१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको पहिलो हार

इन्दु बर्मा र विन्दु रावल हङकङविरुद्ध रन बनाउँदै।

मारिको हिलको आक्रामक ब्याटिङ रोक्न नसक्दा हङकङसँग सात विकेटले स्तब्ध भएपछि नेपालले मलेसियामा जारी एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ। च्याम्पियनसिपमा नेपालले आफ्नो समूह ‘बी’ को अन्तिम खेलमा राम्रो बलिङ प्रस्तुत गर्न नसक्दा सात विकेटको हार बेहोरेको हो।

यो हारसँगै समूहविजेताका रूपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने नेपालको लक्ष्य समाप्त भएको छ। नेपाल चार खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। ६ अंक नै बटुले पनि हङकङ रनरेटका आधारमा शीर्ष स्थानमा छ। तीन खेल खेलेको अपराजित हङकङले एक खेल खेल्न बाँकी छ। नेपालले अब समूह ‘ए’ को विजेतासँग सेमिफाइनलमा खेल्नेछ। त्यो खेल जितेमा नेपालले एसिया कप खेल्ने पाउनेछ।

मलेसियाको किनरारा ओभलमा नेपालले यस प्रतियोगिताकै आफ्नो सबैभन्दा ठूलो योगफल बनाए पनि बलिङमा साथ नपाउँदा जित निकाल्न सकेन। सुस्त ब्याटिङ गरेको नेपालका लागि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमले आक्रामक शैली अपनाउँदै सय रनको आँकडा पार गराए। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १० रनको आशालाग्दो लक्ष्य प्रस्तुत गर्‍यो।

तर, हङकङ ओपनर मारिकोले सुरुआतदेखि नै आक्रामक ब्याटिङ गर्दै नेपाली बलरमाथि दबाब बनाइन्। सोही शैली अन्य ब्याटरले पनि जारी राख्दा हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। मारिकोले ३२ बलमा ९ चौकासहित ४५ रन बनाइन्। उनी १०.१ ओभरमा संगीता राईद्वारा क्याच भइन्।

दोस्रो विकेटका रूपमा मारिको आउट हुँदा हङकङ ७० रन बटुल्दै बलियो स्थितिमा पुगिसकेको थियो। त्यसअघि हङकङले पहिलो विकेट तेस्रो ओभरको अन्तिम बलमा गुमाएको थियो। सीता रानामगरले हङकङकी ओपनर बेला पोनलाई ९ रनमा पवेलियन फर्काउँदै नेपाललाई पहिलो सफलता दिलाएकी थिइन्।

त्यसपछि ब्याटिङ गर्न आएका नतासा माइल्सले अविजित २८ रन र कप्तान केरी चानले १७ रन बटुल्दै जित दिलाए। नतासाले ३४ बलमा तीन चौका हर्काइन्। चानको इनिङमा भने दुई चौका रह्यो। नेपालको बलिङमा संगीताले दुई र सीताले एक विकेट लिए। दुई ओभर बलिङ गरेकी संगीताले २० रन खर्चिइन्। नेपालका सबै बलरविरुद्ध हङकङका ब्याटरले खुलेरै खेले।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ९ रन जोड्यो। सुस्त सुरुआत गरे पनि नेपाल लयमा फर्किएको संकेत भएकै समय अनुभवी ब्याटर सीता रनआउट हुन पुगिन्। नेपालले ३.४ ओभरमा पहिलो विकेटका रूपमा उनलाई गुमाउन पुग्यो। उनी ९ रनमा आउट भइन्। तर, अर्को छेउबाटमा ओपनर बिन्दु रावलले राम्रो ब्याटिङ गर्दै इनिङ समालिन्।

यद्यपि, उनले साथ पाइनन् र अर्को छेउबाट लगातार दुई विकेट पतन भयो। उपकप्तान इन्दु बर्मा शून्य र विकेटकिपर काजोल श्रेष्ठ १ रनमा पवेलियन फर्किए। यी दुवै हङकङकी बलर बेटी चानद्वारा आउट भए। बिन्दु पनि १०औं ओभरको अन्तिम बलमा आउट भएपछि नेपाल थप दबाबमा पर्‍यो। उनी २६ रनमा मर्‍यम बिबीद्वारा बोल्ड भइन्। २९ बल खेलेकी उनले चार चौका हिर्काइन्।

त्यसपछि नेपालकी कप्तान रुबिना क्षेत्रीले इनिङ समालिन्। अर्को छेउबाट ममता चौधरी ७ रन र कविता जोशी ९ रनमा आउट भए। तर, रुबिनाले सातौं विकेटका लागि अप्सरी बेगमसँग ४४ रनको साझेदारी गर्दै इनिङ उकासिन्। रुबिनाले नटआउट ३२ रन जोडिन्। उनले ३६ बलमा चार चौका प्रहार गरिन्। अप्सरी दुई चौकासहित २२ रनमा नटआउट रहिन्। हङकङकी चानले दुई तथा बिबी र इलिसा हबार्डले समान एक विकेट लिए।

हङकङले बुधबार नै समूहको अन्तिम खेल कुवेतसँग खेल्नेछ भने नेपालले शुक्रबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। नेपालले यस प्रतियोगिताकै आफ्नो सबैभन्दा ठूलो योगफल बनाए पनि बलिङमा साथ नपाउँदा जित निकाल्न सकेन। सुस्त ब्याटिङ गरेको नेपालका लागि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमले आक्रामक शैली अपनाउँदै सय रनको आँकडा पार गराएका थिए।

प्रकाशित: ८ असार २०७९ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App