१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले युगान्डाविरुद्धको शृंखला गुमायो

लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टोलीले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको पाँच खेलको ट्वान्टी–२० शृंखला दुई खेलअगावै गुमाएपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले खेलाडीको फितलो प्रदर्शन नै मुख्य कारण भएको बताएकी छिन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सम्पन्न पाँच खेलको ट्वान्टी–२० शृंखलाअन्र्तगत तेस्रो खेलमा युगान्डासँग ६ विकेटले पराजित भएपछि कप्तान रुबिना क्षेत्रीले हारको कारण खेलाडीको फिटनेस र फितलो प्रदर्शन भएको सुनाएकी हुन्। उनले टोलीनेता भएकाले पराजयको जिम्मा आफूले  लिने बताइन्। खेलपछिको पत्रकार सम्मेलनमा अपेक्षाअनुसारको प्रदर्शन ब्याटिङ र बलिङ पक्षमा नहुँदा शृंखला गुमाउनुपरेको स्वीकार गरेकी हुन्। कप्तान रुबिनाले नेपाली खेलाडी मुख्य फिटनेस र फिल्डिङमा चुकेको बताइन्।

‘तीन खेलको समीक्षा गर्ने हो भने राम्रो स्कोर गर्न नसकेको हो। ब्याटिङ विकेटमा एक सय रन निकै न्यून हो। सबै जनाले नोटिस गरेको कुरा हो, हाम्रो फिटनेस र फिल्डिङ एकदमै कमजोर भएको छ। जुन खेलका लागि निकै महत्त्वपूर्ण पक्ष हो,’ कप्तान रुबिनाले भनिन्, ‘नयाँ युवा खेलाडीबाट अपेक्षाअनुसारको प्रदर्शन हुन सकेन। प्रतियोगिता नहुने अवस्थामा पनि सबै खेलाडीले फिटनेसमा वर्कआउट गरिरहेको भनिए पनि मैदानमा देखिएको छैन। हामीले जित्न नै बिर्सिसकेका छौं।’

अघिल्ला दुई खेल गुमाइसकेको नेपालले बिहीबार जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिए पनि नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको हो। जसका कारण पाँच ट्वान्टी–२० खेलको शृंखला भ्रमणकारी टोली युगान्डाको पक्षमा पुगेको छ। नेपाली टोलीमा अघिल्ला खेलमा जस्तै कुनै पक्षमा सन्तोषजनक प्रदर्शन हुन सकेन। कप्तान रुबिनाले अपेक्षा गरिएअनुसार नयाँ खेलाडीले प्रदर्शन गर्न नसकेको स्वीकार गरिन्।

‘लगातारको पराजयपछि हामीले छलफल पनि गरेका थियौं। खेलाडीलाई कसरी राम्रो प्रदर्शन गर्ने योजनासहित आएका हुन्छौं। खेलको दिन ओपनरलाई ओपनरको जिम्मा, फस्ट डाउनलाई फस्ट डाउनको जिम्मा दिनुपर्‍यो। तर, त्यसअनुसारको नतिजा आउन सकेकौ छैन,’ कप्तान रुबिनाले भनिन्, ‘यस्तै अवस्थामा कि त खेलाडीले गम्भीर रूपमा लिएका छैनन् या सबै खेलाडीको बोझ एउटै खेलाडीमा परेको पनि हुन सक्छ। यस्तै अवस्थामा टोलीमा रहेका सम्पूर्ण सदस्यले आफ्नो भूमिकालाई राम्रोसँग सोच्नुपर्ने भएको छ।’

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युगान्डासामु १ सय रनको लक्ष्य प्रस्तुत गरेको थियो। जबाफी ब्याटिङमा उत्रिएको युगान्डाले १८.२ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। फितलो बलिङ गरेको नेपालविरुद्ध युगान्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२ रनको अविजित इनिङ खेल्दा अर्की ओपनर लियोना बाब्रिए ५ रनमा पवेलियन फर्केकी थिइन्।

यस्तै, यानेट एम्बाबाजीले २७ रनको पारी खेल्दा रिता मुसामालीले ९ रनको योगदान गरेकी थिइन्। सामान्य लक्ष्य पछ्याएको युगान्डाका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएकी रिता न्यान्गेन्डो १ रनमा पवेलियन फर्किँदा फियोना कुलुमे ४ रनमा अविजित रहिन्। युगान्डाको ४ विकेट निकाल्ने क्रममा तीव्र गतिकी बलर कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दु बर्माले १/१ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि ज्योति पाण्डे अर्धशतक बनाउन तीन रनले चुकिन्। ५४ बलमा पाँच चौकासहित ४७ रनको महत्त्वपूर्ण इनिङ खेले पनि उनलाई अन्य ब्याट्सवुमनले साथ दिन सकेनन्। लगातार विकेट गुमाएको नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोड्नुबाहेक अन्य ब्याट्सवुमनले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

किफायती बलिङ गरेको युगान्डाका लागि फियोना कुलुमे, कोन्ची अवेको र साराह एकिटेङले २–२ तथा यानेट एम्बाबाजी र रिता मुसामालीले १–१ विकेट आफ्नो नाममा लेखाए। यससँगै नेपालले शृखंला गुमाउन पुगेको छ। यद्यपि दुई खेल अझै बाँकी छन्। नेपालल पहिलो ट्वान्टी–२० मा १२ रनले पराजित भएको थियो भने दोस्रो ट्वान्टी–२० मा १ विकेटले स्तब्ध बनेको थियो। चौथो खेल अब नेपालले शुक्रबार खेल्नेछ भने अन्तिम खेल शनिबार हुनेछ। 

प्रकाशित: ६ जेष्ठ २०७९ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App