coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जर्मनी क्वार्टरफाइनलमा

कलरा बुल र एलेक्सेन्डर पोपेको गोलको सहयोगमा मंगलबार जर्मनीले स्पेनलाई २-० गोलले हराउँदै युरो कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

पहिलो खेलमा डेनमार्कविरुद्ध ४–० को फराकिलो जित निकाल्दै सुखद सुरुआत गरेको जर्मनीले जितको लयलाई मंगलबार पनि निरन्तरता दिएको हो। मार्टिन भोस–टेक्लिनबर्गको टोलीले पहिलो खेलमा जस्तो प्रदर्शन स्पेनविरुद्ध देखाउन सकेन। निकै दबाब झेलेर खेलेको भए पनि पाएका दुई अवसरलाई सदुपयोग गर्न सफल भएको थियो। ३० प्रतिशत मात्र बलमा पकड जमाएको जर्मनीको बलियो रक्षापंक्तिले आक्रामक स्पेनलाई रोक्न सफल भएको थियो।

बुलले तेस्रो मिनेटमा नै जर्मनीका लागि अग्रता दिलाएकी थिइन्। डिफेन्डरको तालमेल अभाव देखिएको खेलमा उनले मौकाको फाइदा उठाउन सफल भएकी हुन्। पहिलो हाफ सकिन ८ मिनेट बाँकी रहँदा पोपले टोलीका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर बनाएकी थिइन्। ‘दबाब झेल्दै भए पनि सुरुआतमा निकालेको अग्रताले खेलाडीको मनोबल उकास्न निकै काम गर्‍यो, जुन हाम्रा लागि निकै महत्त्वपूर्ण रह्यो,’ जर्मनकी प्रशिक्षक भोस-टेक्लिनबर्गले भनिन्, ‘हामीले बल पकडमा लिनुभन्दा सीमित अवसर सिर्जना गर्दै सदुपयोग गर्ने लक्ष्य लिएका थियौं। जुन रणनीति सफल पनि भयो।’

जितसँगै जर्मनी समूहतालिकाको शीर्ष स्थानमा अटाएको छ। जर्मनीले सम्पन्न दुई खेलबाट स्पष्ट जितका साथ तालिकामा शीर्षता कायम राखेको हो। यता पराजित स्पेनले भने दुई खेल खेल्दा एकमा जित र एकमा हार भोगेको छ। स्पेन ३ अंकका साथ दोस्रो स्थानमा छ। जर्मनीसँग स्तब्ध भएको स्पेनका प्रशिक्षक जोर्गे भिल्डाले डिफेन्डरको गल्तीका कारण पराजित हुनुपरेको प्रतिक्रिया दिए।

‘रक्षापंक्तिमा भएका दुई गल्तीको फाइदा उनीहरूले उपयोग गरे। जुन हाम्रो लागि निकै महँगो भयो। जर्मनी बलियो टोली भन्न छाप खेलाडीमा पर्‍यो,’ प्रशिक्षक जोर्गे भिल्डाले भने, ‘दबाब दिएर खेलेको खेलमा केही अवसर पायौं। सदुपयोग गर्न सकेनौं। जसका कारण अंक सुम्पिनुपर्‍यो।’ युरो कप फुटबलअन्तर्गत मंगलबार नै भएको समूह ‘बी’ को अर्को खेलमा डेनमार्कले फिनल्यान्डलाई १-० ले हराउँदै अन्तिम आठको सम्भावना जीवितै राखेको छ। लगातार दुई खेलमा पराजित भएको फिनल्यान्डको सम्भावना कमजोर भएको छ। 

प्रकाशित: ३० असार २०७९ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App