१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयरल्यान्डविरुद्ध पांड्याको परीक्षा

अलराउन्डर हार्दिक पांड्याले आयरल्यान्डविरुद्धको ट्वान्टी–२० क्रिकेट शृंखलामा भारतीय क्रिकेट टोलीको कप्तानी सम्हाल्दै छन्।

राष्ट्रिय टोली नेतृत्व गर्ने पांड्याको क्षमता पनि सोही शृंखलाले निर्धारण गर्नेछ। ऋषभ पन्त र श्रेयस अ‍ैयर इङ्ल्यान्डविरुद्ध पुनः निर्धारण गरिएको टेस्ट शृंखलामा केन्द्रित हुने भएसँगै पांड्याले आयरल्यान्डविरुद्धको दुई ट्वान्टी–२० क्रिकेट शृंखलामा भारतको कप्तानी सम्हाल्ने अवसर पाएका थिए।

दुवै खेलमा भारतले आयरल्यान्डलाई दबाबमा राख्ने अनुमान गरिएको छ। पांड्याले कसरी टोलीको नेतृत्व सम्हाल्नेछन् भन्नेप्रति सबैको चासो रहेको छ। भारतले यसअघि आयरल्यान्डविरुद्ध तीन पटक ट्वान्टी–२० क्रिकेट खेल्दा तीनवटै खेलमा सतप्रतिशत नतिजा ल्याएको थियो।

पांड्याको कप्तानीमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो डेब्यु सिजनमै उपाधि जित्दै कीर्तिमान रचेको थियो। आइतबारबाट सुरु हुने शृंखला पनि पांड्याका लागि भविष्य निर्धारण गर्ने माध्यम बन्न सक्छ। टोलीको नेतृत्व गर्ने पांड्याको क्षमता प्रमाणित गर्न उक्त शृंखला उनका लागि महत्त्वपूर्ण हुन सक्ने भारतका पूर्वओपनर डब्लुभी रमनको विश्लेषण छ।

‘आयरल्यान्डविरुद्धको शृंखला निकै उत्साहजनक हुनेमा दुबिधा छैन। किनभने पांड्याले पहिलो पटक भारतको कप्तानी सम्हाल्दैछन्,’रमनले भने, ‘उनले आइपिएलमा जसरी टोलीको नेतृत्व सम्हाल्दै सफलता दिलाए, त्यो प्रसंशायोग्य नै छ। यस शृंखलामा पनि उनीबाट सबैले आशा राखेका छन्। उनी जिम्मेवारी सहजै पूरा गर्न सक्ने क्षमता राख्छन्। उनी अन्यका लागि समेत प्रेरणाका स्रोत हुन्।’

लामो समय भारतीय टोलीको कप्तानी सम्हाल्न पांड्याका लागि यो शृंखला अडिसन समेत बन्न सक्छ। ‘आइपिएलमा उनले आफ्नो नेतृत्व क्षमता प्रमाणित गरिसकेका छन्,’ रमनले थपे,‘राष्ट्रिय टोलीबाट खेल्दा भने केही फरक अवस्था हुन सक्छ। सबै छनोटकर्ताको ध्यान समेत उनीप्रति केन्द्रित हुनेछ।’

आयरल्यान्डले भारतसँग यसअघिका दुई ट्वान्टी–२० क्रिकेट शृंखला गुमाएको थियो। भारतले आयरल्यान्डसँगको शृंखलाका लागि उमरन मल्लिक र अर्सदीप सिंहलाई टोलीमा समावेश गरेको छ। राहुल त्रिपाठीले पहिलोपटक भारतीय टोलीमा अवसर पाएका छन्।

उनले आइपिएलमा सानराइजर्स हैदरावादका लागि ४ सय १३ रन प्रहार गरेका थिए। सन् २०१९ पछि राष्ट्रिय टोलीमा फर्किएका दिनेश कार्तिकबाट पनि भारतले ठूलो आशा राखेको छ। सन् २०१९ देखि दिनेशले भारतीय राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका छैनन्। त्यसैले उनी आफ्नो पुनरागमन सफल पार्न चाहन्छन्।

प्रकाशित: १२ असार २०७९ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App