताउँछिन्। ‘सुरुको ओभरमा नयाँ बल स्विङ गर्न सक्यो भने नतिजा राम्रो आउँछ भन्ने योजना थियो। त्यहीअनुसार राम्रो लेन्थमा बलिङ गरेँ। सोहीअनुसार सफलता पनि मिल्यो,’ उनले भनिन्। आफ्नो करियरलाई थप उचाइमा पुर्‍याउन केही पक्ष सुधार गर्नुपर्ने उनी बताउँछिन्। घरेलु क्रिकेटमा उनी सुरुआतमा ब्याटर थिइन्। पछि उनले बलिङतर्पm आफूलाई केन्द्रित गरिन्। तर, उनको ब्याटले राम्रो प्रभाव भने जमाउन सकेको छैन। आगामी दिनमा बलिङसँगै ब्याटिङमा पनि राम्रो गर्ने योजना उनी छिन्।  

फर्पिङको त्रिभुवन आदर्शबाट एसएलसी उत्तीर्ण गरेकी अस्मिनाले बिबिएससम्मको अध्ययन पूरा गरेकी छन्। खेल र पढाइलाई सँगै अगाडि बढाउने योजनामा उनी छिन्। ‘कहिलेकाहीँ राम्रो गर्दा पनि नतिजा आउँदैन। यस पटक ब्याटिङमा त्यस्तै भयो। तथापि, सिंगल्स र डबलमा ध्यान दिएर धैर्यतापूर्वक ब्याटिङ गर्दा नतिजा आउँछ। अर्को पटक केही गल्ती सुधार गरेर राम्रो गर्नेछु भन्ने विश्वास छ। साथै देशका लागि सुखद नजिता पनि दिलाउनेछु,’उनको आशा छ।

प्रकाशित: १७ श्रावण २०७९ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App