३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

स्टार खेलाडीले भरिएको मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

सत्रुघन चौधरीलाई म्यान अफ द म्याच प्रदान गरिँदै।

राष्ट्रिय टिमबाट खेलिसकेका स्टार खेलाडीले भरिएको मनाङ मर्स्याङ्दी क्लवलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

अन्जन बिष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठ लगायतका चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो। खेलको ३४ औं मिनेटमा भरत शाहले गरेको गोल नै पुलिसको जितमा निर्णायक बन्यो। मनाङका गोलरक्षक विशाल श्रेष्ठले फालेको बललाई नियन्त्रणमा लिँदै शाहले गरेको प्रहार गोल भएको थियो। ४१ औं मिनेटमा मनाङले बराबरी गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन।

पुलिसका अजित भण्डारीले विमल घर्ती मगरलाई डीबक्स क्षेत्रमा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो। अन्जन बिष्टको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाएका थिए। त्यसपछि मनाङले लगातार आक्रमण गरेपनि पुलिसका गोलरक्षक चौधरी बाधक बनेका थिए। उनले मनाङको करिब एक दर्जन प्रहारलाई निष्तेज बनाइदिएका थिए।

खेलको म्यान अफ द म्याच उनै गोलरक्षक चौधरी भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। जारी प्रतियोगितामा बुधबार मकवानपुरको विजय यूथ नव जनजागृति क्लव सिमराको खेल हुनेछ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण यही वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा १२ क्लवको सहभागिता छ।  

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको स्वीकार गरे। ‘नेश्नल टिमबाट फालिएका खेलाडीहरुले ‘फ्रस्टेसन’ का कारण ट्रेनिङ नगरेकोले राम्रो खेल्न सकेनन्। पुलिसका गोलरक्षकले निकै राम्रो खेल्यो,’ तामाङले भने, ‘विपक्षीको रणनीति सफल भयो।

यस्तै पुलिसका प्रशिक्षक अनन्त थापाले अधिकांश राष्ट्रिय टिमबाट खेलिसकेको टिमलाई जित्दा हौसला बढेको बताए। ‘हामी जितका लागि आएका हौं। हाम्रा खेलाडीले निकै मेहेनत गरेर खेले,’ थापाले भने, ‘रेफ्रीको निर्णय चित्तबुझ्दो भएन।’  

पुलिसलाई ३ रातो कार्ड

मनाङ मर्स्याङ्दीसंगको खेलमा नेपाल पुलिस क्लवको प्रशिक्षक र खेलाडी गरी तीनजनाले रातो कार्ड पाएका छन्। प्रशिक्षक अनन्त थापा तथा खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठले रातो कार्ड पाएका हुन्। श्रेष्ठले मैदान प्रवेश नगर्दै रातो कार्ड पाएका हुन्। मैदान छिनै ‘वार्मअप’ गरिरहेका बेला ‘अफसाइड’को बिषयलाई लिएर निर्णायकसंग असन्तुष्टि जनाएपछि कार्ड दिइएको थियो। पहेंलो कार्ड पाएका उनले आफ्नो असन्तुष्टिलाई कायम राखेपछि रातो कार्ड दिइएको थियो।

यस्तै तामाङले अन्जन बिष्टलाई हात हालेपछि रेफ्रीले रातो कार्ड दिएका हुन् भने प्रशिक्षक थापाले तोकिएको स्थानबाट पटक पटक बाहिर गएपछि रातो कार्ड पाएका हुन्।

प्रकाशित: २४ जेष्ठ २०७९ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App