२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

हिरण्मयीको यादगार डेब्युमा नेपाललाई सफलता

१५ वर्षीया लेग स्पिनर हिरण्मयी रोयको यादगार डेब्यु खेलमा नेपालले शुक्रबार पाहुना टोली युगान्डामाथि ऐतिहासिक जित प्राप्त गरेको छ।

हिरण्मयीको दुई विकेट प्रेरणामा नेपालले युगान्डासँगको चौथो ट्वान्टी–२० क्रिकेटमा १५ रनको सफलता प्राप्त गर्दै ऐतिहासिक जित आत्मसात् गरेको हो। नेपाली महिला क्रिकेट टोलीका लागि घरेलु भूमिमा यो पहिलो सफलता पनि रह्यो। घरेलु भूमिमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेको नेपाली महिला क्रिकेट टोलीले यसअघिका तीन खेलमा लगातार हार बेहोर्दै पाँच खेलको शृंखला गुमाइसकेको छ। यद्यपि, ओसिलो मैदानका कारण १८ ओभरमा छोट्याइएको चौथो खेलमा ऐतिहासिक सफलता निकाल्दै नेपाल घरेलु मैदानमा जारी पहिलो शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा पुगेको छ।

९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित पूरै ओभर नै खेले पनि आठ विकेटको क्षतिमा ८२ रन मात्र बनाएपछि नेपालले पहिलो जित निकाल्यो। नेपाली बलरले सुरुदेखि नै पाहुना टोलीमाथि दबाब बनाइराखे। तर, चौथो दिन पनि घरेलु टोलीले फिल्डिङमा उल्लेखनीय सुधार गर्न सकेन। बलरले भने अन्तिम ओभरसम्म किफायती बलिङ गर्दै लय समात्दा नेपालले लक्ष्य सामान्य रक्षा ग¥यो। हिरण्मयीले दुई विकेट लिइन्। डेब्युमा तीन ओभर बलिङ गरेकी हिरण्मयीले ११ रन मात्र खर्चिइन्। प्लेयर अफ दी म्याचसमेत घोषित उनले नगद १० हजार रूपैयाँ पाइन्।

त्यस्तै अस्मिना कर्माचार्य, कविता कुँवर र कप्तान रुबिना क्षत्रीको नाममा समान एक विकेट रह्यो। युगान्डाको सुरुआत राम्रो हुन सकेन र दोस्रो ओभरको छैटौं बलमा नै ओपनर लिओना बाबिरे शून्यमा नै पवेलियन फर्किए। अर्की ओपनर केभिन अविनो पनि ११ रनमा नै रनआउट भइन्। युगान्डाले ५.३ ओभरमा १९ रन बटुल्दा दुई ओपनरलाई गुमाउन पुग्यो। तर, तेस्रो विकेटका लागि जानेट एमबाबजी र रिता एनयान्गेडोले ३७ रनको साझेदारी गर्दै इनिङ उकासे। कप्तान रुबिनाले १३औं ओभरमा डेब्युटेन्ट हिरण्मयीलाई बल थमाइन्।  

सोही ओभरको छैटौं बलमा नै उनले महत्वपूर्ण ब्याटर जानेटलाई २१ रनमा बोल्ड गर्दै आफ्नो डेब्यु यादगार बनाउने संकेत गरिन्। लयमा रहेकी जानेटले शृंखलामा सर्वाधिक ९३ रन बटुलेकी छिन्। १५औं ओभरको पहिलो बलमा नै रिता १६ रनमा रनआउट भइन्। उनी विकेटकिपर ज्योति पाण्डेद्वारा रनआउट भएपछि नेपालले चौथो विकेट प्राप्त गर्‍यो। विकेटको पतनसँगै आवश्यक रनरेट पनि बढेपछि पाहुना टोली दबाबमा पर्‍यो र १६औं ओभरमा थप दुई विकेट गुमाउन पुग्यो। सो ओभरको पाँचौं बलमा रुविनाले रिता मुसामलीलाई बोल्ड गरिन्।

लगत्तै अर्को बलमा फिओना कुलुमी रनआउट भएपछि युगान्डाको पाँचौं विकेट पतन भयो। अन्तिम दुई ओभरमा युगान्डालाई २८ रन आवश्यक हुँदा हिरण्मयीले एक विकेटसहित २ रन मात्र खर्चिएपछि नेपाल जितनजिक पुग्यो। उनले कप्तान कोन्सी एओकेलाई खाता नखोल्दै पवेलियनको बाटो देखाइन्। डेथ ओभरमा कविता कुँवरले एक विकेट लिँदा १० रन खर्चिए पनि नेपालको जितका लागि पर्याप्त बन्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गरे पनि १७.५ ओभरमा ९७ रनमा नै अलआउट भयो।

अन्तिम आठ ओभरमा ३७ रन जोड्दा नेपालले सात विकेट गुमाएपछि सयको आँकडा पार गर्न सकेन। ओपनरद्वय ज्योति पाण्डेले १७ रन र विन्दु रावलले १६ रन बनाए। १३ बलमा चार चौका हिर्काएकी ज्योति चौथो ओभरमा बोल्ड भइन्। त्यसपछि उपकप्तान इन्दु बर्मा १ रनमा बोल्ड हुँदै शृंखलामा खराब लय जारी राखिन्। चौथो नम्बरमा ब्याटिङ गर्न आएकी अनुभवी ब्याटर सीता रानामगरले ११ रनबाहेक अन्यले दोहोरो अंकमा नै रन बटुल्न सकेनन्।

८ बलमा दुई चौका हिर्काएकी सीता रनआउट हुन पुगिन्। कप्तान रुबिना ठूला सट खेल्ने चक्करमा स्टम्पिङ हुँदा अप्सरी बेगम र डली भट्ट पनि इनिङ अगाडि बढाउन असफल भए। युगान्डाकी कप्तान कोन्सीले तीन विकेट तथा साराह एकिटेङले विकेट लिँदा फिओना र जानेटको नाममा समान १/१ विकेट रह्यो। शनिबार नै नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ।  

प्रकाशित: ७ जेष्ठ २०७९ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App