१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मुख्यमन्त्री बिवाइसी महिला फुटबलः मोफसलमा जग बसाउने प्रयास

नेपालमा पुरुष फुटबलको तुलनामा महिला फुटबल प्रतियोगिता विरलै हुने गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष फुटबलमा लिगको जुन संरचना तयार पारेको छ महिला फुटबलमा खासै ध्यान दिएको देखिँदैन।  

त्यसो त महिला फुटबलका लागि सबैभन्दा ठूलो प्रतियोगिता नै राष्ट्रिय महिला लिग रहने गरेको छ। गत वर्ष पनि महिला फुटबलमा दुई प्रतियोगिता मात्र भए, उपमेयर महिला राष्ट्रिय लिग छनोट र महिला राष्ट्रिय लिग।  

पुरुष फुटबलमा संघ, जिल्ला र मोफसलका क्लबले जुन प्रकारले प्राथमिकता दिएका छन् महिला फुटबलमा मोफसलमा नकआउट प्रतियोगिता हुनु दिवास्वप्नजस्तै थियो। धनगढीको वनदेवी युवा क्लब (बिवाइसी)ले मोफसलमा पहिलो पटक महिला गोल्डकपको रूपमा प्रथम राष्ट्रिय मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्‍यो। जुन महिला फुटबलमा नयाँ अभ्यासको सुरुआत बनेको छ।  

‘महिला फुटबलमा केही गरौं र महिला फुटबल विकासमा टेवा पुगोस् भनेर हामीले यो प्रतियोगिताको आयोजना गरेका हाैं,’ बिवाइसीका अध्यक्ष सुशन जोशीले भने, ‘प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गर्‍यौं। केही कमीकमजोरी रह्यो होला तर यो प्रतियोगिताले महिला फुटबलरको मनोबल बढाउने काम गरेको छ भन्नेमा हामी विश्वस्त छाैं। नेपाली महिला राष्ट्रिय टोलीमा पनि सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने खेलाडीको संख्या धेरै छ। स्थानीय महिला खेलाडीको मनोबल बढोस् भन्ने हेतुले पनि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं।’

बिवाइसीले सुदूरपश्चिम खेलकुद परिषद्को सहयोगमा प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा तीन विभागीय टोली एपिएफ, नेपाल पुलिस, नेपाल आर्मीका साथै कालिका स्पोटर्स क्लब, बाग्मती युवा क्लब, बिवाइसी युथ क्लब, विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका गरी कुल आठ टोलीको सहभागिता रहेको थियो।

महिला लिगमा सधैँ दबाब बनाएको एपिएफले महिला गोल्ड कपको उपाधिमा भने नाम लेखाउन सकेन। शनिबार सम्पन्न फाइनलमा एपिएफ नेपाल पुलिस क्लबसँग १–० ले स्तब्ध भएको थियो।

नेपाल पुलिसका प्रशिक्षक सञ्जीव जोशीले एपिएफमाथिको जितले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा टोलीको मनोबल बढेको बताए।

‘महिला फुटबलमा एपिएफको दबदबा छ। उनीहरूलाई हामी र आर्मी क्लबले चुनौती दिँदै आएका थियाैं,’ जोशीले भने, ‘यस पटक भने हामी एपिएफमाथि जित हात पार्न सफल भएका छौं। यसले आगमी दिनमा हाम्रो टोलीको मनोबल उच्च पारेको छ। जोशीले मोफसलमा पनि महिला फुटबल प्रतियोगिता आयोजनाको थालनी भएको जानकारी दिँदै अन्य स्थायीन तह र क्लबले पनि महिला फुटबल प्रतियोगितामा जोड दिनुपर्ने बताए।  

‘नेपालमा महिला फुटबल खेलाडीले दक्षिण एसियामा सधैं आफूलाई अब्बल राष्ट्रका रूपमा प्रमाणित गर्दै आएका थिए,’ जोशीले भने ‘तर निरन्तर प्रतियोगिता नहुँदा र भएको एक मात्र लिग पनि कर्मकाण्डी रहँदा महिला फुटबलले लय गुमाएको आभास हुँदै आएको छ। मोफसलमा आयोजना हुने यस्ता प्रतियोगिताले महिला फुटबलमा व्यावसायिकताको जग बसाल्ने काम गरको छ।’  

एपिएफपकी कप्तान अनिता बस्नेतले पनि महिला फुटबलमा नयाँ थालनी भएकाले यस्ता प्रतियोगिता धेरैभन्दा धेरै आयोजना हुनु पर्ने बताइन्।  

‘महिला फुटबलको हकमा प्रतियोगिता कम हुन्छ, हामीले खेल्ने लिगनै सबैभन्दा ठूलो प्रतियोगिता रहेको छ,’ अनिताले भनिन्, ‘मोफसलमा पनि महिला गोल्डकपको नकआउट प्रतियोगिताको थालनी भएको छ। यो महिला फुटबल विकासमा सकारात्मक कदम हो। मोफसलमा पुरुष फुटबलको प्रतियोगितालाई मात्र प्राथमिकता दिने आयोजकहरूले पनि महिला फुटबललाई प्राथमिकतामा राख्दै प्रतियोगिता आयोजना गरेमा त्यसले महिला फुटबलको समग्र विकासमा मद्दत गर्नेछ।’

प्रकाशित: १२ वैशाख २०७९ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App