२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एनएसलसँगको सम्झौता खारेज गर्न सिफारिस गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सँग भएको सम्झौता त्रूटिपूर्ण रहेको भन्दै खारेज गर्न सिफारिस गर्ने भएको छ।

तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र एनएसएसल आयोजकका तर्फबाट निर्वाण चौधरी बीचको सम्झौता पत्रमा मिति नतोकिएको, आधिकारिकताका लागि सम्झौता गरेको संस्थासँग केही कुरा प्रस्ट नभएको भन्दै एन्फाले सम्झौता खारेज गर्न सिफारिस गर्ने जनाएको हो।

शुक्रबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित केही पदाधिकारी र असन्तुष्ट ‘ए’ डिभिजन क्लबबीच बैठक बसेको थियो। सोही बैठकले एनएसएलसँगको सम्झौता त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको हो।

नेपाल  स्पोर्टस म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीसँग एनएसएल आयोजनाको औपचारिक सम्झौता गरेको थियो। असन्तुष्ट क्लबले जहाँ केही बुँदा विवादित रहेको भन्दै आएका छन्।

एनएसएलसँग गरिएको सम्झौताको कतिपय बुँदामा त्रुटि देखिएको निष्कर्षसहित सम्झौता रद्दका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए।

‘तत्कालीन अध्यक्ष र एनएसएल आयोजकबीच एनएसएल आयोजना गर्ने सम्झौता भएको छ। कार्यसमितिले पनि पास गरेको छ। तर कतिपय सम्झौताका बुँदा नमिल्दा थिए। त्यसैले सम्झौता खारेज गर्नुपर्ने भन्ने कुरा गर्‍यौं,’ एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘सम्झौता खारेज गर्नका लागि एन्फा कार्यसमिति बैठकमा लैजाने सहमति भएको छ।

त्यसअघि आज असन्तुष्ट क्लबसँग छलफल गरेजस्तै एनएसएल आयोजकसँग पनि छलफल गर्छाैं। साउन २ गते बस्ने कार्यसमिति बैठकमा एजेन्डाको रूपमा छलफल गर्छौं ।’ बैठकमा असन्तुष्ट चार क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्यूरोड टिम (एनआरटी) का प्रतिनिधिको उपस्थिति रहेको थियो।

सबै उपस्थित क्लबका प्रतिनिधि र नवनिर्वाचित कार्यसमितिले एनएसएल खारेज गर्नुभन्दा पनि आयोजना सम्बन्धमा त्रुटि भएको औंल्याउँदै त्रिपक्षीय सहमतिका साथ आगाडि बढ्नुपर्ने सुझाएका थिए। सोही अनुसार अगाडि बढ्ने उपाध्यक्ष खड्काले थपे। ‘पहिले हामी भएको सम्झौता खारेजीको प्रक्रियामा अगाडि बढ्छौं। त्यसको मतलब एनएसएल खारेज भने होइन। सम्झौतापूर्ण र स्पष्ट छैन,’ खड्काले थपे, ‘एन्फा, असन्तुष्ट क्लब र एनएसएल आयोजकबीच त्रिपक्षीय छलफलपछि एनएसएलको टुङ्गो लाग्छ।’

फुटबलमा कर्पोरेट क्षेत्रको लगानी भित्र्याउने उद्देश्यसहित चार वर्षअघि एन्फाले चौधरी ग्रुप स्वामित्वको संस्थासँग चार वर्षका लागि एनएसएल आयोजना गर्न सम्झौता गरेको थियो। कोभिडको प्रभावका बीच बन्द रंगशालामा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेर आयोजकले लोकप्रियता कमाए पनि दोस्रो संस्करण भने विवादित बनेको छ।

एन्फा निर्वाचनपूर्व अघिल्लो कार्यसमितिले एनएसएल आयोजनाका लागि भदौ २५ देखि कात्तिक ५ गतेसम्म दोस्रो संस्करण आयोजना गर्न स्वीकृति दिएको थियो। तर नयाँ नेतृत्व आएसँगै दोस्रो संस्करण अन्योलमा परेको छ। 

प्रकाशित: २५ असार २०७९ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App