२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुनरागमन तत्काल असम्भव: जाभी

बार्सिलोनाका व्यवस्थापक जाभीले अहिलेकै अवस्थामा लियोनल मेसीको पुनरागमन सम्भव नभएको बताउँदै भविष्यमा पुनरागमनको ढोका भने बन्द नभएको बताएका छन्।

जाभीले लियोनल मेसीको तत्काल फर्किने सम्भावना नरहेको बताएका हुन्। लियोनल मेसी अघिल्लो सिजन क्लबको आर्थिक कठिनाइका कारण फ्रान्सेली लिग टोली पेरिस सेन्ट जर्मनमा अनुबन्धित भएका थिए। सात पटकका बालन डि’अर विजेता मेसीले पिएसजीमा गएयता ला लिगा क्लब बार्सिलोनाको जस्तो प्रदर्शन गर्न सकेका छैनन्। मेसी २००५/०६ को सिजनमा १८ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका थिए।

दुई वर्षे सम्झौता गरेर पिएसजी पुगेका मेसीको सम्झौता अझै एक वर्ष बाँकी छ। वर्ष दिन बाँकी रहेको अवस्थामा पनि मेसीको चर्चा अहिलेबाट चल्न थालेको हो। बार्सिलोनाका अध्यक्ष जोन लापोर्ताले आइतबार अर्जेन्टिनाका मेसीसँगको कथा बार्सिलोनामा नटुङ्गिएको अभिव्यक्ति दिएका छन्। उनकै समकक्षी तथा बार्सिलोनाका प्रशिक्षका जाभीले मड्रिडमा भएको एक पत्रकार सम्मेलनमा तत्कालका लागि मेसीको आगमन सम्भव नभएको बताएका हुन्।

‘अहिलेकै अवस्थामा मेसीको सम्झौता फ्रान्सेली टोलीमा यथावत् छ। यही कारण अहिले असम्भव प्राय छ,’ डल्लासमा आयोजना हुन लागेको युभेन्ट्ससँगको मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा बार्सिलोनाका प्रशिक्षक जाभीले भने, ‘मेसी विश्वका उत्कृष्ट खेलाडी हुन् र फुटबल इतिहासले सम्झिरहने खेलाडी हुन्। बार्सिलोनाका अध्यक्षले भनिसकेका छन् मेसीको कथा बार्सिलोनाका लागि समाप्त भइसकेको छैन। अहिले मेसीको बारेमा चर्चा गर्नु उपयुक्त समय होइन।’

जाभीले गत नोभेम्बरमा बार्सिलोना सम्हालिसकेपछि टोलीको सफलताको पारो बढ्दो क्रममा छ। सम्पन्न भएको पछिल्लो सिजनको लिगमा बार्सिलोनाले दोस्रो स्थानमा रहँदै लिगको समापन गरेको थियो। रोनाल्ड कोम्यानको प्रशिक्षणमा रहँदा उथलपुथल आएको वरीयतालाई जाभीले केही हदसम्म सम्हालेका थिए।

आगामी सिजन बार्सिलोनाले चुनौतीलाई सहज तरिकाले सामना गर्दै अगाडि बढ्ने सोचका साथ रोबर्ट लेवान्डोवस्की, राफिन्हालाई अनुबन्धित गरेको छ। प्रि–सिजनका उनीहरू सम्मिलित खेलमा उनीहरूको गोलबाट बार्सिलोना सुखद नतिजा निकाल्न सफल भइरहेको छ। तर प्रशिक्षक जाभीले कुनै पनि प्रशिक्षकसँग तुलना नगर्न आग्रह गरेका छन्। पेप ग्वार्डिओला र योहान कोर्फसँग तुलना नगर्न आग्रह गरेका हुन्।

‘पेपर योहानजत्तिकै मसँग अनुभव छैन। उनीहरूको अनुभव प्रशिक्षणमा धेरै टिम खेलिरहेका छन्। अनुभव नभए पनि मेरो लक्ष्य खेलाडी हुँदा लिएको अनुभवको आधारमा बार्सिलोनालाई जित दिलाउने हो,’ जाभीले थपे, ‘अहंकारको प्रश्न होइन। म कसैलाई पनि हराउन चाहन्नँ। म उनीहरूको विद्यार्थी हुँ। विद्यार्थीको नाताले मेरो कामलाई सिद्ध गर्न चाहन्छु। ग्वार्डिओला र योहानलाई हराउन होइन। बार्सिलोनालाई खेलमा सुखद नतिजा दिलाउन प्रयास गर्ने हो, शीर्ष टोली बनाउने हो।’

प्रकाशित: ११ श्रावण २०७९ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App