५ वैशाख २०८१ बुधबार
खेल

फेरि पनि हामी उत्कृष्ट हुनेछौं: क्लोप

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले २०२२-२३ सिजनमा पनि आफूहरू उपाधिको दाबेदार हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

पछिल्लो सिजन चार उपाधिनजिक पुगेर पनि दुई उपाधि उचाल्नबाट टाढिएको थियो, लिभरपुल। च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडसँग स्तब्ध भएको लिभरपुल प्रिमियर लिगमा भने म्यानचेस्टर सिटीसँग अंकको आधारमा पछि पर्दै उपविजेतामा नै खुम्चियो। यद्यपि, लिभरपुलले इएफएल कप र एफए कपको उपाधि उचाल्दै लयमा रहेको संकेत दिएको थियो। बलियो दाबेदार देखिएको लिभरपुलका प्रशिक्षक क्लोपले आगामी सिजनको लिगमा पनि आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेका छन्।

डार्बिन नुनेज बेन्फिकाबाट एनफिल्डमा आएसँगै प्रशिक्षक क्लोपको टोलीले आगामी सिजनमा मजबुत प्रदर्शन गर्ने संकेत दिएका हुन।नुनेज बेन्फिकाबाट ६४ मिलियन पाउन्डमा अनुबन्ध भएका थिए। उनको आगमनसँगै टोलीको आक्रामक पंक्तिमा नयाँपन देखिने अनुमान गरिएको छ। स्टार फरवार्ड मोहम्मद सालाहले पनि क्लबबाट सम्झौता नवीकरण गरिसकेका छन्। साडियो माने भने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भइसकेका छन्। प्रशिक्षक क्लोप नयाँ खेलाडीलाई अनुबन्धित गर्दै आक्रामक रणनीति बनाएर म्यानचेस्टर सिटीसँग पुनः प्रतिस्पर्धात्मक खेल खेल्न चाहन्छन्।

‘मनोबल उच्च बनाउँदै खेल्नु आगामी सिजनमा सम्भावना छ। अहिले नै यसै हुन्छ भन्न त सकिँदैन। तर पनि मलाई विश्वास छ, हामी उत्कृष्ट हुन्छौं। किनकी टोली अहिले स्तरीय खेलाडीले भरिपूर्ण छ,’ प्रिसिजनका लागि थाइल्यान्ड भ्रमणको क्रममा भएको एक पत्रकार सम्मेलनमा लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले भने, ‘कुनै समय भाग्यले पनि साथ दिनुपर्छ। उपाधि उचाल्न खेलले मात्र पनि पुग्दैन भन्ने पछिल्लो सिजनको लिगले प्रस्ट्याएको छ। सम्भव हुँदाहुँदै पनि उपविजेतामा खुम्चिनुपर्‍यो। यद्यपि हामी उत्कृष्टभन्दा उत्कृष्ट नतिजा निकाल्दै बलियो अवस्थामा पुग्नुपर्छ। साथै सन्तुलित खेलको उतिकै आवश्यकता पनि पर्छ।’

प्रिमियर लिगको नयाँ सिजनको लागि खेलतालिका सार्वजनिक भैसकेको छ। आगामी अगष्ट १४ देखि सुरु हुने नयाँ सिजनको पहिलो दिन नै १० खेल हुनेछन्। पहिलो खेलमा लिग च्यम्पियन म्यानचेस्टर सिटीले टोटनह्याको सामना गर्नेछ। टोटनह्यामसँग उसैको मैदानमा खेल्दै सिटी उपाधि रक्षा अभियान सुरु गर्ने योजनामा हुनेछ। यस्तै म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडसँग घरेलु मैदानमा खेल्नेछ भने लिभरपुल पहिलो खेलमा नर्विच सिटीसँग खेल्दै प्रिमियर लिगको आरम्भ गर्नेछ। सोही खेलबाट आफ्नो टोलीले स्तरीय खेल देखाउँदै उपाधि लक्ष्य राख्ने प्रशिक्षक क्लोपको विश्वास छ।

‘म मेरो खेलाडीप्रति पूर्ण विश्वस्त छु। खेलाडीमा युवा जोश भरिएको छ। नयाँ खेलाडी पनि उतिकै छ। उनीहरूमा प्रिमियर लिगको हुटहुटी छ,’ प्रशिक्षको क्लोपले थपे, ‘टोलीमा कुनै पनि खेलाडीलाई कुन स्थानबाट खेल्ने भनेर तोकिएको छैन। सबैले सबै स्थानबाट खेल्न सक्छन्। दबाब दिँदै विपक्षीलाई निर्धारित समयमा नतिजा निकाल्नेमा म विश्वस्त छु। राम्रो खेलेर सिजन अन्त्य गर्नु नै हाम्रो लक्ष्य हो।’ 

प्रकाशित: २७ असार २०७९ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App