२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नवौंका दुई खेलकुद काठमाडौंमै

असोज अन्त्यदेखि गण्डकी प्रदेशमा सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दुई खेल भने काठमाडौंमा नै हुने भएको छ।

यस संस्करणको नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदै छ। उक्त राष्ट्रिय खेलकुदमा ३६ खेलका खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। तथापि तीमध्ये दुई खेल भने काठमाडौंमा नै हुने लगभग तय भइसकेको छ। बुधबार नवौंको कार्यकारी समितिले पत्रकार सम्मेलन गर्दै पौडी र सुटिङ काठमाडौंमा नै हुन सक्ने सम्भावना धेरै रहेको पुष्टि गरेका हुन्। पौडी र सुटिङका लागि प्रतिस्पर्धा गर्ने स्थान अभावका कारण काठमाडौंमा नै आयोजनाको तयारी भएको छ।

‘कार्यकारी समिति गठन हुनुभन्दा अगाडि पनि पोखराका खेलस्थलको भ्रमण गरेका थियौं। त्यतिबेला पनि दुई खेल स्विमिङ र सुटिङको काठमाडौंमा नै हुन सक्ने सम्भावना धेरै नै छ। तथापि, औपचारिक निर्णय हुन भने बाँकी छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले भने, ‘रग्बी र हक्की भने गण्डकीमा नै आयोजना गर्न सक्छौं भन्ने विश्वास छ। आगामी हप्ता नै हामी त्यहाँका स्थलको अनुगमनमा जाँदै छौं। त्यहाँबाट नै बाँकी खेलका बारेमा टुङ्गो लगाउँछौं।’

उनले राष्ट्रिय खेलकुदमा खेल प्रतिस्पर्धालाई विकेन्द्रीकरण गर्ने नाममा आवश्यक सेवासुविधा नै नभएका जिल्लामा नवौं राष्ट्रिय खेलकुदका खेल प्रतिस्पर्धा आयोजना नगर्नेसमेत स्पष्ट पारे।

नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले १४ उपसमितिमध्ये विभिन्न १२ विषयगत उपसमिति गठन गरेको छ। कार्यकारी समितिका संयोजक तथा राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले १४ मध्ये १२ उपसमिति गठन गरेको हो। विभिन्न विषयगत उपसमितिका संयोजक र सचिव पनि तोकिएको छ। बाँकी दुई उपसमिति सुरक्षा प्रबन्ध र अनुसन्धान उपसमिति पनि छिट्टै गठन गरिने सदस्यसचिव घिसिङले जानकारी दिए। समारोह उपसमितिको संयोजकमा राखेपका सदस्य एकेन्द्र कुँवर र सचिवमा प्रशासकीय अधिकृत शारङ्गिन् निरौलालाई जिम्मेवारी सुम्पिएको छ।

त्यस्तै प्राविधिक उपसमितिको संयोजकमा नायब वरिष्ठ प्रशिक्षक हिमालराज दाहाल र सचिवमा नायब वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य राजेश गुरुङ र सचिवमा प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा प्रशासकीय अधिकृत चन्द्रकुमार राई, अनुशासन उपसमितिको संयोजकमा पेमा लामा र सचिवमा कानुन शाखाका प्रमुख नारायणराज अर्याल तथा स्वास्थ्य उपसमितिको संयोजकमा डा. बुलन्द थापा र सचिवमा ज्ञानेन्द्रविक्रम शाह रहेका छन्।

त्यस्तै यातायात व्यवस्था उपसमितिको संयोजकमा राखेपका बोर्ड सदस्य प्रकाश कुसारी र सचिवमा पौडी शाखाका प्रमुख देवराज कटुवाल, प्रचारप्रसार उपसमितिको संयोजकमा दीपेन्द्र विष्ट र सचिवमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुसराज दाहाल, खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य अन्जन धमला र सचिवमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, स्रोत परिचालन उपसमितिको संयोजकमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र सचिवमा संघसंस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेललाई तोकिएको छ।

त्यसैगरी स्वयंसेवक उपसमितिको संयोजकमा राखेपका बोर्ड सदस्य जनक बर्तौला र सचिवमा प्रशासकीय अधिकृत लीलाराम बस्नेत तथा एन्टी डोपिङ उपसमितिको संयोजकमा डा. नमिसमान प्रधान र सचिवमा प्रशासकीय अधिकृत दोबे तामाङ छन्। बुधबार नै बसेको कार्यकारी समितिको बैठकले यी उपसमितिको टिओआर पनि निर्धारण गरेको थियो। यसबीच दुई पटक कार्यकारी समितिको बैठक बसेको राखेपका सदस्यसचिव घिसिङले बताए।

नेपाल सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रूपैयाँबराबरको सीमा तोकेको छ ।नवौंमा आवश्यक खेल सामग्रीका लागि नमुना संकलनको समयसीमा सकिएको र छिट्टै टेन्डर आह्वान पनि गरिने कार्यकारी समितिले जनाएको छ। 

प्रकाशित: ५ श्रावण २०७९ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App