१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हाईअल्टिच्युड लोमान्थाङमा गल्फको पहिलो ड्राइभ

लोमान्थाङको लोवाथाङस्थित गल्फ कोर्ष। कोर्षमा गल्फ खेल्दै पोखराका गल्फरहरु। तस्बिर: इन्द्रधारा विष्ट

समुद्रीसतहबाट ४६ सय ४५ मिटरको उचाइको लोमान्थाङको लोवाथाङमा ईन्द्रधारा विष्टले पहिलो ड्राईभ हिर्काए। उनको ड्राइभसँगै लोमान्थाङमा गल्फको सुरुवात हुन पुगेको छ। विष्टले पार ४ (३५० यार्ड) हिर्काउँदै गल्फको सुरुवात गरेका थिए।

योसँगै लोमान्थाङमा सर्वाधिक उचाइको गल्फ कोर्ष बनाउने सपनाले साकार रुप लिएको छ। पहिलो दिन शुक्रबार पोखराबाट पुगेका चार गल्फरसँगै विष्टले ६ होलको प्रतिस्पर्धा गरे। प्रतिस्पर्धाले नयाँ आयाम थप्यो। पोखराका प्रो गल्फर भुबहादुर गुरुङ (भुवन) ले फाईभ उडको प्रयोग गरे।

त्यस्तै एमेच्योर गल्फर राजु थकालीले ड्राइभ हिर्काए। एमेच्योर बलराम थापाले पनि फाइभ उड (आईरन) हिर्काउँदै अल्टिच्युडको अनुभव सँगाले। भक्तराज गुरुङले पनि फाइभ उड (आरइन) हिर्काउँदै लोमान्थाङमा गल्फको सुरुवात गर्दै अविस्मरणीय अनुभव बटुले।

‘हामीले ६ होलको गेम खेल्यौं। नै होलको गेम खेल्ने चाहना थियो। तर समयले भ्याइएन्,’ गण्डकी प्रदेशका सदस्य समेत रहेका विष्टले भने, ‘शनिबार ९ होलको गेम खेल्छौं। टिबक्स, बंकर बनाइसकिएको छ। ग्रिन बनाउँदै खेल्ने छौं। केही टिबक्स परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ।’

उनको अनुभवमा हावा धेरै चल्यो। अल्टिच्युडकै कारण बल कम उडेको अनुभव भयो। तर बलको उफ्र्याइ भने बढी देखिएको सुनाए। केही टिबक्सलाई हटाएर पार्किङ र क्लबहाउस बनाउनुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो।  

लोमान्थाङबाट झण्डै ८ सय मिटर उचाईमा पर्छ गल्फ कोर्ष। कोर्ष तयार भएपछि विधिवत प्रतियोगिता आयोजना गरेपछि यो विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष बन्ने छ। ‘गल्फ कोर्ष हाई अल्टिच्युडमा पर्छ, चारैतिर हिमाल देखिन्छ। चौर पनि फराकिलो छ,’ प्रो गल्फर एवं नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङले अनुभव साट्दै भने, ‘शनिबार ग्रिनहरु तयार गर्ने छौं। कोर्षको स्केच तयार पारिसकिएको छ। स्केच अनुसार ग्रिन बनाएर पोखरा फर्किन्छौं।’

लोमान्थाङ पुगेका गल्फर बलराम थापाले हाईअल्टिच्युडमा आएर गल्फ खेल्नु अविश्वासनीय भएको बताए। ‘विश्वास गर्न सकिएको छैन्, पहिलो पटकमै भयंकर रमाइलो भयो,’ उनले भने, ‘शनिबार बिहान गेम खेल्छौं। त्यसपछि बास्तविकता थाहा हुन्छ।’ उनका अनुसार दिउँसो हावा चल्दा बल डाइभर्ट भयो।  

कोर्षको लागि विष्टले ८ लाख रुपैयाँ खर्चिएका छन्। लोमान्थाङ गाउँपालिकाले पनि प्रतियोगिता सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट छुट्टाएको छ। लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्यड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ। गत वर्षदेखि पाँच करोडको गुरुयोजनासहित फुटबल मैदान, बास्केटबल तथा भलिबल कोर्ट निर्माण सुरु गरिएको छ। पोखरादेखि लोमान्थाङ हुँदै कोरोला नाकासम्म सडक सञ्जालले जोडिइसकेको छ।  

प्रकाशित: १८ असार २०७९ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App