२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

महिला खेलाडीलाई पुरुषसरह म्याच फी

न्युजिल्यान्ड क्रिकेटले मंगलबार महिला र पुरुष क्रिकेटरलाई सबै खाले क्रिकेट संरचनाका खेलमा समान म्याच फी दिने घोषणा गरेको छ। मंगलबार बसेको बोर्डको बैठकले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरचनाका खेलका लागि दुवै टोलीका खेलाडीलाई समान म्याच फी दिने घोषणा गरेको हो।

बोर्डर खेलाडीबीच मंगलबार सम्झौता पनि भएको छ। अगस्ट १ देखि लागू हुने गरी पाँच वर्षका लागि सम्झौता भएको हो। साथै व्यावसायिक महिला खेलाडीले अन्तर्राष्ट्रिय भ्रमण, सेवासुविधा र अभ्यासका लागि पनि पुरुष क्रिकेटरसरह भत्ता पाउने पनि भएका छन्। न्युजिल्यान्ड क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत डेभिड ह्वाइटले सम्झौता न्युजिल्यान्ड खेलकुदमा निकै महत्त्व राख्ने बताए।

‘न्युजिल्यान्ड खेलकुदमा यो निकै महत्त्वपूर्ण सम्झौता हो। विषेश गरी न्युजिल्यान्ड क्रिकेटमा यो लागू हुनेछ। यसले महिला खेलाडीको हौसला उच्च वृद्धि हुनेछ र क्रिकेट विकासमा फराकिलो फड्को मार्ने विश्वास लिएका छौं,’ न्युजिल्यान्ड क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत डेभिड ह्वाइटले भने, ‘यो सम्झौतालाई निरन्तरता दिन नेतृत्वले निकै मिहिनेत गर्नुपर्नेछ। सहयोगी संस्थासँगको सुमधुर सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेछ र क्रिकेटमा लगानी बढाउनुपर्नेछ।’

यो सम्झौतापश्चात् घरेलु प्रतियोगिताका लागि महिला खेलाडीको सम्झौता संख्या पनि बढाइने भएको छ। ५४ बाट ७२ पुर्‍याउने न्युजिल्यान्ड क्रिकेटले जनाएको छ। अब न्युजिल्यान्डबाट टेस्ट खेल्ने महिला र पुरुष दुवै खेलाडीले १० हजार २ सय ५० डलर पाउनेछन्।

एक दिवसीय खेल खेल्ने खेलाडीले म्याच फी ४ हजार डलर पाउने भएका छन्। यस्तै ट्वान्टी-२० आई खेल्ने खेलाडीको म्याच फी २ हजार ५ सय डलर प्राप्त गर्नेछन्। एकदिवसीय घरेलु क्रिकेट खेल्ने खेलाडीको म्याच फी ८ सय डलर  र हेको छ भने ट्वान्टी-२० घरे लु क्रिकेट खेल्ने खेलाडीको ५ सय डलर हुनेछ।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने महिला खेलाडीका लागि पुरुष क्रिकेटरलाई सरह म्याच फी प्रदान गरिनु निकै सुखद कुरा हो,’ न्युजिल्यान्ड क्रिकेट टोलीकी कप्तान सोफी डिभाइनले भनिन्, ‘यो सम्झौताले महिला क्रिकेटले निकै फड्को मार्ने विश्वास लिएका छौं। महिला क्रिकेटरको पनि भविष्य सुनिश्चित हुनेछ।’

पछिल्लो समय न्युजिल्यान्डको पुरुष टोलीले केन विलियम्सनको कप्तानीमा सानदार प्रदर्शन गर्दै आएको छ। विलियम्सनको कप्तानीमा गत वर्ष न्युजिल्यान्डले भारतलाई फाइनलमा ८ विकेटले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो। उनै कप्तानले पनि न्युजिल्यान्ड खेलकुदमा निकै उत्साहपूर्ण निर्णय भएको प्रतिक्रिया दिए।

‘हाल क्रिकेट खेलिरहेका खेलाडीका लागि साँच्चै महत्त्वपूर्ण निर्णय भएको छ। सबै खाले संरचनाका खेल, सेवासुविधाले क्रिकेटमा लागेका खेलाडीलाई यो सम्झौताले ठूलो हौसला मिलेको छ,’ पुरुष टोलीका कप्तान विलियम्सनले भने, ‘यो सम्झौता लक्ष्य प्राप्तिका लागि लामो समयसम्म निरन्तर होस्। मेरो शुभकामना छ।’

प्रकाशित: २२ असार २०७९ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App