१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

वर्षाले नेपालको सपना समाप्त

उत्कृष्ट बलिङका बावजुद वर्षा बाधक हुँदा एसिया कप खेल्ने नेपाली महिला क्रिकेट टोलीको सपना समाप्त भएको छ।

मलेसियामा शुक्रबार वर्षाका कारण एसिसी महिला ट्वान्टी–२० च्याम्पियनसिपअन्तर्गत पहिलो सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँगको खेल रद्द हुँदा एसिया कप खेल्ने नेपालको सपना पूरा नभएको हो। नेपालले क्वालालम्पुरस्थित किनरारा ओभलमा युएईविरुद्ध कसिलो बलिङ गर्दै जितको आशा देखाएको थियो। तर, भारी वर्षा हुँदा नेपालको ब्याटिङ सम्भव भएन र समूह चरणमा गरेको प्रदर्शनका आधारमा युएई फाइनलका योग्य बन्यो। नेपालका बलरले कसिलो बलिङ गर्दै युएईलाई १९.५ ओभरमा ८१ रनमा अलआउट गर्न सफल भयो।

तर, भारी वर्षा भएपछि दोस्रो इनिङ हुन पाएन र समूह ‘ए’ को विजेता युएई सोही नतिजाका आधारमा फाइनल पुग्न योग्य भयो। नेपाल भने समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनल पुगेको थियो। समूहमा हङकङसँगको एक मात्र हार नै नेपालका लागि ठूलो बाधक बन्यो।

समूहका अन्य तीन खेल भने नेपालले जितेको थियो। हङकङसँगको हारले नै पहिलो पटक महिला ट्वान्टी–२० एसिया कप खेल्ने नेपालको सपना समाप्त भयो। एसिसी महिला ट्वान्टी–२० च्याम्पियनसिपको फाइनलमा पुग्ने दुई राष्ट्रले एसिया कप खेल्न पाउनेछन्।

अर्को सेमिफाइनलमा आयोजक मलेसियाले हङकङमाथि १२ रनको सनसनीपूर्ण जित निकाल्दै एसिया कपमा स्थान बनायो। महिला एसिया कप ट्वान्टी–२० अक्टोवरमा हुने बताइएको छ। एसिया कपमा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाजस्ता बलिया राष्ट्रले खेल्दै छन्।

नेपालको यादगार बलिङ

प्रतियोगिताबाट निराशाजनक बहिगर्मन हुन बाध्य बनेको नेपालले शुक्रबार युएईविरुद्ध यादगार बलिङ प्रदर्शन गरेको थियो। अस्मिना कर्माचार्यले नेपाली महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियकै तेस्रो उत्कृष्ट प्रदर्शन गरिन्। यसअघि नेरी थापा र अञ्जली चन्दले एकै इनिङमा ६ विकेट लिएका थिए।

अस्मिनाले ३.५ ओभरमा मात्र १० रन खर्चिएर पाँच विकेट लिइन्। उपकप्तान इन्दु बर्माको नाममा तीन विकेट रह्यो। चार ओभर बलिङ गरेकी इन्दु पनि १६ रन मात्र खर्चिंदै किफायती बनिन्। सीता रानामगरले दुई विकेट निकालिन्।

प्रतियोगिताभर नेपालले बिर्सनलायक ब्याटिङ गरे पनि बलिङमा भने प्रभाव जमाउन सफल भयो। अहिलेसम्म च्याम्पियनसिपमा धेरै विकेट लिने शीर्ष पाँच बलरको सूचीमा नेपालका तीन खेलाडी छन्। चार खेलबाट ८ विकेट लिँदै अस्मिना शीर्ष स्थानमा छिन्। त्यति नै खेलबाट ७ विकेटसहित संगीता राई तेस्रो स्थानमा रहँदा पाँच खेल खेलेकी सीता रानामगरले पनि सात विकेट नै पूरा गरेकी छन्।

सेमिफाइलमा नेपाली बलरले आफ्नो प्रभाव जारी राख्दै युएईका ब्याटरलाई खुलेरै खेल्नै दिएनन्। युएईका लागि आठौं नम्बरकी ब्याटर वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा ओपनर ईशा ओजा १५ रन, कप्तान छाया मुगल १४ रन र खुसी शर्मा १२ रनमा आउट भए। ईशाले समूहचरणको अघिल्लो खेलमा कतारविरुद्ध १ सय १५ रनको शतकीय इनिङसमेत खेलेकी थिइन्। 

प्रकाशित: ११ असार २०७९ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App