१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

१९औं एसियाड अनिश्चितकाल लागि स्थगित

कोभिड–१९ संक्रमण महामारीका कारण चीनको हान्झाओमा सेप्टेम्बरका लागि तय १९औं एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको छ।

एसियाड सेप्टेम्बर १० देखि २५ सम्म तय थियो। तर, चीनका अधिकांश राज्यहरूमा पुनः कोभिड–१९ संक्रमित दर बढेसँगै प्रतियोगिता हालका लागि स्थगित गरिएको हो। चीनकै सबैभन्दा ठूलो सहर सांघाईभन्दा दुई सय किलोमिटरमा टाढा हान्झाओले केही दिनअघि मात्र कोभिड–१९ महामारीको संक्रमण न्युनीकरणका लागि भन्दै एक साता लकडाउन घोषणा गरेको थियो। ओलम्पिक काउन्सिल एसिया(ओसिए) ले विज्ञप्ती जारी गर्दै सबै सरोकारवाला पक्षसँगको छलफलपछि प्रतियोगिता स्थगन गर्ने निर्णयमा पुगेको जनाएको छ। प्रतियोगितामा १० हजार खेलाडी सहभागी हुँदै थिए।

त्यस्तै आगामी महिना छेन्दुमा तय विश्व विश्वविद्यालय खेलकुदसमेत सन् २०२३ सम्मका लागि स्थगित भैसकेको छ। आयोजकले गत महिना हान्झाओमा एसियाली खेलकुद र पारा एसियन खेलकुदका लागि ५६ वटा नयाँ भेन्युको निर्माण कार्य सम्पन्न भएको जनाएको थियो। ओसिएले कोभिड–१९ महामारीबीच पनि सफलतापूर्वक बेइजिङ विन्टर ओलम्पिक आयोजना गरिसकेकाले एसियाली खेलकुद पनि निर्धारित समयमै आयोजना हुने दाबी गरिएका थियो। यसअघि चीनले सन् १९९० मा बेइजिङमा र २०१० मा ग्वान्झाओमा एसियन गेम्स सम्पन्न गरेको छ।  

यस पटकको एसियाली खेलकुद हान्झाओका साथै निम्बो,वेन्जाओ, हुजाओ, साओसिङ र जिन्ह्वामा पनि गरिने तालिका छ। टोकियो ओलम्पिक २०२० मा भारोत्तोलनतर्फ स्वर्ण पदकविजेता ताइवानकी ख्वा हिसिङ च्वानले आफू एसियाली खेलकुद निर्धारित समयमा नहुनेमा मानसिक रूपमा तयार रहेको प्रतिक्रिया दिइन्। ‘कोभिड–१९ महामारीको संक्रमित संख्या बढिरहेको छ। चीनका धेरै सहरहरूमा लकडाउन घोषणा भैसकेका थिए,’ उनले भनिन्, ‘त्यसैले प्रतियोगिता सर्छ भन्नेमा म मानसिक रूपमा तयार थिएँ।’

तर, केही राष्ट्रहरूले भने प्रतियोगिता पछि सर्दा त्यसले खेलाडीको दैनिक अभ्यास र उनीहरूको स्वभाविक प्रदर्शनमा कमी आउने आशंका गरेका छन्। ‘खेलाडीहरूले करिब एक वर्ष कुर्नपर्ने भएको छ। यस दौरान उनीहरू मानसिक रूपमा कमजोर हुन सक्छन् र प्रशिक्षणमा पनि असर गर्न सक्छ,’ भारतीय ओलम्पिक कमिटीका सचिव राजीव मेहेताले भने।

आसिएले डिसेम्बरमा सान्ताओमा तय युथ एसियाली खेलकुद भने रद्द गरिएको जनाएको छ। गत वर्षका लागि तय प्रतियोगिता यसअघि नै एक वर्ष पछि सरेको थियो।

प्रकाशित: २४ वैशाख २०७९ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App