१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकपमा आर्मी लगातार विजयी

उपाधिका साथ त्रिभुवन आर्मीका खेलाडीहरु। सर्वोत्कृष्ट खेलाडी अशोक बराल बुलेट मोटरसाइकलको साथ।

घरेलु टोली विजय युथ क्लवलाई निराश बनाउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लव लगातार दोस्रोपटक पनि मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको छ। तेस्रो संस्करणमा पनि घरेलु टोलीलाई हराएको आर्मीले यसपटक फाइनलमा विजय युथ क्लवलाई हराएको हो।

पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले विजय यूथलाई २–१ गोल अन्तरले हराएको हो। आर्मीको जितमा कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे। खेलको १४ औं मिनेटमै आर्मीले खवासको गोलमार्फत अग्रता लिएको थियो। विजय युथका डिफेन्डरले गल्ती गर्दा टेकबहादुर बुढाथोकीले उपलब्ध गराएको पासलाई उनले पोष्टको दिशा दिएका हुन्।

२५ औं मिनेटमा विजय यूथ खेलमा फर्किएको थियो। आर्मीका डिफेन्डरले पेनाल्टी क्षेत्रमा विजय युथका विमल रानालाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै डोना थापाले खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफको ५ औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। कमलबहादुर थापाले डिबक्स बाहिरबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो। खेलको ५५ औं मिनेटमा आर्मीले पेनाल्टीको अवसर पाएपनि दिनेश हेन्जनले गोल गर्न नसक्दा अग्रता बढाउनबाट चुक्यो। उनको प्रहार आकाशिएको थियो।

विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले आर्मीका सन्तोष केसीलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो। उपाधि विजेता आर्मीले १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा विजय युथ १० लाख रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो। आर्मीले क्यामरुनको एभिनियर एफसी र विजय युथले नेपाल पुलिस क्लवलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

विजय युथका बराललाई बुलेट

प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय युथका अशोक बरालले प्राप्त गरे। सर्वोत्कृष्ट खेलाडी भएका विजय युथका कप्तान तथा गोलरक्षक बरालले बुलेट मोटरसाइकल प्राप्त गरे। सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्टले बुलेट मोटरसाइकल उपलब्ध गराएको हो।

यू २३ को टिममा परिसकेका उनले गत ए डिभिजन लिग मनाङमर्स्याङ्दी क्लवबाट खेलेका थिए। अन्य विधागत पुरस्कार भने आर्मीले प्राप्त गरेको छ। आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपानेले विधागत उत्कृष्टको पुरस्कार प्राप्त गरे। उनीहरुले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

विजेता उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, आयोजक मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक प्रताप बिष्टलगायतले पुरस्कार वितरण गरेका हुन्।

प्रकाशित: ३० जेष्ठ २०७९ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App