१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अझै लिड्सलाई रेलिगेसन भय

रेलिगेसन क्षेत्रभन्दा दुई स्थान माथि रहेको लिड्स युनाइटेड सोमबार इङ्लिस प्रिमियर लिगमा १४औं स्थानको क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ।

प्यालेसको घरेलु मैदानमा भएको खेलमा बराबरीमा रोकिएको लिड्सले एक अंक निकाले पनि रेलिगेसन भय अझै देखिएको छ। रेलिगेसन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको लिड्सविरुद्ध घरेलु टोलीले दबाब दिएर खेले पनि पाएका अवसर गुमाउँदा अंक बाँड्न बाध्य भयो। बराबरीसँगै लिड्स रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले अगाडि छ। तर, रेलिगेसन क्षेत्रमा पुछारबाट तेस्रो स्थानमा रहेको एभर्टनको एक खेल कम छ। यस्तै रेलिगेसन भयमा रहेको बर्नली दुई अंकले मात्र अगाडि छ। अघिल्लो सिजन राम्रो खेल्दै प्रिमियर लिग समापन गरेको लिड्सका बाँकी तीन खेल बलिया प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी, आर्सनल र चेल्सीसँग छ।

यसै कारण लिड्सले रेलिगेसनबाट बच्न निकै संघर्ष गर्नुपर्ने भएको छ। प्रशिक्षक मार्सेलो बियाल्सालाई प्रतिस्थापन गरेसँगै लिड्सले पछिल्ला सात खेल खेल्दा ११ अंक बटुल्न सकेको छ। लिड्सले बियाल्साको स्थानमा अमेरिकन मास्र्चलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो। बर्नलीले अघिल्लो खेलमा उल्भसविरुद्ध १–० को जित निकाल्दा उसलाई केही राहत मिल्यो। सोही नतिजाबाट बर्नली रेलिगेसन क्षेत्रभन्दा एक स्थानमाथि उक्लिन सफल भयो।

‘आज हाम्रा लागि राम्रो भएन। तर अपराजित स्वाद हामीले लिन सफल भयौं। एक अंक भए पनि तालिकामा थपेका छौं, जुन हाम्रा लागि सकारात्मक पक्ष हो,’ लिड्स युनाइटेडका प्रशिक्षक मास्र्च भने, ‘हामी अझै डरमा छौं। यस्तै अवस्थामा स्पष्ट जित र बराबरीले पनि राहत मिलेको छ। रेलिगेसन लिग सिजन भरी कायम रहन्छ। यद्यपि हामीले रेलिगेसन त्रासलाई थाती राखेर सुखद नतिजाका लागि खेल्नु पर्नेछ।’ प्यालेसविरुद्ध सोमबार लिड्स मैदान उत्रिँदा इङ्ल्यान्डका काल्भिन फिलिप्स पाँच महिनापछि मैदान फर्किए।

ह्यास्ट्रिङको समस्याबाट ग्रसित फिलिप्स गत नोभेम्बरदेखि टोली बाहिर थिए। फिलिप्स मैदान प्रवेश गरेपनि अपेक्षाअनुसारको खेल देखाउन सकेनन्। खेलमा प्यालेसले पहिलो हाफबाट नै दबाब दिएर खेले पनि माटेटाको प्रदर्शन निकै फितलो रह्यो। उनले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा प्यालेसले स्पष्ट जितको अवसर गुमाएको हो। प्रिमियर लिगमा अब पाँच खेल बाँकी रहँदा शीर्षताको होड झनै रोमाञ्चक बन्दै गएको छ। ३३ खेल खेलेको लिग लिडर म्यानचेस्टर सिटी दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले मात्र अगाडि छ।

सिटीको लयमा कुनै टोलीले धक्का दिँदा लिभरपुललाई फाइदा हुनेछ भने उस्तै अवस्था सिटीमा पनि छ। लिभरपुल र सिटीबीच उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। यस्तै च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि पनि सातौं स्थानका टोलीसम्म समीकरणको सम्भावना उतिकै छ। टोटेनह्याम र म्यानचेस्टर युनाइटेडलाई पनि शीर्ष चारमा फर्किन निकै संघर्ष गर्नु परेको छ।

प्रकाशित: १४ वैशाख २०७९ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App