२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सफलताका मार्ग कोर्ने नेपालको लक्ष्य

एसिसी महिला ट्वान्टी–२० च्याम्पियनसिप

‘महिला टोलीले नेपालका लागि कुनै पनि ट्रफी ल्याउन सकेको छैन। यो भनिरहँदा हामी लामो समयदेखि क्रिकेट खेलिरहेका खेलाडीलाई पीडा हुन्छ। कुनै समय धेरै मिहिनेत गर्दा के नमिलेको, के नमिलेको हुन्छ। तर यसपालि सबै खेलाडीको मिहिनत देख्दा हामीले राम्रो गर्छौं भन्ने लागेको छ। 

खाली हात नफर्किने गरी प्रतिस्पर्धा गर्नेछौं,’मलेसियामा आयोजना हुने एसिसी महिला ट्वान्टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले भनिन्।

रुबिनाले भनेजस्तै सिनियर पुरुष क्रिकेट टोलीको दाँजोमा महिला टोलीको नतिजा सन्तोषजनक छैन। उपाधिको हिसाबमा महिला टोली सधै रित्तो छ। केही सीमित प्रतियोगितामा सहभागिताबाहेक विजेताको हैसियत महिला टोलीले आत्मसात गर्न सकेको छैन।

यतिबेला नेपाली महिला क्रिकेट टोली एसिसी महिला ट्वान्टी–२० च्याम्पियनसिपका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मिहिनत गरिरहेको छ। यो च्याम्पियनसि जुन १७ देखि २५ सम्म मलेसियामा हुँदै छ। च्याम्पियनसिप दुई अर्थले महत्त्वपूर्ण हुनेछ।

यो एसिया कपको रोडम्याप पनि हो भने अर्को महिला टोलीलाई उपाधिको खडेरी तोड्ने अवसरका रूपमा पनि हेरिएको छ। शीर्ष दुई अर्थात् फाइनलमा प्रवेश गरे नेपाल एसिया कपका लागि छनोट हुनेछ। सोही लक्ष्यसहित नेपालले तयारीलाई तीव्रता दिइरहेको छ। पछिल्लो पटक नेपालले घरेलु पिचमा युगान्डासँग शृंखला खेलेको थियो। तर, त्यो शृंखला नेपालले गुमायो। जहाँ नेपाली टोलीमा फिटनेस र फिल्डिङको ठूलो समस्या देखियो। उक्त शृंखलापछि खेलाडीले च्याम्पियनसिपलाई लक्ष्य राखेर नियमित अभ्यास गर्दै आइरहेका छन्।

अनौपचारिक रूपमा क्यानले १९ खेलाडीलाई समावेश गर्दै अभ्यासलाई तीव्रता दिइरह्यो। अन्तिम टोली घोषणा हुन बाँकी छ। एक साता लामो अभ्यासपछि टोलीमा भएका समस्या सुधार गरेको भन्दै मुख्य प्रशिक्षक जगत टमाटाले नेपाल च्याम्पियन भएर स्वदेश फर्किने बताए। ‘युगान्डासँगको शृंखलापछि एक दिनको अन्तरालमा हामीले अभ्यासलाई निरन्तरता दिएका थियौं,’प्रशिक्षक टमाटाले भने, ‘फिटनेस र फिल्डिङको समस्यामा केन्द्रित रहेर हामीले एक साताभन्दा बढी समय वर्कआउट गर्‍यौं। सुधार आएको छ। पानी नपर्दा मैदान उत्रिएर अभ्यास गरेका छौं। वर्षा हुँदा हामीले इन्डोरमा अभ्यास गर्‍यौं। सधैं पाँच घन्टा अभ्यास गरेका छौं। जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य छ।’

सिनियर टोलीबाट युगान्डाविरुद्ध डेब्यु गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनन्। यद्यपि क्यानले उनलाई उजागर गर्न सिनियर टोलीसँग अभ्यासको मौका दिएको छ। उनलाई अनुभव दिलाउन अभ्यासमा समावेश गरिएको क्यानले जनाएको छ। आवश्यक कागजात नपुगेको भन्दै उनी हाल टोली बाहिर छिन्। युगान्डासँगको शृंखलाले नेपाली टोलीको स्तर छुट्याइदिएको भन्दै नेपाली टोलीकी कप्तान रुबिनाले पनि सोही कमिकमजोरीमा अभ्यास गरिरहेको बताइन्।

‘युगान्डासँगको खेलपश्चात् हाम्रो स्तर देखियो। कमिकमजोरी थाहा पायौं र सुधार गरिरहेका छौं। त्यसका लागि हामीसँग अहिले ट्रेनर पनि हुनुहुन्छ। आजसम्म हामीले फिटनेसमा ध्यान दिइरहेका छौं,’रुबिनाले भनिन्, ‘आगामी खेलमा फिटनेसको समस्या समाधान हुनेमा म विश्वस्त छु। सबैले आआफ्नो ठाउँबाट सुधारका लागि प्रयास गरिरहनु भएको छ।’ सहभागी राष्ट्रमध्ये नेपाललाई चुनौति दिने टोली हङकङ रहेको प्रशिक्षक टमाटा बताउँछन्। यद्यपि नेपाली टोली सन्तुलित रहेको भन्दै टमाटाले नतिजा सुखद हुने बताए।

‘टोलीमा स्पिनरको अवस्था सन्तुलित छ। फास्ट बलर पनि राम्रा छन्। यद्यपि वर्कआउट गर्न बाँकी छ। एक दुई दिनमा हामी फास्ट बलरमा काम गर्छौं,’ टमाटाले भने, ‘मलेसियामा फरकफरक पिच छ। सोहीअनुसार तयारी गरिरहेका छौं।’ एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगितामा १० टोलीले सहभागिता जनाउँदै छन्। आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले चुनौती प्रस्तुत गर्नेछन्। उक्त टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘बी’ मा छ र सो समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन्। समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनलमा पुग्ने दुई टोली अक्टोबरमा आयोजना हुने महिला ट्वान्टी–२० एसिया कपमा छनोट हुनेछन्।

छनोट हुने टोलीले भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेशसँग एसियाकप खेल्नेछन्। छनोटमा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ। नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइनविरुद्ध खेल्नेछ। अन्तिम खेल नेपालले जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका छ।

प्रकाशित: २९ जेष्ठ २०७९ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App