coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अमेरिकासँग नेपालको रोमाञ्चक बराबरी

टोलीलाई समर्थन गर्न टेक्ससको मुसा रंगशाला पुगेका नेपाली समर्थक। तस्बिर सौजन्य: क्यान

कयौं पटक नाटकीय मोड लिएको खेलमा नेपालले घरेलु टोली अमेरिकासँगको आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा आइतबार बराबरी नतिजा आत्मसात् गरेको छ।

टेक्ससस्थित मुसा क्रिकेट स्टेडियममा २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन मात्र जोड्न सफल भएपछि नेपालले रोमाञ्चक बराबरी आत्मसात् गर्‍यो। जितका लागि घरेलु टोलीलाई अन्तिम ओभरमा ६ रन आवश्यक हुँदा ६ विकेट नै बाँकी थियो।

नेपालका कप्तान सन्दीप लामिछानेले डेब्युटेन्ट आदिल आलमलाई डेथ ओभरको जिम्मेवारी दिँदै जोखिम लिए। तर, आदिलले दबाबपूर्ण अवस्थामा विकेटसहित पाँच रन मात्र खर्चैंदै जित दिलाए। पहिलो चार बलमा ‘नो’ बलसहित आदिलले पाँच रन खर्चिए। तर, पाँचौं बलमा उनले आरोन जोन्सलाई २६ रनमा आउट गर्दै नेपालको आशा जीवन्त राखे।

अन्तिम बलमा विजयी रन निकाल्ने क्रममा राहुल जारिवाला रनआउट हुन पुगेपछि नेपालले रोमाञ्चक रूपमा एक अंक प्राप्त गर्‍यो। डेब्यु खेलमा अलराउन्ड प्रदर्शन गरेका आदिलले तीन विकेट पूरा गरे। यो खेलपछि नेपालले लिग–२ को १४औं खेलमा ६ जित, सात हार र एक बराबरीसहित १४ अंक बटुल्यो। ६ राष्ट्र सम्मिलित लिग–२ मा नेपाल पुछारबाट दोस्रोमा छ। अंकतालिकामा रहने शीर्ष तीन राष्ट्रले दोस्रो चरणमा प्रवेश पाउनेछन्।

यता स्टेभन टेलरको शतकका बाबजुद अमेरिकाको जित सम्भव भएन। ओपनर टेलरले १ सय १४ रन बनाए। उनले दोस्रो विकेटका लागि कप्तान मोनान्क पटेलसँग दुई सय रनको विशाल साझेदारी गर्दै घरेलु टोलीको जित आधार खडा गरेका थिए। नेपालका कप्तान सन्दीपले मोनान्कलाई ८५ रनमा आउट गर्दै त्यो साझेदारी तोडे। त्यो विकेटपछि पनि अमेरिका ४१.३ ओभरमा २२६/२ को बलियो स्थितिमा थियो।

थप ११ रन जोड्दा अमेरिकाले तेस्रो विकेटका रूपमा टेलरलाई गुमायो। आदिलको बलमा क्याच आउट हुनुअघि टेलरले १ सय २३ बलमा ११ चौका र तीन छक्का हिर्काए। मोनान्कको इनिङमा चार चौका र दुई छक्का रह्यो। ५.४ ओभरमा नै पहिलो विकेट गुमाएको अमेरिका त्यसपछि समालियो। तर, जितनजिक पुगेर पनि सदुपयोग गर्न भने सकेन। अन्तिम पाँच ओभरमा नेपाली बलरले पनि कसिलो बलिङ गर्दै घरेलु टोलीको जित रोके।

कप्तान सन्दीपसँगै सोमपाल कामीको नाममा थप एक विकेट रहँदा अन्य बलर विकेटविहीन रहे। अघिल्लो खेलमा पाँच विकेट लिएका करण केसी पनि अमेरिकासँग विकेटविहीन भए। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल राम्रो सुरुआतका बाबजुद अन्तिम आठ ओभर समालिन नसक्दा ठूलो योगफल बनाउनबाट चुक्यो। इनिङको चार बलअगावै नेपाल २ सय ७४ रनमा समेटियो।

४३.३ ओभरसम्म नेपाल २४३–३ को बलियो अवस्थामा थियो। तर, खातामा थप ३१ रन जोड्दा नेपालले सात विकेट नै गुमायो। भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीसँगै आरिफ शेख, करण केसी र सोमपाल कामी दोहोरो अंकमा रन नबटुल्दै आउट भएपछि नेपाल दबाबमा पर्‍यो। कप्तान सन्दीप १० रनमा दशौं विकेटका रूपमा आउट हुँदा सुसान भारी १ रनमा नटआउट रहे।

तीन युवा ब्याट्सम्यान आसिफ शेख, देव खनाल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेल्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। आसिफले ६१ रन, देवले ५४ रन र रोहितले ६४ रनको योगदान दिए। डेब्युटेन्ट आदिलले २४ बलमा ३६ रनको आक्रामक ब्याटिङ गर्दै दरिलो साथ दिए। तर, तल्लो क्रमका ब्याट्सम्यानले गैरजिम्मेवारीपूर्ण ब्याटिङ गर्दा नेपाल ठूलो योगफल बनाउन असफल रह्यो।

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर समेत रहेका रस्टी थेरनले नेपालविरुद्ध आफ्नो अनुभव देखाए। उनले सर्वाधिक चार विकेट लिए। सौरभ नेत्रभाल्कर र अली खानको नाममा समान दुई तथा निसर्ग पटेल र यासिर मोहम्मदले १/१ विकेट लिँदै नेपाललाई चार बल अगावै समेटे। त्रिदेशीय शृंखलाअन्तर्गत नेपालले ओमानसँग दोस्रो खेल मंगलबार खेल्नेछ। 

प्रकाशित: ३० जेष्ठ २०७९ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App