१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद: सुटिङ, रग्बी, हक्की र पौडीलाई खेल्ने ठाउँ नै छैन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहँदा केही खेललाई भने खेल्ने ठाउँ पनि छैन। खेल्ने ठाँउ नै नभएका खेललाई कहाँ खेलाउने भन्ने पीरलो छ। पोखरा रंगशालाभित्र धेरै खेलका पूर्वाधार छन्। तर पूर्वाधार भएर पनि ती खेल खेलाउन कठिनाइ छ। पौडी, हक्की, सुटिङ र रग्बी खेलको ठ्याक्कै पूर्वाधार छैनन्।

पोखरा रंगशालाभित्र सुटिङ रेन्ज र पौडी पोखरी बनाउने राष्ट्रिय खेलकुद परिषदको योजना कोरोना अघि देखिको हो। तर कोरोनाकै कारण देखाउँदै आलटाल भएपछि पौडी र सुटिङ प्रतियोगितालाई भेन्युको पीरलो छ। रग्बी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको छ।

नेपालले केही दिन अघि मात्रै बंगलादेशमा गएर रग्बी १५को औपचारिक खेल खेलेर फर्किएको छ। रग्बी खेल प्रतिको चासो उत्तिकै छ। नवौंमा समावेश गरिएको रग्बीलाई कहाँ खेलाउने भन्ने पीरलो उस्तै छ। रग्बीको लागि फुटबल मैदानकै साइजको मैदान आवश्यक पर्छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बी ७ (सेभेन्स) खेलाइने छ।

‘पोखरा रंगशालाको फुटबल मैदानमा उदघाटन र समापन गर्ने योजना छ। ’कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले भने, ‘खेलहरु भने कहाँ खेलाउने भन्ने समस्या छ।’ उनका अनुसार रग्बी ७ पोखरा–१७ दोविल्लास्थित सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको मैदानलाई सम्भावित खेलस्थलको रुपमा हेरिएको छ।

रग्बीको लागि पोखरा–३३ भरतपोखरीस्थित शिशुकल्याण स्कुलको खेल मैदानलाई दीर्घकालीन मैदान बनाउने विषयमा समेत छलफल अगाडि बढाइएको छ। रग्बीको लागि प्रशिक्षणस्थल नै छैन। प्रशिक्षणको लागि फुटबल मैदान नै आवश्यकता पर्ने हुदाँ फुटबल मैदान खाली भएको अवस्थामा मात्रै प्रशिक्षण गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। प्रशिक्षणकै अभाव छ।

आफ्नै मैदान नहुँदा खेलाडी व्यवस्थापनमा कठिनाइ हुने गरेको अनुभव उनको थियो। रग्बीको लाग ७० मिटर चौडाइ र ११० मिटर लम्बाइको मैदान आवश्यक पर्छ। रग्बीकै जस्तो समस्या हक्कीको पनि छ। हक्कीको आफ्नै खेलमैदान छैन। मैदान नहुदाँ खेलाडीलाई प्रशिक्षणमा सकस छ। ‘हक्कीको ट्रेनिङ ग्राउण्ड नै छैन। प्रतियोगिताको लागि कहाँ मैदान खोज्ने।’ कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसी सुनाउँछन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हक्की पोखरा–१९ लामाचौरस्थित गोस्ते खेलमैदान र पोखरा–२५ हेमजास्थित गैरी खेल मैदानमा खेलाउन सकिने विषयमा संघले तदारुकता देखाएको छ। ‘लामाचौर र हेमजाको मैदानमा हक्कीको लागि सम्बन्धीत क्लब एवं संघसंस्थालाई पत्राचार गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाउने योजना छ’ उनको भनाइ थियो।

गण्डकी प्रदेशमा पूर्वाधार नै नभएको सुटिङको हो। सुटिङ रेन्ज बनाउन पोखरा रंगशालाभित्र जग्गा समेत छुट्टाएर राखेपनि बजेट अभावमै बनाउन सकिएको छैन। राखेपले बजेट छुट्टाएपनि टेण्डर प्रक्रिया नहुदाँ काम अघि बढ्न सकेको होइन। सुटिङ ओलम्पियन भगवती केसीले आफ्नै गृहजिल्ला बाग्लुङमा आफ्नै घरमा प्रशिक्षण दिँदै आएकी छन्। प्रदेशमै अन्य ठाँउमा पूर्वाधारसँगै सुटिङलाई आवश्यक पर्ने बन्दुक र गोली छैन।

राष्ट्रिय खेलकुद प्रतियोगितामा १० मिटर एयर राईफल्समा प्रतिस्पर्धा हुँदै आएको छ। तर पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाउने भनिरहँदा सुटिङ रेन्ज नै बनेको छैन। कहाँ खेलाउने भन्ने चिन्ता छ। ‘तत्कालै सुटिङ रेन्ज बन्ने सम्भावना छैन। पार्टी प्यालेसका हललाई भाडा तिरेर उपयोग गर्न सकिन्छ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने, ‘हलमा सामान फिट गरेर रेन्ज बनाउन सकिन्छ।’ उनका अनुसार खेल सकिएपछि फिट गरिएको सामान निकालेर ल्याउन दोहोरो खर्चिलो हुन्छ। रंगशालाभित्र पौडी पोखरी निर्माण नहुदाँ निजी क्षेत्रको पौडी पोखरीमै आयोजना गर्नुपर्ने बाध्यता छ।

‘पोखरा रंगशालाभित्र पौडी पोखरी बनाउन चासो देखिएन। निजी पौडी पोखरीमै प्रतियोगिता आयोजना गर्नुपर्ने खाँचो छ।’ कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभब पौडेलले भने, ‘पौडीकै लागि स्कुलकै पौडीपोखरी तथा व्यवसायिक रुपमा सञ्चालित पौडी पोखरी हेरिरहेका छौं। यद्यपी ठोस निर्णय कहाँ गर्ने भनेर गरिसकिएको/भइसकेको छैन्।’ उनका अनुसार फिष्टेल एकेडेमी, गण्डकी आवासिय विद्यालय, पोखरा–२५ हेमजास्थित पेन्गुईन पौडी पोखरी लगायतका ठाँउहरु हेरिएको छ।

प्रकाशित: ३२ असार २०७९ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App