१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

बलका लागि प्रतिस्पर्धा गर्दै लिभरपुलका मोहम्मद सालाह (रातो) र भियारियालका परभिस एस्तुपिनान।तस्बिरः एपी

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले टोली पाँच वर्षको अन्तरमा तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल प्रवेश गर्नु विशेष क्षण भएको बताएका छन्।

लिभरपुल एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको समेत संघारमा पुगेको छ। लिभरपुलले मंगलबार सेमिफाइनल दोस्रो लेगमा भियारियालाई ३–२ ले पराजित गरेको हो। पहिलो लेगमा लिभरपुलले घरेलु मैदान एन्फिल्डमा २–० को जित निकालेको थियो।

भियारियालले पहिलो हाफमा बोलाय डिया र फ्य्रांकेस कोक्वेलेनको गोलमा २–० को अग्रता लिँदै समग्रमा खेल २–२ को बराबरीमा ल्याएको थियो। दोस्रो हाफमा क्लोपले लुइस डियाजको स्थानमा डिएगो जोटालाई मैदान प्रवेश गराएपछि लिभरपुल लयमा फर्किएको थियो। १२ मिनेटको अन्तरमा ३ गोल गरेसँगै लिभरपुलले खेल ३–२ ले जितेको हो। लिभरपुलले समग्रमा ५–२ को जित निकालेको हो।

‘पहिलो पटक फाइनल प्रवेश गर्दा जुन विशेष ऊर्जा मिलेको थियो, आज त्यस्तै महसुस भइरहेको छ,’ क्लोपले भने, ‘भियारियाल पनि राम्रो टोली हो। उनीहरूले २–० को अग्रता लिँदै हामीलाई दबाब दिएका थिए। पुनरागमन अझ विशेष रह्यो। हामी आज मानसिक रूपमा भियारियालमाथि हाबी थियांै। हामीले पछि परे पनि स्वाभाविक लय भने गुमाएनौं।’

‘फाइनल प्रवेश गर्नु त्यति सहज थिएन र पाँच वर्षको अन्तरमा तेस्रो पटक फाइनल प्रवेश गर्नु विशेष क्षण हो,’ एन्डी रोबटर््सनले भने, ‘हामीले भियारियाललाई कमजोर टोलीका रूपमा लिएनौं। त्यो नै जितको मुख्य आधार हो।’ भियारियालले सेमिफाइनलसम्मको यात्रा तय गर्ने क्रममा युभेन्ट्स र बायर्न म्युनिखलाई निराश पारेको थियो।

‘डियाज उत्कृष्ट खेलाडी हुन्,’ रोबर्टसनले भने, ‘उनी सधैँ टोलीको जितका कारक बनिरहेका छन्। उनको आगमनले टोलीमा सधैं ठूलो भूमिका खेल्ने गरेको छ।’

‘खेलको तेस्रो मिनेटमै डियाको गोलमा भियारियालले अग्रता लियो। ४१औं मिनेटमा कोक्वेलेनले भियारियालको अग्रता दोब्बर पारेका थिए। ६२औं मिनेटमा फाबियान्होको गोलमा लिभरपुलले खेलमा फर्कने संकेत गरेको थियो। ६७औं मिनेटमा डियाजको गोलमा लिभरपुल खेलमा फर्किएको थियो। ७४औं मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले जित पक्का गरेको थियो।

प्रकाशित: २२ वैशाख २०७९ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App