१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

विभागीय टोली एपीएफ र पुलिस क्वार्टरफाइनलमा

बलमा भिड्दै एपीएफ र फ्रेण्ड्स क्लवका खेलाडी।

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिस क्लव क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। आइतबार बिहान भएको खेलमा एपीएफले फ्रेण्ड्स क्लव लाई ३–० गोलले हराउँदा दिउँसोको खेलमा पुलिसले खुमलटार युवा क्लवलाई २–१ गोलले हराएको हो।

शनिबारका लागि तय भएको एपीएफ र फ्रेण्ड्सको खेल बर्षात्का कारण स्थगीत भएपछि आइतबार बिहान खेलाइएको थियो। एपीएफले खेलको २९ औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। फ्रेण्ड्सका डिफेन्डरले एपीएफका प्रदीप लामालाई डिबक्स क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नविन लामाले गोल गरेका हुन्।

पहिलो हाफमा १ गोलले अघि रहेको एपीएफले दोस्रो हाफमा थप २ गोल गरेको थियो। दोस्रो हाफको सुरुवातीमै फ्रेण्ड्स १० खेलाडीमा सीमित भएपछि एपीएफले मौकाको फाइदा उठाउँदै २ गोल थप्यो। खेलको ५५ औं मिनेटमा एपीएफका राजिव पहारी रातो कार्ड पाउँदै मैदान छाडेपछि एपीएफ १० खेलाडीमा सीमित भएको थियो।

७६ औं मिनेटमा एपीएफका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सविन गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको अतिरिक्त समयमा एपीएफका लागि रवि थिङले गोल गर्दै खेललाई ३–० मा पुर्‍याए। खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी हात पारे।  

यस्तै आइतबार दिउँसो भएको खेलमा नेपाल पुलिस क्लवले खुमलटार युवा क्लवलाई २–१ गोल अन्तरले हराएको छ। खेलमा पुलिसले दोस्रो मिनेटमै अभिषेक रिजालको गोल मार्फत अग्रता लिएको थियो। २३ औं मिनेटमा भरत शाहले अग्रता दोब्बर बनाए। खुमलटारका लागि अजित लामाले ९० औं मिनेटमा गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन्। खेलको म्यान अफ द म्याच खुमलटारका दिवस सत्याल भए। उनले पनि १० हजार सहित ट्रफी हात पारे। जारी प्रतियोगितामा सोमबार एपीएफ र त्रिभुवन आर्मी क्लवको बीचमा खेल हुनेछ।

यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २२ जेष्ठ २०७९ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App