१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सुनार र श्रेष्ठ च्याम्पियन

समिरविल्सन सुनार र पेम्बा श्रेष्ठ पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन्। नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पोखरा रंगशालाको अन्नपूर्ण स्केट पार्कमा सम्पन्न प्रतियोगिताको सिनियर पुरुषमा समीर र महिलामा पेम्बा पहिलो भएका हुन्।

पुरुषमा धीरज परियार दोस्रो तथा वसन्त राई तेस्रो भए। महिलामा समीक्षा राई दोस्रो तथा स्वाती श्रेष्ठ तेस्रो बने। जुनियरको पुरुषमा शिशिर श्रेष्ठले स्वर्ण, आर्यन शाहीले रजत र किरण गुरुङले कांस्य जिते। सोही स्पर्धाको महिलामा खुसी विक प्रथम, एन्जल क्षत्री दोस्रो तथा सिम्रन थापा तेस्रो भए। चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रूपैयाँ नगद पुरस्कार हात पारे।

विजेतालाई कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। त्यसअघि प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले मंगलबारै उद्घाटन गरेका थिए।

प्रतियोगितामा विभिन्न जिल्लाका करिब एक सय ५० खेलाडीले चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। फाइनल चरणमा सिनियरतर्फ पुरुष/महिलामा ९/९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जुनियरको पुरुषमा ९ र महिला तीन खेलाडी फाइनलका लागि छनोट भएका थिए। सोमबार छनोट चरणका खेल भएको थियो।

खेलाडीले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। फाइनलका लागि भारत र माल्दिभ्सबाट दुई निर्णायक पोखरा आएको अध्यक्ष खनालले जानकारी दिए। कोभिड–१९ का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता हुन सकेको थिएन। पोखरामा तेस्रो पटक प्रतियोगिता भएको हो। बाँकी दुई संस्करण काठमाडौंमा भएको थियो। 

प्रकाशित: ८ असार २०७९ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App