२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नाडाल र काका टोनीको प्रतीक्षामा समर्थक

टोनी नाडाल विश्व कीर्तिमानी २१औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडाल उच्च लयमा रहेका बेला उनका प्रशिक्षक थिए। टोनी उनका काकासमेत हुन्।

टोनी र नाडाल आइतबार फ्रेन्च ओपनको चौथो चरणमा आमनेसामने हुँदैछन्, तर फरक भूमिकामा। नाडालले शुक्रबार २६औं वरीयताका डचका बोटिक भान डी जान्स्लुपलाई ६–३, ६–२ र ६–४ ले हराउँदै फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका थिए। चौथो चरणमा नाडालले क्यानडाका फेलिक्स औगर अलियास्मीको सामना गर्दै छ।

अलियास्मीको प्रशिक्षण टोनीले सम्हालिरहेका छन्। टोनीले गत महिनाबाट मात्र अलियास्मीको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए। चार वर्षअघि १३ पटकका फ्रेन्च ओपन विजेता नाडाल र टोनीले २७ वर्षको साझेदारीमा पूर्णविराम लगाएका थिए।

‘मेरो लागि निकै सहज छ,’नाडालले भने, ‘उनी मेरा काका हुन् र उनी मैले हारेको हेर्न चाहदैनन्। उनी मैले उत्कृष्ट प्रदर्शन गरेको हेर्न चाहन्छन्। म पनि उनले धेरै उपलब्धि हासिल हेरेको हेर्न चाहन्छु। उनी व्यावसायिक प्रशिक्षक हुन् र उनले अहिले अन्य खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्। उनी प्लेयर बक्समा हुन्छन् वा हुँदैनन् पनि मलाई थाहा छैन। साच्चै भन्नुपर्दा उनको सामना गर्दा मलाई कुनै समस्या छैन।’

मड्रिडमा अलियास्मी र राफेल एक पटक आमनेसामने भएका थिए। सन् २०१९ मा भएको भेटमा नाडालले सोझो सेटमा जित निकालेका थिए। अलियास्मीले पहिलो पटक फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएका हुन्।

‘टोनीको प्रशिक्षणमा खेल्दा कुनै दिन नाडालसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने लागेको थियो। अब त्यो पूरा हुँदै छ,’गत सेप्टेम्बरमा युएएस ओपनको सेमिफाइनलसम्म यात्रा तय गरेका अलियास्मीले भने, ‘टोनीले तटस्थ स्थानमा बसेर नाडाल र मेरो बीचको खेल हेर्छन् होला। उनले खेलको मज्जा लिनेछन्। मेरा लागि यो निकै महत्वपूर्ण खेल हो। नाडालले टोनीको प्रशिक्षणमा जुन सफलता हात पारे, म त्यही सफलता प्राप्त गर्न चाहन्छु।’

नाडालले आइतबारको खेलमा जस्तो नतिजा आए पनि ६१ वर्षे काका टोनीसँगको सम्बन्धमा कुनै उतारचढाव नआउने बताए। नाडालले २१ ग्रान्ड स्लाममध्ये १६ ग्रान्ड स्लाम टोनीको प्रशिक्षणमा जितेका थिए। ‘टोनी आफ्नो निर्णय आफै लिने सामर्थ राख्छन्, ‘नाडालले भने, ‘मेरा लागि उनले गरेको योगदान सधै विशेष रहनेछ। हामी एकै परिवारका सदस्य हाैँ र उनी मेरा लागि विशेष छन्।’

अल्सिास्मीमाथि जित निकालेमा नाडालले विश्व नम्बर एक नोभाक जोकोभिचसँगको सम्भावित क्वार्टरफाइनल भेट पक्का गर्नेछन्। जोकोभिचले चौथो चरणमा अर्जेन्टिनाका डिएगो स्वार्चम्यानको सामना गर्नेछन्।

प्रकाशित: १५ जेष्ठ २०७९ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App